एन्थ्रोपिकको ‘मिथोस’ मोडेलले पत्ता लगायो अमेरिकी सरकारी प्रणालीका सुरक्षा कमजोरी
असार १०, २०८३ १८:४१
काठमाडौँ । एआई कम्पनी एन्थ्रोपिकको ‘मिथोस’ मोडेलले एक परीक्षणका क्रममा अमेरिकी सरकारका अति संवेदनशील कम्प्युटर प्रणालीमा रहेका सुरक्षा कमजोरी पत्ता लगाएको छ । समाचार संस्था एपीका अनुसार मिथोसले अमेरिकी गुप्तचर निकायसँग मिलेर ‘प्रोजेक्ट ग्लासविङ’ गरेको परीक्षणमा सुरक्षा कमजोरी फेला परेको हो ।
सीमित एक्सेस मात्र भएको यस प्रोजेक्टको यसको मुख्य उद्देश्य नै महत्त्वपूर्ण सफ्टवेयरमा आक्रमणकारीले अनधिकृत पहुँच बनाउनु वा फाइदा उठाउनुअघि नै त्यस्ता सुरक्षा कमजोरी पत्ता लगाई तिनलाई सच्याउनु हो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यस विषयमा भर्जिनियाका सिनेटर मार्क वार्नरले यही महिना अमेरिकी संसदको सुनुवाइका क्रममा जानकारी दिएका थिए । वार्नरका अनुसार राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) का प्रमुख जोसुवा रुडले उनलाई मिथोसले ‘केही हप्ता नलगाई मात्र केही घण्टामै आफ्ना लगभग सबै वर्गीकृत प्रणालीमा पहुँच बनाएको’ जानकारी दिएका थिए ।
यद्यपि, एपीले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै मिथोसले केही घण्टाभित्र कमजोरी पहिचान गरेको भए पनि उक्त मोडेल ती कमजोरी दुपरुपोग गर्न सक्षम नभएको लेखेको छ ।
शेयर बजारमा आईपीओ निष्कासन गर्ने तयारीमा रहेको एन्थ्रोपिक र अमेरिकी सरकारबीचको सम्बन्ध हालका दिनमा तनावपूर्ण रहँदै आएको छ । कम्पनीले अमेरिकी सेनालाई आन्तरिक निगरानी र पूर्ण रूपमा स्वचालित हतियार प्रणालीका लागि आफ्ना एआई मोडेल प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेपछि अमेरिकी सरकारले यसलाई राष्ट्रिय सुरक्षाको कालोसूचीमा राखेको थियो ।
यसै महिना अमेरिकी सरकारले राष्ट्रिय सुरक्षाको चासो देखाउँदै एन्थ्रोपिकलाई आफ्ना पछिल्ला एआई मोडेल ‘मिथोस’ र ‘फेबल’को विश्वभर र विदेशी नागरिकलाई तत्काल हटाउन निर्देशन दिएको थियो । यता ‘द न्यूयोर्क टाइम्स’ ले प्रकाशन गरेको अर्को एक रिपोर्ट अनुसार यो विवाद चर्किएसँगै अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले मिथोस मोडेलमाथिको आफ्नो पहुँच गुमाएको छ ।
पछिल्लो अध्यावधिक: असार १०, २०८३ १८:५७
