close

रोबोटमाथि निगरानी बढाउँदै चीन, अब सबै मानवरूपी रोबोटहरूलाई राष्ट्रिय परिचयपत्र जस्तै डिजिटल आईडी

टेकपाना टेकपाना

जेठ १२, २०८३ १२:३१

रोबोटमाथि निगरानी बढाउँदै चीन, अब सबै मानवरूपी रोबोटहरूलाई राष्ट्रिय परिचयपत्र जस्तै डिजिटल आईडी

काठमाडौँ । चीनले आफ्नो देशमा उत्पादन हुने सबै ह्युमनोइड (मानवरूपी) रोबोटहरूलाई डिजिटल पहिचान (Digital Identity) दिने योजना अघि सारेको छ । साउथ चाइना मर्निङ पोस्टको रिपोर्टअनुसार चीनले गत शुक्रबारदेखि सुरु गरेको राष्ट्रिय पहल ‘Humanoid Full Lifecycle Management Service Platform’ अन्तर्गत मानव आकृतिका र एआई सञ्चालित दुई खुट्टे रोबोटहरूलाई विशेष कोड प्रदान गर्न लागेकाे हो ।

अर्थात्, अब ह्युमनोइड रोबोटहरूलाई राष्ट्रिय परिचयपत्रजस्तै छुट्टै युनिक कोड प्रदान गरिने भएको छ । चीनको सरकारी सञ्चारमाध्यम ‘सिसिटिभी’का अनुसार यी कोडहरू उत्पादनदेखि रिसाइक्लिङसम्म रोबोटको सम्पूर्ण जीवनचक्र ट्र्याक गर्न प्रयोग गरिनेछ । यो कार्यक्रम चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको ‘Humanoid Robotics and Embodied Intelligence Standardization’ समितिको नेतृत्वमा सञ्चालन भइरहेको छ । 

यो प्रणालीले उत्पादनहरूलाई ट्रेस गर्न र सम्भावित जोखिमहरूको निगरानी गर्न सहयोग पुर्‍याउनेछ । चीनमा ह्युमनोइड रोबोट उद्योग तीव्र गतिमा विकास भइरहेको छ । यसलाई नियमन गर्ने प्रयासका रूपमा डिजिटल आईडी प्रणालीको विकास गरिएको चिनियाँ अधिकारीहरूलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ ।

चीनले ह्युमनोइड रोबोटको जीवनचक्र व्यवस्थापनसम्बन्धी मार्गनिर्देशनहरू पनि जारी गरेको छ, जसमा डिजिटल आईडी कसरी प्रयोग गर्ने भन्ने विवरण समावेश छ । यी नियमहरू ह्युमनोइड रोबोट उद्योग र आपूर्ति श्रृंखलामा संलग्न निर्माता, सेवा प्रदायक, विक्रेता, प्रयोगकर्ता र रिसाइकल केन्द्रहरू लगायत सबै पक्षमा लागू हुने चीन इलेक्ट्रोनिक्स स्ट्यान्डर्डाइजेसन इन्स्टिच्युटका उपप्रमुख यू सिउमिङलाई उद्दृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ ।

यूका अनुसार यो डिजिटल आईडी प्रणालीले सुरक्षा, नियमन र शासनसँग सम्बन्धित मुख्य चुनौतीहरू समाधान गर्न र ह्युमनोइड रोबोटको प्रयोगलाई तीव्र बनाउन सहयोग गर्ने लक्ष्य राखेको छ । प्रत्येक रोबोटको आईडी कोड चार भागमा विभाजित गरिने भएको छ । पहिलो सीमा पार ढुवानी र बिक्री ट्र्याक गर्न दुई अङ्कको राष्ट्रिय कोड, दोस्रो निर्माता पहिचान गर्न चार अङ्कको कम्पनी कोड, तेस्रो रोबोटको प्रकार पहिचान गर्न छ अङ्कको मोडेल कोड र चौथो व्यक्तिगत इकाई छुट्याउन १७ अङ्कको सिरियल कोड ।

यो प्रणाली हालसम्म १०० भन्दा बढी चिनियाँ ह्युमनोइड रोबोट निर्माता र करिब २८ हजार रोबोटहरूमा लागू भइसकेको छ । इन्टरनेसनल डेटा कर्पोरेसनको जनवरीको अनुसन्धानअनुसार चीनको ह्युमनोइड रोबोट उद्योग तीव्र रूपमा विस्तार भइरहेको छ । गत वर्ष मात्र विश्वव्यापी ह्युमनोइड रोबोट बजार ५०८ प्रतिशतले बढेको थियो, जसमा करिब १८ हजार युनिट ढुवानी भएको उल्लेख छ ।

चिनियाँ निर्माताहरूले मजबुत औद्योगिक आपूर्ति शृंखलाको कारण विश्व बजारमा अग्रणी भूमिका खेलिरहेको पनि उक्त अध्ययनले उल्लेख गरेको थियो । गत महिना बेइजिङमा आयोजित दोस्रो वार्षिक ह्युमनोइड रोबोटको हाफ म्याराथनमा पनि चिनियाँ रोबोटहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । 

उक्त म्याराथनमा मानव र रोबोटबीच प्रतिस्पर्धा गरिएको थियो । जसमा लाइटनिङ नाम दिइएको एक रोबोटले नयाँ रेकर्ड बनाउँदै ५० मिनेट २६ सेकेन्डमा दौड पूरा गरेको थियो । जुन युगान्डाका धावक जेकब किपलिमोको विश्व कीर्तिमान समयभन्दा करिब ६ मिनेट छिटो थियो । यो विजेता रोबोट ह्वावेबाट अलग भएको चिनियाँ स्मार्टफोन तथा ग्याजेट निर्माता अनरले विकास गरेको थियो ।

गत वर्षको विजेता रोबोट “टियाङगङ” ले भने दुई घण्टा ४० मिनेटमा दौड पूरा गरेको थियो । यससँग तुलना गर्दा केवल एक वर्षमै चिनियाँ रोबोटिक्स प्रविधिमा तीव्र प्रगति भएको स्पष्ट देखिन्छ ।

पछिल्लो अध्यावधिक: जेठ १२, २०८३ १४:२५