टेकपानाको समाचार लगत्तै सरकारले बन्द गर्यो सहजै राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सकिने सुविधा
असार ७, २०८३ २१:४३
काठमाडौँ । प्रोभिजल राष्ट्रिय परिचयपत्र (ईएनआईडी) डाउनलोड गर्न सकिने गरी सरकारले गत बुधबार सार्वजनिक गरेको सेवा बन्द गरेको छ । अथेन्टिकेसन बिनै संवेदनशील कागजात डाउलोड गर्न सकिने भन्दै टेकपानाले समाचार लेखेको केही समयमै वेब लिङ्क बन्द गरिएको हो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सिटिजन पोर्टलमा बुधबार मात्र ‘डाउनलोड ईएनआईडी’ भन्ने अप्सन राखिएको थियो । सरकारको १०० दिने कार्यसूचीको महत्त्वपूर्ण कामका रूपमा प्रचार गरिएको भए पनि नाम, जन्ममिति र नागरिकता जारी मिति राखेकै भरमा ईएनआईडी डाउनलोड गर्न सकिने कमजोरी रहेको तथ्य टेकपानाले बाहिर ल्याएको थियो ।
सोही कमजोरीको आधारमा टेकपानाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), गृहमन्त्री सुधन गुरुङ र सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको ईएनआईडी डाउनलोड गरेको थियो । भीआईपी व्यक्तिकै संवेदनशील कागजात जोकोहीले डाउनलोड गर्न सकिने अवस्थालाई उदाहरणको रूपमा मात्र प्रस्तुत गरिएको हो ।
किन कि आम सर्वसाधारणको पनि अवस्था त्यस्तै थियो । यद्यपि समाचार सार्वजनिक भएको केही घण्टामै विभागले लिङ्क हटाएको छ भने सिसिजन पोर्टलबाट पनि डाउनलोड गर्न सकिने अप्सन गायब पारेको छ ।
पछिल्लो अध्यावधिक: असार ७, २०८३ २१:४९
