close

आफ्नो छुट्टै डेटा सेन्टर स्थापना गर्ने धितोपत्र बोर्डको घोषणा

टेकपाना टेकपाना

साउन १४, २०८० १८:४३

आफ्नो छुट्टै डेटा सेन्टर स्थापना गर्ने धितोपत्र बोर्डको घोषणा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफ्नो छुट्टै डेटा सेन्टर स्थापना गर्ने घोषणा गरेको छ । आइतबार आर्थिक वर्ष २०८०/०८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले यस्तो कार्यक्रम अगाडि सारेको हो ।

बजार नियमन तथा सुपरीवेक्षण सम्बन्धी सूचना प्रविधि प्रणालीको विकास तथा जोखिम व्यवस्थापन अन्तर्गत डेटा सेन्टर स्थापनाको कार्यक्रम छ । "धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी महत्त्वपूर्ण मौजुदा तथ्याङ्क एवम् जानकारीको समुचित अभिलेख व्यवस्थापन  तथा बोर्डमा प्रयोग भइरहेका र भविष्यमा प्रयोग हुने विभिन्न प्रणालीहरूको व्यवस्थापन गर्न बोर्डको आफ्नै डेटा सेन्टर स्थापना गरिनेछ," नीति तथा कार्यक्रममा भनिएको छ ।"

नवीनतम् ज्ञान, सीप तथा क्षमता भएका वा नयाँ वस्तु, ट्ठेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नविनतम् उद्यम व्यवसायको प्रवर्द्धन गर्न आवश्यक पुँजी परिचालन गरी पीई तथा भीसी इकोसिस्टम निर्माण तथा एसएमई इन्डस्ट्री विकासको सिग्नेचर पोलिसी लिई उद्यमशीलता प्रवर्द्धन तथा उद्यमशीलता विकास मार्फत अर्थतन्त्रमा नयाँ धारा सिर्जना गर्ने नीति समेत बोर्डले अगाडि सारेको छ ।

त्यस्तै विकासात्मक कार्यक्रम अन्तर्गत बजार नियमन तथा सुपरीवेक्षण सम्बन्धी सूचना प्रविधि प्रणालीको विकास तथा जोखिम व्यवस्थापन गर्ने उल्लेख छ । त्यस्तो बोर्डबाट सम्पादन गरिने कार्यहरूलाई उच्च प्रविधि युक्त तथा सूचना प्रविधिमैत्री बनाई छिटोछरितो सेवा प्रवाह गर्न इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) सम्बन्धमा अध्ययन गर्ने कार्यक्रम पनि रहेको छ ।

"बोर्डको सुपरीवेक्षण कार्य तथा अन्य प्रकृयालाई सूचना प्रविधिमा आधारित बनाउन आवश्यक सफ्टवेयर तथा हार्डवेयर खरिद, विकास तथा प्रयोग गर्ने व्यवस्था मिलाइनेछ," बोर्डको कार्यक्रममा भनिएको छ ।

यसैगरी धितो पत्र बजार तथा वस्तु विनिमय बजारमा हुने कारोबारको अनुगमन तथा सुपरिवेक्षण गर्न अन्तर्राष्ट्रिय रूपमा प्रयोग भइरहेका एआईमा आधारित एकीकृत वास्तविक समय सुपरिवेक्षण प्रणाली (इन्टिग्रेटेड अटोमेटेड मार्केट सर्भिलेन्स सिस्टम) प्रयोगको सम्बन्धमा अध्ययन कार्य समेत गरिनेछ ।

साथै बोर्डबाट हुने अनुसन्धानहरूलाई तथ्याङ्कमा आधारित बनाई त्यसको मात्रात्मक विश्लेषणसँगै जोड्दै लैजान स्टाटिस्टिक एनालाइसिस सफ्टवेयर खरिद गरिनेछ । यस बाहेक धितोपत्र बजार तथ वस्तु विनिमय बजारमा हुने सूचना तथा विवरण प्रवाह एवम् सुदृढ व्यवस्था गर्न हाल प्रयोगमा रहेको विद्युतीय विवरण प्रवाह तथा प्राप्ति प्रणालीलाई अझ सुदृढ एवम् प्रभावकारी बनाउन बोर्डको रिपोर्टिङ ढाँचालाई प्रणालीमा समावेश गरी लागू गर्ने योजना समेत बोर्डको कार्यक्रममा उल्लेख छ ।

यस्तै निक्षेप खाता खोल्ने प्रक्रियामा भिडिओमा आधारित ग्राहक पहिचान (भी-सीआईपी) लागू गर्न सहजीकरण गरिनेछ । लगानीकर्ताहरूबाट प्राप्त गुनासो समाधान कार्य प्राथमिकतामा राखी धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता तथा अन्य सरोकारवाला पक्षहरूबाट बोर्डमा प्राप्त हुने गुनासो र उजुरीको प्रभावकारी समाधानको व्यवस्था गर्न मोबाइल एपसहितको केन्द्रिकृत गुनासो सुनवाई प्रणालीको व्यवस्था गर्ने कार्यक्रम समेत बोर्डले समेटेको छ ।

वित्तीय साक्षरता अभिवृद्धि गर्न धितो पत्र बजार सम्बन्धी उपयुक्त ई-लर्निङ प्लेटफर्म तथा धितो पत्र बजार तथा वस्तु विनिमय बजारमा बारम्बार सोधिने प्रश्नहरू सम्बन्धी जानकारी दिन एआईमा आधारित च्याटबोटको अध्ययन गरी आवश्यक व्यवस्था गरिनेछ । त्यस्तै सुपरभाइजरी इन्फरमेसन सिस्टम स्थापनाका लागि अध्ययन गर्ने कार्यक्रम समेत नीति तथा कार्यक्रममा राखिएको छ । 

पछिल्लो अध्यावधिक: साउन १४, २०८० १८:४३