विद्युतीय युगमा जान ट्रान्सफर्मर अपग्रेड गर्नुपर्छ, ५% भ्याट धेरै रकम होइन: प्रधानमन्त्री
जेठ १७, २०८३ १४:१८
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले देशको विद्यमान विद्युतीय पूर्वाधार तत्काल पूर्ण रूपमा विद्युतीय युगमा जान सक्ने अवस्थामा नरहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री शाहले हालकै संरचनामा सबै नेपालीको भान्सामा विद्युतीय चुलो प्रयोग गरिएमा प्रणालीले धान्न नसक्ने उल्लेख गरे । सम्बोधनका क्रममा उनले भने, “साँच्चिकै देशका हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने, इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सब-स्टेसन पड्किन्छन् । त्यसको क्षमता नै छैन अहिले ।”
विद्युतीय प्रणालीको क्षमता अभिवृद्धिका लागि ठुलो लगानी आवश्यक पर्ने भएकाले सरकारले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको उनले स्पष्ट पारे । बजेटमा व्यवस्था गरिएको उक्त करको बचाउ गर्दै उनले भने, “त्यो क्षमता विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि ५० युनिटभन्दा माथि ५ प्रतिशत भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नुभएको छ, त्यो एकदमै धेरै रकम होइन । १०० रुपैयाँमा ५ रुपैयाँ हो ।”
करमार्फत संकलन हुने रकम विद्युत् आपूर्ति प्रणालीलाई सुदृढ बनाउन उपयोग गरिने प्रधानमन्त्रीको भनाइ थियो । “त्यो पैसा देशभर भएका ट्रान्सफर्मरलाई अपग्रेड गर्न खर्च गर्नुपर्छ, देशभर ट्रान्समिसन लाइनको तारको मोटाइलाई अपग्रेड गर्नुपर्छ, सब-स्टेसन अपग्रेड गर्नुपर्छ अनि बल्ल हामी साँच्चिकै विद्युतीय युगमा जान सक्छौँ,” उनले भने ।
देशलाई विद्युतीय युगमा लैजानका लागि नेपाल सरकार आवश्यक तयारी र सुधारका काममा अग्रसर रहेको समेत उनले सदनलाई जानकारी गराए ।
पछिल्लो अध्यावधिक: जेठ १७, २०८३ १४:३९
