हिमालय स्पोर्ट्स र डीगो एपले खुलाए फिफा विश्वकप २०२६ को ‘सिजन पास’, यस्तो छ प्याकेज शुल्क
जेठ २०, २०८३ २२:४९
काठमाडौं । १२ जुनदेखि सुरु हुने फिफा विश्वकप २०२६ का सम्पूर्ण १०४ खेलहरूको प्रत्यक्ष प्रसारण घरमै बसेर हेर्न चाहने नेपाली दर्शकका लागि सिजन पास उपलब्ध भएको छ । नेपालका लागि आधिकारिक प्रसारण साझेदार हिमालय स्पोर्ट्स र डिजिटल प्लेटफर्म डीगो (DGO) एपले विश्वकपको प्रत्यक्ष रोमाञ्चका लागि विभिन्न प्याकेज सार्वजनिक गरेका हुन् ।
विश्वकपका सबै खेलहरूको प्रत्यक्ष प्रसारण टेलिभिजन र डिजिटल गरी दुवै माध्यमबाट उपलब्ध हुनेछ । टेलिभिजनमा खेलको मजा लिन चाहने दर्शकले आफ्नो टिभी सेवा प्रदायक (केबल/डीटीएच) मार्फत ‘हिमालय स्पोर्ट्स एचडी’ च्यानल चयन गरी ९९९ रुपैयाँमा पे-पर-भ्यू प्याकेज खरिद गर्न सक्नेछन् ।
त्यसैगरी, डिजिटल स्क्रिनमा फुटबल हेर्न रुचाउनेहरूका लागि डीगो एपले दुई विकल्प प्रदान गरेको छ । एउटा मात्र मोबाइल स्क्रिनका लागि ५४९ रुपैयाँको प्याकेज उपलब्ध छ भने मोबाइल र ल्यापटप दुवै डिभाइसमा हेर्न मिल्ने गरी ९९९ रुपैयाँको बेग्लै प्याकेज ल्याइएको छ । यी सबै प्याकेजको मूल्यमा कर समावेश गरिएको कम्पनीले जनाएको छ ।
सुरक्षाका लागि यी प्याकेजहरू पहिलो पटक लगइन र अथेन्टिकेट (प्रमाणित) गरिएको मुख्य डिभाइससँग मात्र सुरक्षित रूपमा जोडिने बताइएको छ । त्यसैले ग्राहकले प्याकेज खरिद गर्नुअघि आफ्नो सही मोबाइल नम्बर र आफूले हेर्न चाहेकै डिभाइस प्रयोग भएको सुनिश्चित गर्नुपर्ने छ ।
नेपालमा विश्वकपको प्रसारण अधिकार एसप्रो मिडियाले प्राप्त गरेको हो । एसप्रो मिडियाले हिमालय स्पोर्ट्स र डीगो एपसँग 'एक्सक्लुसिभ' सम्झौता गरेसँगै यी दुई प्लेटफर्म नेपालमा विश्वकप हेर्ने आधिकारिक माध्यम बनेका हुन् ।
विश्वकपको यो संस्करणमा पहिलो पटक खेलहरूको संख्या बढेर १०४ पुगेको छ, जसको प्रत्यक्ष प्रसारण नेपाली फुटबल प्रेमीहरूले आधुनिक प्रविधि र उच्च गुणस्तरमा अनुभव गर्न पाउनेछन् । डीगोले जारी साफ महिला च्याम्पियनशिप २०२६ को पनि नेपालमा प्रत्यक्ष प्रसारणको अधिकार लिएको छ भने हालै सम्पन्न काभा भलिबल जस्ता प्रतियोगिताहरूको समेत प्रसारण गरेको थियो ।
पछिल्लो अध्यावधिक: जेठ २०, २०८३ २२:५९
