close

पुराना ईभी ब्याट्रीको नयाँ प्रयोगः बन्न सक्छन् एआईको ऊर्जा समस्या समाधान गर्ने सहारा

टेकपाना टेकपाना

असार ८, २०८३ १२:५४

पुराना ईभी ब्याट्रीको नयाँ प्रयोगः बन्न सक्छन् एआईको ऊर्जा समस्या समाधान गर्ने सहारा

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डेटा सेन्टरहरू सञ्चालन गर्न लाग्ने बिजुलीको महसुल अत्यधिक छ र यो निरन्तर बढिरहेको छ । लार्ज ल्याङ्ग्वेज मोडल र ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) क्लास्टरहरूलाई धान्नका लागि विशाल प्रकृतिका ‘हाइपरस्केल’ सुविधाहरू तीव्र रूपमा थपिँदै छन् ।

एआईका कारण पावर ग्रिडहरूमा ठुलो दबाब पैदा भइरहेको छ । यसले बिजुलीको महसुल दरलाई लिएर विवादहरू निम्त्याएको छ भने इतिहासकै सबैभन्दा बढी ऊर्जा खपत गर्ने यस्ता सुविधाहरूलाई कसरी बिजुली आपूर्ति गर्ने भन्नेबारे विद्युत प्रदायक संस्थाहरूलाई नयाँ ढंगले सोच्न बाध्य बनाएको छ । 

सस्तो र भरपर्दो बिजुलीको खोजी अहिले डेटा सेन्टरहरू निर्माण गर्ने होडबाजी जत्तिकै महत्त्वपूर्ण बन्न पुगेको छ । यसको एउटा सम्भावित समाधान विद्युतीय सवारीसाधन (ईभी) का थन्किएर बसेका ब्याट्रीहरू बन्न सक्ने फोर्ब्समा प्रकासित रिपोर्टमा उल्लेख छ ।

वारेन्टी प्रतिस्थापन र नियमित मर्मतका क्रममा हटाइएका ईभी ब्याट्री प्याकहरूसँग प्रायः सुरुवाती क्षमताको झन्डै ८० प्रतिशत ऊर्जा सञ्चय गर्ने क्षमता बाँकी नै रहेको हुन्छ । यस्ता ब्याट्रीहरू सवारीसाधनमा प्रयोगका लागि उपयुक्त नभए पनि एआई डेटा सेन्टरहरूलाई सहयोग गर्ने स्थिर ऊर्जा भण्डारणका लागि भने उपयुक्त हुन्छन् ।

यो अवधारणा निकै सरल छ । बिजुलीको मूल्य कम हुने ‘अफ-पिक’ (माग कम हुने) समयमा यी ब्याट्रीहरू चार्ज हुन्छन् र एआईको कार्यभार बढेर बिजुलीको माग उच्च भएका बेला डिस्चार्ज हुन्छन् । यो भण्डारण प्रणालीले डेटा सेन्टर र विद्युत ग्रिडको बिचमा एउटा बफरको रूपमा काम गर्छ । यसले माग उच्च भएका बेला महँगोमा गरिने बिजुली खरिदलाई घटाउँछ भने विद्युत प्रदायक संस्थाहरूलाई माग व्यवस्थापन गर्न पनि मद्दत पुर्‍याउँछ ।

अहिलेसम्म कुनै पनि कम्पनीसँग आफ्नो एआई डेटा सेन्टरको ऊर्जा माग पूरा गर्न प्रयोग गर्ने ‘ब्याट्री फार्म’ नभएकाले पुनःप्रयोग गरिएका ब्याट्रीहरू नै यो अवरोध तोड्ने बाटो हुने विश्वव्यापी आईटी सम्पत्ति व्यवस्थापन कम्पनी 'री-टेक' की प्रमुख वित्त अधिकृत (सीएफओ) लिन्डा लीलाई उद्धृत गर्दै फोर्ब्सले जानाएको छ ।

आवश्यकता पछाडिको अङ्क गणित

यद्दपि, यसमा चुनौतीको आकार निकै ठूलो छ । बजार अनुसन्धान गर्ने कम्पनी ‘सर्भिकर्न कन्सल्टिङ’ र ‘मार्केट टेकी’ का अनुसार विश्वव्यापी डेटा सेन्टर ब्याट्री बजारको मूल्य सन् २०२५ मा करिब ३.३८ अर्ब अमेरिकी डलर रहेको थियो । एआई पूर्वाधारको तीव्र विस्तारका कारण यो बजार सन् २०३५ सम्ममा झन्डै ६ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

एआई डेटा सेन्टरका लागि ऊर्जा भण्डारणमा प्रयोग हुने लिथियम-आयन ब्याट्रीको आपूर्ति सन् २०२५ मा १२ गिगावाट-घण्टा रहेको थियो । यो सन् २०३० सम्ममा २७२ गिगावाट-घण्टा पुग्ने अनुमान गरिएको छ । यस्तै, सन् २०२४ मा विश्वभर १ करोड ७० लाखभन्दा बढी विद्युतीय सवारीसाधन बिक्री भएका थिए, जसले भविष्यमा यातायात प्रयोजनबाट अवकाश पाउने ब्याट्री प्याकहरूको आपूर्ति तीव्र रूपमा बढ्ने सङ्केत गरेको छ ।

