प्रेमिकासँग ब्रेकअप भएपछि ‘काण्ड’ भन्दै टेलिग्राम र डिस्कर्डमा अश्लील भिडिओ राख्ने युवक पक्राउ
असार १०, २०८३ १९:१५
काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट घर भई हाल काठमाडौं बस्दै आएका १९ वर्षीय विज्ञान शर्मा तिमल्सिना रहेका छन् ।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार आरोपित तिमल्सिना बुधबार पक्राउ परेका हुन् ।
“सम्बन्धमा हुँदा खिचिएका अश्लील फोटो र भिडिओ युवकसँग रहेछन्,” प्रहरी उपरीक्षक गिरीले टेकपानासँग भने, “सम्बन्ध टुटेपछि विभिन्न तरिकाले ब्ल्याकमेल गर्न थाले । यसमा पैसाको कुरा त अहिलेसम्म जोडिएको देखिएको छैन । त्यही भेट्नेसम्मका कुरा थिए । युवतीले नमानेपछि भिडिओ टेलिग्राम र डिस्कर्ड च्यानलमा राखेका रहेछन् ।”
आफ्नो अश्लील फोटो र भिडिओ ‘काण्ड’ भन्दै टेलिग्राम र डिस्कर्डमा छ्याछ्याप्ती आउन थालेपछि युवती मानसिक तनावमा गइन् । र, उनले तिमल्सिनाबिरुद्ध साइबर ब्युरोमा उजुरी दिइन् ।
त्यसैका आधारमा गरिएको प्राविधिक अनुसन्धान र विश्लेषणबाट तिमल्सिनाको संलग्नता भेटिएको ब्युरोले जनाएको छ । प्रहरी उपरीक्षक गिरीका अनुसार आरोपित युवकमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले चार दिनको म्याद दिएको छ ।
पछिल्लो अध्यावधिक: असार १०, २०८३ १९:५७
