१०० वा १५० युनिटमाथि विद्युत् खपतमा मात्रै भ्याट लगाउने तयारी, महसुल घटाउने विकल्प पनि विचारमा
असार ५, २०८३ १४:२३
काठमाडौं । सरकारले ५० युनिटभन्दा माथि विद्युत् खपतमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय पुनरावलोकन गर्ने भएको छ । अर्थमन्त्री स्वर्णीम वाग्लेले शुक्रबार सङ्घीय संसद्मा सांसद्हरूलाई जवाफ दिँदै १०० युनिट वा १५० युनिटभन्दा माथि विद्युत् खपतमा मात्र कर लगाउने गरी अध्ययन भइरहेको अर्थमन्त्री जानकारी गराएका हुन् ।
वाग्लेले साउन १ गतेभित्रै यो विषय टुंगो लगाउने पनि बताएका छन् । वाग्लेले भने, “अहिले ५० युनिटसम्म तिर्न नपर्ने भनिएको छ । १०० युनिट १५० युनिटभन्दा माथि मात्रै कर लगाउने गरेर अध्ययन भइरहेको छ । साउन १ गते कर लाग्नु भन्दा अगाडि त्यसमा पनि हामी जान्छौँ ।” मुलुकको विद्युत् उत्पादन राम्रो भए पनि वितरण र प्रसारणमा भने पछाडि रहेको वाग्लेले बताएका छन् ।
यस्तै मन्त्री वाग्लेले विद्युतको महसुल समायोजन गर्नका लागि पनि अध्ययन भइरहेको बताएका छन् । वर्षायाममा विद्युत् छेलोलेखो हुने भएकाले मूल्य घटाउने र हिउँदमा पनि न्यायोचित ढंगले अघि बढ्ने उनले बताए । विद्युतीकरणको महत्त्वाकाङ्क्षा पूरा गर्न लगानी पर्याप्त नभएका कारण १५० युनिट विद्युत खपत गर्दा २२/२४ रुपैयाँ थपेर देश निर्माणमा सहभागी बन्न आह्वान गरिएको उनको भनाइ छ । तर अहिले सो रकम पनि अन्तिम उपभोक्तालाई भार नपरोस् भनेर विद्युतको मूल्य समाजोजनका लागि पनि विचार गरिरहेको मन्त्री वाग्लेले बताए ।
पछिल्लो अध्यावधिक: असार ५, २०८३ १४:२७
