close

नझुक्किनुस् ! ओलीलाई व्यङ्ग्य गरेको देखिने एआई सिर्जित गीत बालेनले युट्यबमा राखेका होइनन्

टेकपाना टेकपाना

जेठ ९, २०८३ ८:३८

नझुक्किनुस् ! ओलीलाई व्यङ्ग्य गरेको देखिने एआई सिर्जित गीत बालेनले युट्यबमा राखेका होइनन्

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आधिकारिक युट्युब च्यानलमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई व्यङ्ग्य गरिएको एआई सिर्जित गीत देखिएको छ ।

झन्डै दुई महिनाअघि सार्वजनिक भएको भनिएको उक्त अडियो शुक्रबारदेखि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको हो । 

‘ह्याप्पी होली, बाईबाई ओली’ शीर्षकको उक्त गीतमा ओलीको तस्बिर राखिएको छ भने गीतमा १९ गते होली र २१ गते ‘बाईबाई ओली’ भन्दै व्यङ्ग्य गरिएको छ । २१ फागुन २०८२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा केपी शर्मा ओलीलाई बालेनले हराएका थिए । त्यसअगाडि नै उक्त भिडिओ भाइरल भएको थियो ।

११ लाखभन्दा बढी सब्सक्राइबर भएको बालेनको युट्युब च्यानलको ‘रिलिज सेक्सन’मा उक्त गीत देखिएपछि धेरैले बालेन स्वयंले नै उक्त गीत अपलोड गरेको अनुमान गरे । र, अहिले त्यही कारणले पनि यो गीत थप चर्चामा छ ।

के बालेनले नै अपलोड गरेका हुन् ?
‘टेकपाना’ले गरेको प्राविधिक परीक्षण अनुसार यो गीत बालेनले अपलोड गरेका होइनन् । युट्युबको प्रणालीले नै यसलाई ‘अटो-जेनेरेट’ (स्वत: सिर्जना) गरेको देखिएको छ । बालेन एक र्‍यापरसमेत भएकाले युट्युबले उनलाई ‘बालेन टपिक’ (Balen - Topic) अन्तर्गत वर्गीकरण गरेको छ ।

उक्त गीत ‘डिस्ट्रोकिड’ नामक प्लेटफर्ममार्फत वितरण भएको र युट्युबले बालेनको नाम उल्लेख भएका कारण यसलाई उनको च्यानलको ‘रिलिज सेक्सन’मा स्वतः देखाइदिएको हो । बालेनको आधिकारिक च्यानलमा उनले नराखेका ‘न आत्तिनु मेरी आमा’, ‘देउरालीमा नेपाल आमा’, ‘बाई रोडमा हर्न बजाउँदै’ र ‘अबकी बार बालेन सरकार’ लगायतका अन्य एआई सिर्जित गीत पनि यसरी नै देखिएका छन् ।

वास्तवमा युट्युबको ‘टपिक च्यानल’ प्रणालीमा कुनै पनि कलाकारको नाम जोडेर अरू कसैले कन्टेन्ट अपलोड गर्दा त्यो सम्बन्धित कलाकारको आधिकारिक च्यानलको सेक्सनमा देखिने गर्दछ । यसले गर्दा सामाजिक सञ्जाल प्रयोगकर्ता यो सामग्री बालेन आफैँले राखेका हुन् कि भन्ने भ्रममा परेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ ९, २०८३ ८:४१