काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरे पनि उसको आफ्नै आधिकारिक वेबसाइट डाउन छ । नतिजा हेर्न बोर्डले तोकेको मुख्य पोर्टल नखुल्दा विद्यार्थी र अभिभावकले सास्ती खेप्नुपरेको छ ।
नतिजा हेर्नका लागि बोर्डको आधिकारिक लिंक neb.gov.np खोल्न खोज्दा अहिले ५०२ ब्याड गेटवे (502 Bad Gateway) त्रुटि देखिन्छ । त्यस्तै अर्को साइट result.neb.gov.np खोल्दा ‘दिस साइट कान्ट बि रिच्ड’ (This site can’t be reached, ERR_CONNECTION_TIMED_OUT) भन्ने सन्देश देखापर्छ ।
प्राविधिक रूपमा ‘५०२ ब्याड गेटवे’ भन्नाले नेटवर्कहरूबिचको सञ्चार असफल भएको बुझिन्छ । यसको अर्थ, प्रयोगकर्ताको अनुरोधलाई मुख्य सर्भरसम्म पुर्याउने गेटवेले मुख्य ब्याकइन्ड सर्भरबाट सही प्रतिक्रिया (रेस्पोन्स) पाउन सकेको छैन ।
यस्तै, ‘कनेक्सन टाइम आउट’ को अर्थ सर्भरमा अत्यधिक ट्राफिक नभएका कारण निश्चित समयभित्र वेबसाइट लोड हुन नसक्नु हो ।
वेबसाइट नखुल्ने समस्या आइरहँदा राष्ट्रिय परीक्षा बोर्डकी सदस्य-सचिव एवम् प्रवक्ता जयन्ती सत्यालले भने अनभिज्ञता प्रकट गरेकी छिन् । उनले यसबारे आफूलाई जानकारी नभएको र अवस्था बुझेर मात्र थप प्रतिक्रिया दिने बताइन् ।
बोर्डले आफ्नो आधिकारिक साइटबाट रिडाइरेक्ट गराएर नेपाल टेलिकमको वेबसाइटमार्फत नतिजा देखाउने गर्छ । तर परीक्षाफल प्रकाशित भएकै दिन मुख्य वेबसाइट अवरुद्ध भएको छ ।
नेपाल टेलिकमको नतिजा पोर्टल neb.ntc.net.np भने चलेको देखिन्छ । परीक्षार्थीहरूले यो वेबसाइटका साथै १६०० मा एसएमएस पठाएर वा १६०१ मा डायल गरेर पनि नतिजा थाहा पाउन सक्नेछन् ।
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा यस्तो समस्या देखिएको यो पहिलो पटक होइन । यसअघि एसईईको नतिजा सार्वजनिक गर्दा पनि बोर्डको neb.gov.np मा दिनभरजसो ‘५०२ ब्याड गेटवे’ को समस्या देखिएको थियो । बारम्बार एउटै प्राविधिक कमजोरी दोहोरिँदा राष्ट्रिय परीक्षा बोर्डको सूचना प्रविधि र व्यवस्थापकीय क्षमतामाथि प्रश्न उठेको छ ।
यस वर्षको कक्षा १२ को परीक्षामा नियमित र आंशिक गरी कूल ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा नियमिततर्फ ६९.७५ प्रतिशत र आंशिकतर्फ ४२.३८ प्रतिशत विद्यार्थीले सफलता प्राप्त गरेका छन् ।
पछिल्लो अध्यावधिक: असार ५, २०८३ १४:१०
