मोबाइल नम्बर नभएका वा गलत भएकाले कसरी प्राप्त गर्न सक्छन् राष्ट्रिय परिचयपत्रको पीडीएफ ?
असार १०, २०८३ १५:२६
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अनलाइनमार्फत प्रोभिजनल राष्ट्रिय परिचयपत्र (ई-एनआईडी) डाउनलोड गर्ने प्रक्रियामा परिमार्जन गरेको छ । यसअघि नाम, जन्ममिति र नागरिकता जारी भएको मिति मात्र उल्लेख गरेर ई-एनआईडी डाउनलोड गर्न सकिने व्यवस्था थियो ।
तर, व्यक्तिगत विवरणको सुरक्षामा संवेदनशीलता अपनाउँदै विभागले प्रणालीमा परिवर्तन गरेको हो । विवरण दुरुपयोगको जोखिम कम गर्न अब प्रणालीमा मोबाइल नम्बरमा प्राप्त हुने ओटीपी (वान टाइम पासवर्ड) अनिवार्य गरिएको छ । विभागको यो नयाँ व्यवस्थाका कारण मोबाइल नम्बर अपडेट नभएका सेवाग्राहीले ई-एनआईडी डाउनलोड गर्न नसक्ने समस्या उत्पन्न भएको छ ।
यसबारे विभागका सूचना अधिकारी निराजन श्रेष्ठले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिँदा मोबाइल नम्बर अनिवार्य नगरिएकाले यस्तो अवस्था आएको बताए ।
“सुरुवाती चरणमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिँदा मोबाइल नम्बरलाई अनिवार्य गरिएको थिएन । दर्ताका क्रममा कतिपयले नम्बर नै राखेनन् भने कतिपयको हकमा अपरेटरले आफ्नै नम्बर राखिदिएका वा परिवारका अन्य सदस्यको नम्बर प्रविष्टि गरिएको पाइयो । त्यसैले अहिले ओटीपी प्राप्त गर्न कठिनाइ भएको हो ।”
नम्बर नभएका वा फरक नम्बर भएका सेवाग्राहीको सङ्ख्या कति छ भन्ने यकिन तथ्याङ्क तत्काल उपलब्ध नभएको उनले जानकारी दिए । “हामीसँग अहिले त्यसको डेटा कलेक्सन भएको छैन, नम्बर भएका सेवाग्राही कति छन् भनेर थाहा पाउन रिपोर्ट नै हेर्नुपर्छ,” उनले भने ।

“हामीसँग यसको छुट्टै तथ्याङ्क छैन, रिपोर्ट हेरेपछि मात्र कति सेवाग्राहीको नम्बर छैन भन्ने थाहा हुन्छ,” श्रेष्ठले भने ।
विदेशमा रहेका नेपाली नागरिकहरूले ईमेलमार्फत पीडीएफ पठाइदिन माग गरेको सन्दर्भमा व्यक्तिगत विवरणको गोपनीयताका कारण सिधै इमेलमा पीडीएफ पठाउन नसकिने विभागको भनाइ छ । सूचना अधिकारी श्रेष्ठ भन्छन्, “ईमेलमा विवरण पठाउनका लागि सम्बन्धित व्यक्ति स्वयं उपस्थित भएर आफ्नो ईमेल दर्ता गराउनुपर्ने हुन्छ । हाललाई मोबाइलमा आउने ओटीपी नै अनिवार्य छ ।”
विदेशमा रहेकाहरूका लागि तत्कालको विकल्पबारे उनी सुझाउँछन्, “यदि नेपालमा छोडेको सिमकार्ड आफन्त वा परिवारसँग सुरक्षित छ भने, उनीहरूसँग ओटीपी मागेर ई-एनआईडी डाउनलोड गर्न सकिन्छ । धेरैले अहिले यही तरिका अपनाइरहेका छन् ।”
यदि विवरणमा मोबाइल नम्बर नै नभएको वा गलत नम्बर प्रविष्टि भएको खण्डमा भने सेवाग्राहीले भौतिक रूपमै कार्यालय उपस्थित हुनुपर्नेछ । यस्तो अवस्थामा आफ्नो विवरण सच्याउन वा नम्बर अद्यावधिक गर्न नजिकैको राष्ट्रिय परिचयपत्र कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न विभागले आग्रह गरेको छ ।
पछिल्लो अध्यावधिक: असार १०, २०८३ १५:२७
