नेपाली क्रिकेटको शिखर यात्रामाथि बनेको आईसीसीको डकुमेन्ट्री युट्युबमा सार्वजनिक
जेठ १८, २०८३ १७:३३
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हालै नेपाली क्रिकेटमाथि तयार पारिएको वृत्तचित्र सार्वजनिक गरेको छ । ‘नेपाल- क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ (नेपाल-क्रिकेटको शिखरयात्रा) शीर्षकमा सोमबार आईसीसी र नेपाल क्रिकेट संघ (क्यान) को युट्युब च्यानलमा कोल्याबको रूपमा सार्वजनिक भएको हो ।
डकुमेन्ट्रीमार्फत नेपाली क्रिकेटको ऐतिहासिक र प्रेरणादायी यात्रालाई विश्व माझ प्रस्तुत गरिएको छ । यो वृत्तचित्रमा नेपालको विगत ३० वर्षको क्रिकेट यात्रा, प्रशंसकहरूको अगाध माया र आगामी भविष्यको खाका समेत उतारिएको छ ।
वृत्तचित्रमा भारतको प्रतिष्ठित वानखेडे स्टेडियममा इङ्गल्याण्ड विरुद्धको ऐतिहासिक खेललाई विशेष महत्त्वका साथ देखाइएको छ । विश्वविजेता टोलीलाई अन्तिम ओभरसम्म कडा टक्कर दिएको सन्दर्भलाई लिएर नेपाली टोलीलाई 'कर्डियाक किड्स'को संज्ञा दिइएको छ ।
त्यसो त नेपालका प्रायः खेलहरू अन्तिम बलसम्म पुगेर मुटुको धड्कन बढाउने खालका हुन्छन् । कप्तान रोहित पौडेलले वानखेडे जस्तो ठुलो मञ्चमा इङ्गल्याण्ड र वेस्ट इन्डिज जस्ता टोलीहरूसँग खेल्नु आफैमा सबै खेलाडीका लागि एउटा ठुलो सपना भएको बताएका छन् ।
नेपालको यो यात्रा सन् २०१४ को पहिलो टी-२० विश्वकप सहभागिताबाट वास्तविक रूपमा रूपान्तरण भएको मानिन्छ । त्यसपछि २०१८ मा प्राप्त एकदिवसीय (ओडीआई) मान्यताले नेपाली क्रिकेटलाई नयाँ उचाइ दियो ।
नेपाली क्रिकेटको मेरुदण्ड भनेकै यहाँका समर्थकहरू हुन् । जसलाई वृत्तचित्रमा '१२ औँ खेलाडी' भनिएको छ । प्रशंसकहरूको यो लगावले खेलाडीहरूलाई थप उत्प्रेरणा दिने गरेको रोहित पौडेलको बुझाइ छ ।
पूर्व कप्तान पारस खड्काले प्रशासनिक क्षेत्रमा कदम चाल्दै नेपाली क्रिकेटको जग बलियो बनाउन नेपाल प्रिमियर लिग (एनपीएल) को सुरुवात गरेको सन्दर्भ पनि डकुमेन्ट्रीमा समेटिएको छ । यो लिगले विदेशी खेलाडीहरूलाई नेपाल भित्र्याउने मात्र नभई नेपाली खेलाडीहरूको आर्थिक स्तर सुधार्न र अनुभव साट्न ठुलो भूमिका खेलेको छ ।
खड्काका अनुसार अबको लक्ष्य भनेको ग्रासरुट क्रिकेटको विकास र थप आम्दानीका स्रोतहरू पहिचान गर्नु हो । उनी आफैँले क्रिकेट एकेडेमीहरू सञ्चालन गरेर नयाँ पुस्तालाई व्यावसायिक क्रिकेटमा लाग्न प्रोत्साहित गरिरहेका छन् ।
नेपाली क्रिकेटका स्टार सन्दीप लामिछानेको १० वर्षको यात्रा र आईपीएल सम्मको पहुँचले नेपालमा ट्यालेन्टको कमी छैन भन्ने प्रमाणित गरेको छ । सन्दीपले आफ्नो यो सफलतामा पूर्व अस्ट्रेलियाली कप्तान माइकल क्लार्कको सहयोगलाई पनि स्मरण गरेका छन् । उनले आफ्नो देशको जर्सी लगाएर मैदानमा उत्रिँदा सधैँ डेब्यु गरे जस्तै उत्साह महसुस हुने बताएका छन् ।
अबको गन्तव्य: टेस्ट राष्ट्र
नेपाली क्रिकेट टोली र समर्थकहरूको अबको साझा र सबैभन्दा ठुलो सपना टेस्ट राष्ट्र बन्नु हो । डकुमेन्ट्रीमा कप्तान पौडेलले आफ्नो सन्यासअघि नेपाललाई टेस्ट खेल्ने राष्ट्रको रूपमा हेर्ने इच्छा व्यक्त गरेका छन् । यसका लागि आईसीसी र अन्य ठुला क्रिकेटिङ राष्ट्रहरूबाट थप एक्स्पोजर र आर्थिक सहयोगको अपेक्षा गरिएको छ ।
नेपाली क्रिकेट फुटबललाई उछिनेर देशको नम्बर एक खेल बनिसकेको अवस्थामा यसलाई अझै व्यवस्थित बनाउन घरेलु संरचनामा सुधार र आईसीसीको थप सहयोग आवश्यक रहेको कुरामा विशेष जोड दिइएको छ । खेलाडीहरू अब देशका नायक बनेका छन् र उनीहरूको भविष्यमा सामाजिक सुरक्षा र आर्थिक स्थिरता सुनिश्चित हुँदै गएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १८, २०८३ १७:३३
