डेटा सेन्टरको वातावरणीय प्रभाव सार्वजनिक गर्न एआई कम्पनीलाई संयुक्त राष्ट्रसंघ प्रमुखको आह्वान
असार १०, २०८३ ७:१३
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले मङ्गलबार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीहरूलाई आफ्ना डेटा सेन्टरहरूको वातावरणीय प्रभावसम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गर्न र नवीकरणीय ऊर्जाको प्रयोग गर्न आह्वान गरेका छन् । गुटेर्रेसले एआई कम्पनीहरूलाई तत्काल यो कदम चाल्न आह्वान गर्दै 'एआई वातावरणीय पारदर्शिता पहल' (AI Environmental Transparency Initiative ) को पनि सुरुवात गरेका छन् ।
एआई क्रान्तिलाई गति दिन विश्वभर तीव्र रूपमा विस्तार भइरहेका डेटा सेन्टरहरू उच्च ऊर्जा र पानी खपत तथा पारदर्शिताको अभावका कारण वातावरणीय समूहहरूको निगरानी र आलोचनाको घेरामा परेका छन् । 'लन्डन क्लाइमेट एक्सन वीक' मा सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिवले भने, “सन् २०३० सम्ममा एआई डेटा सेन्टरहरूले विश्वभरका पाँच देशबाहेक अरू सबै देशको भन्दा बढी विद्युत् खपत गर्न सक्छन् । साथै, तिनले उप-सहारा अफ्रिकाका १ अर्ब ३० करोड बासिन्दाको एक वर्षको आधारभूत आवश्यकता पूरा गर्न पुग्ने मात्रामा पानी पनि प्रयोग गर्न सक्छन् ।”
उनले एआई कम्पनीहरूलाई आफ्नो पानी, कार्बन र जमिन प्रयोगसम्बन्धी प्रभावहरू मापन गरी सार्वजनिक रूपमा खुलासा गर्न आह्वान गरेका छन् । साथै, सन् २०३० सम्ममा सबै डेटा सेन्टरहरूलाई नवीकरणीय ऊर्जाबाट सञ्चालन गर्ने प्रतिबद्धता जनाउन पनि उनले आग्रह गरे । “यदि एआईले राम्रो भविष्य निर्माणमा मद्दत गर्ने हो भने, यसले तत्काल हामीलाई कति मूल्य वा क्षति चुकाउन परिरहेको छ भन्ने कुरामा पनि इमानदार हुनुपर्छ”, उनले भने ।
हाल एआई कम्पनीहरू आफ्ना गतिविधिहरूलाई कार्बनमुक्त बनाउन स्वेच्छिक ‘नेट जिरो’ प्रतिबद्धता र नवीकरणीय विद्युतका लक्ष्यहरूमा निर्भर छन् । यसका साथै, धेरैजसो कम्पनीहरू नयाँ परियोजनाका लागि ऊर्जा स्रोतका रूपमा ग्यासतर्फ मोडिएका छन् वा आणविक ऊर्जाको वकालत गरिरहेका छन् । गुटेर्रेसले विश्व अझै पनि विश्वव्यापी जलवायु लक्ष्यहरू हासिल गर्ने मार्गबाट विमुख रहेको कुरा औंल्याउँदै जीवाश्म इन्धन (fossil fuel) को थप प्रयोगका लागि आवाज उठाउनेहरूको आलोचना गरेका छन् ।
थप नवीकरणीय ऊर्जा परियोजनाहरूको विस्तार गर्नु र यातायात, भवन तथा उद्योगहरूलाई विद्युतीकरण गर्न तिनको प्रयोग गर्नु नै उत्सर्जन घटाउने र आयातित जीवाश्म इन्धनमाथिको निर्भरता तोड्ने सबैभन्दा छिटो र उत्तम उपायहरूमध्ये एक भएको गुटेर्रेसकाे भनाइ छ ।
मिथेन ग्यास उत्सर्जन विरुद्ध ऐक्यबद्धताका लागि आह्वान
गुटेर्रेसले मिथेन उत्सर्जन विरुद्ध ऐक्यबद्धताका लागि आह्वान समेत गरेका छन् । जीवाश्म इन्धन कम्पनीहरूलाई ग्यास चुहावट रोक्न, नियमित रूपमा गरिने फ्लेरिङ (ग्यास जलाउने कार्य) बन्द गर्न र विज्ञानमा आधारित विश्वव्यापी मापदण्ड अपनाउन आग्रह गरेका छन् । गुटेर्रेसले मिथेन एक शक्तिशाली हरितगृह ग्यास भएको र हाल भइरहेको विश्वव्यापी तापमान वृद्धिको झन्डै एक तिहाइ हिस्साका लागि मिथेन नै जिम्मेवार रहेको पनि जानकारी गराएका छन् ।
गुटेर्रेसले जलवायुसम्बन्धी गलत सूचना र भ्रामक दाबीहरू विरुद्ध कदम चाल्न पनि आह्वान गरेका छन् । उनका अनुसार, “जलवायु परिवर्तन सम्बन्धी गलत सूचना जानाजानी फैलाइँदैछ, जसले जलवायु सम्बन्धी कदमहरू ढिलाइ गराउने, निश्चित स्वार्थ समूहहरूको हित जोगाइराख्ने र सार्वजनिक विश्वास कमजोर बनाउने काम गरिरहेको छ ।”
पछिल्लो अध्यावधिक: असार १०, २०८३ ७:१६
