सांकेतिक तस्बिर
काठमाडौं । नवलपुरको गैँडाकोटमा सोमबार राति एक विद्युतीय माइक्रोबस (इलेक्ट्रिक हाइस) दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएका छन् । पोखराबाट कपिलवस्तुतर्फ जाँदै गरेको बा.प्र.०२-००३ च १२०५ नम्बरको हाइस गैँडाकोट नगरपालिका-१०, पितौजीमा दुर्घटनामा परेको हो । तीव्र गतिका कारण हाइस अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरूमा चालक प्युठानको माण्डवी गाउँपालिका-२ निवासी २४ वर्षीय विष्णु घर्ती, कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ निवासी ३१ वर्षीय अर्बिन्द्र अग्रवाल, २६ वर्षीया प्रभा अग्रवाल र उनकी १८ महिनाकी छोरी छन् ।
त्यसैगरी, २६ वर्षीया ऋद्धि सिंहघानिया, २३ वर्षीया शेरी सिंह, १७ वर्षीया शिवानी अग्रवाल र २६ वर्षीय ऋषभ अग्रवाल पनि दुर्घटनामा घाइते भएका छन् ।
घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज (सिएमसी) लगिएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी युवराज खड्काका अनुसार घाइतेमध्ये चारजना उपचारपछि डिस्चार्ज भइसकेका छन् । बाँकी चारको अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
पछिल्लो अध्यावधिक: असार ९, २०८३ २०:४१
