close

कक्षा १२ सकेर बसेका विद्यार्थीका लागि साउथवेस्टर्न कलेजमा साइबर सुरक्षासम्बन्धी निःशुल्क ओरियन्टेसन

टेकपाना टेकपाना

जेठ २८, २०८३ ८:१३

कक्षा १२ सकेर बसेका विद्यार्थीका लागि साउथवेस्टर्न कलेजमा साइबर सुरक्षासम्बन्धी निःशुल्क ओरियन्टेसन

काठमाडौँ । 'साउथवेस्टर्न स्कुल अफ मेनेजमेन्ट एन्ड टेक्नोलोजी' ले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई साइबर सुरक्षा (Cybersecurity) विषयमा निःशुल्क ओरियन्टेसन कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रम ५ असार बिहान ११ बजे काठमाडौँको बसुन्धारास्थित साउथवेस्टर्न कलेज परिसरमा सञ्चालन हुनेछ ।

कार्यक्रमको सहजीकरण सूचना प्रविधि कम्पनी 'लिपफ्रग कनेक्ट' का अनुभवी विशेषज्ञहरूले गर्ने कलेजले जनाएको छ । कलेजका अनुसार विद्यार्थीहरूलाई प्रविधिमैत्री, व्यावहारिक तथा भविष्यमुखी सीप प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम मार्फत विद्यार्थीहरूलाई साइबर सुरक्षा क्षेत्रका अवसर, चुनौती तथा करिअर सम्भावनाबारे जानकारी प्रदान गरिनेछ ।

यसैगरी, कार्यक्रममा साइबर सुरक्षासम्बन्धी आधारभूत अवधारणादेखि डिजिटल सुरक्षाका विभिन्न पक्षहरूबारे जानकारी दिइनेछ । साथै, सहभागीहरूलाई Internet of Things (IoT) सम्बन्धी आधारभूतदेखि व्यावहारिक ज्ञानसमेत प्रदान गरिने कलेजले जनाएको छ । प्रविधिमार्फत विभिन्न उपकरणहरूलाई इन्टरनेटसँग जोडेर स्मार्ट प्रणाली निर्माण गर्ने प्रक्रिया, सेन्सरहरूको प्रयोग, डेटा सञ्चार तथा यसको वास्तविक जीवनमा हुने प्रयोगबारे व्यवहारिक जानकारी दिइनेछ ।

कार्यक्रममा सहभागी हुन चाहनेले https://forms.gle/Kxc21fBHZywZEjwD6 मा फारम भरेर आवेदन दिनुपर्ने साउथवेस्टर्न कलेजले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २८, २०८३ ८:१३