नवीकरणीय ऊर्जा परियोजनामा सामान्यतया प्रयोग गरिने ब्याट्रीहरूको विपरीत लिथियम-आयन ब्याट्रीहरू तीव्र गतिमा ठुलो मात्रामा शक्ति प्रवाह गर्न सक्ने गरी डिजाइन गरिएका हुन्छन् । यस विशेषताले गर्दा बिजुलीको माग क्षणभरमै तीव्र रूपमा घटबढ हुने एआई डेटा सेन्टरहरूका लागि यी ब्याट्रीहरू विशेष उपयोगी बन्ने देखिन्छ । पुराना ईभी ब्याट्री प्याकहरूलाई एकीकृत गरी बनाइएको एउटा ठुलो ‘ब्याट्री फार्म’ ले विद्युत ग्रिडमा पर्ने दबाबलाई कम गर्दै मागमा आउने त्यस्ता उतारचढावहरूलाई सजिलै थेग्न सक्छ ।

चीनले पहिले नै वायु र सौर्य ऊर्जा केन्द्रहरूलाई ऊर्जा भण्डारण प्रणालीसँग अनिवार्य रूपमा जोड्नुपर्ने व्यवस्था गरिसकेको छ । यस व्यवस्थाले बढी उत्पादन भएको बिजुलीलाई सञ्चय गर्छ र आवश्यक परेका बेला प्रवाह गर्छ । सोही किसिमको अवधारण डेटा सेन्टरहरूमा पनि लागु गर्न सकिने देखिन्छ । बिजुलीको माग कम भएका बेला चार्ज गर्ने र खपत उच्च भएका बेला डिस्चार्ज गर्ने गरी डेटा सेन्टरहरू नजिकै ब्याट्री फार्महरू स्थापना गर्न सकिन्छ ।

सन् २०२५ मा टेस्लाका सह-संस्थापक जेबी स्ट्राउबेलद्वारा स्थापित ब्याट्री रिसाइक्लिङ कम्पनी ‘रेडवुड मटेरियल्स’ ले उत्तर अमेरिकाकै सबैभन्दा ठुलो सेकेन्ड लाइफ ब्याट्री भण्डारण प्रणाली सञ्चालनमा ल्याएको थियो । कम्पनीले नेभाडाको स्पार्क्सस्थित आफ्नो क्याम्पसमा स्थापित यो परियोजनामा पुनः प्रयोगमा ल्याइएका सयौं ईभी ब्याट्री प्याकहरू जोडेर १२ मेगावाट क्षमता र ६३ मेगावाट-आवर ऊर्जा सञ्चय गर्न सक्ने एउटा माइक्रोग्रिड निर्माण गरेको छ ।

उक्त प्रणालीले 'क्रुसो एनर्जी' द्वारा सञ्चालित करिब २,००० जीपीयु र अन्य उन्नत कम्प्युटिङ प्रणालीहरू राखिएको एक मोड्युलर डेटा सेन्टरलाई ऊर्जा प्रदान गर्दछ ।

डेटा सेन्टरको माग

एआई डेटा सेन्टरमा पुराना ईभी ब्याट्री प्रयोग गर्ने यो अवधारणा आशालाग्दो भए पनि डेटा सेन्टरहरूले शंकाकै दृष्टिकोणले हेरिरहेका छन् । डेटा सेन्टर सञ्चालकहरू आफ्नो सेवा बिनाकुनै अवरोध निरन्तर चलिरहोस् भन्ने सुनिश्चित गर्न ठुलो रकम खर्च गर्छन् । ऊर्जा आपूर्ति शृङ्खलामा थपिने कुनै पनि नयाँ अवयवलाई निकै सुक्ष्म रूपमा जाँच गर्ने गर्छन् । पुनः प्रयोगमा ल्याइएका ब्याट्रीहरूको आयु, रासायनिक बनावट र क्षयीकरणको दर फरक फरक हुने भएकाले नयाँ उत्पादित प्रणालीहरूको तुलनामा यिनीहरूको कार्यक्षमताको पूर्वानुमान गर्न कठिन हुन्छ ।

सुरक्षा अर्को एउटा प्रमुख चिन्ताको विषय हो। ब्याट्रीमा अत्यधिक ताप बढेर आगलागी हुन सक्ने जोखिमलाई कडा परीक्षण, निगरानी प्रणाली र ब्याट्री व्यवस्थापन सफ्टवेयरमार्फत सावधानीपूर्वक व्यवस्थापन गरिनुपर्छ । यसबाहेक, प्रमाणीकरणका मापदण्डहरू र बीमा सम्बन्धी सर्तहरू पनि यसलाई व्यापक रूपमा अपनाउनका लागि अझै बाधकका रूपमा रहेका छन् ।

तर ब्याट्रीको पुनः प्रयोगको महत्त्व बिजुलीको लागत घटाउनुमा मात्र सीमित छैन । यसले एआईको होडबाजीमा सबैभन्दा बढी बेवास्ता गरिएको आपूर्ति शृङ्खलामाथिको निर्भरतालाई पनि कम गर्छ । यद्यपि, एआईले सामना गरिरहेको बिजुलीको चुनौती कुनै एउटा मात्र प्रविधिको भरमा समाधान भने हुनेवाला छैन ।

पछिल्लो अध्यावधिक: असार ८, २०८३ १३:३