close

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट अझै डाउन, कक्षा १२ को रिटोटलिङका लागि आवेदन दिने विद्यार्थी प्रभावित

टेकपाना टेकपाना

असार ६, २०८३ १४:२८

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट अझै डाउन, कक्षा १२ को रिटोटलिङका लागि आवेदन दिने विद्यार्थी प्रभावित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) को आधिकारिक वेबसाइट डाउन हुँदा कक्षा १२ को नतिजामा चित्त नबुझेर पुनर्योग (रिटोटलिङ) का लागि आवेदन दिन चाहने विद्यार्थी समस्यामा परेका छन् । बोर्डले पुनर्योगका लागि आवेदन खुला गरेकै समयमा वेबसाइटमा डाउन भएको हो ।

हाल बोर्डको वेबसाइट खोल्दा ‘५०२ गेटवे इरर’ र ‘५०४ गेटवे टाइम-आउट’ जस्ता इरर देखिने गरेका छन् । खासगरी मुख्य सर्भर बन्द हुँदा वा बिग्रिँदा ५०२ त्रुटि देखिन्छ भने मुख्य सर्भरको गति निकै ढिलो हुँदा ५०४ त्रुटि देखा पर्ने गर्छ । वेबसाइट अवरुद्ध भएको सम्बन्धमा जानकारी लिन बोर्डकी प्रवक्ता जयन्ती सत्याललाई सम्पर्क प्रयास गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै पुनर्योगका लागि आवेदन खुला गरेको थियो । नतिजामा चित्त नबुझ्ने नियमित तथा आंशिकतर्फका विद्यार्थीले प्रति विषय एक हजार रुपैयाँ शुल्क तिरेर आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । पुनर्योगका लागि शनिबार (आज) बिहान ११:०० बजेदेखि १२ असार साँझ ५:०० बजेसम्म आवेदन दिन सकिने समय तोकिएको छ ।

आवेदन दिने मुख्य वेबसाइट डाउन भए पनि पुनर्योगका लागि शुल्क बुझाउन मिल्ने सबडोमेन सक्रिय रहेको छ । यद्यपि मुख्य साइट नै नचल्दा विद्यार्थीले आवेदन प्रक्रिया अगाडि बढाउन पाएका छैनन् ।

बोर्डले १४ देखि २७ वैशाखसम्म सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको थियो । यस वर्षको परीक्षामा नियमित र आंशिक गरी ६४.१३ प्रतिशत अर्थात् २ लाख ६८ हजार १९० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

शुक्रबार कक्षा १२ को परीक्षा प्रकाशित भएसँगै बोर्डको मुख्य वेबसाइटदेखरि नतिजा देखाउने वेबसाइट अवरुद्ध छन् ।

पछिल्लो अध्यावधिक: असार ६, २०८३ १४:२९