close

आशिका तामाङले सडकमा धान रोप्दै गरेको भिडिओ भाइरल, के हो वास्तविकता ?

टेकपाना टेकपाना

असार १६, २०८३ २२:२२

आशिका तामाङले सडकमा धान रोप्दै गरेको भिडिओ भाइरल, के हो वास्तविकता ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सडकको बीच भागमा धान रोपेको एउटा भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धादिङको नौबिसे चोकस्थित हिलाम्मे सडकमा युवाहरूसँग मिलेर धान रोपेको उक्त भिडिओलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न टीकाटिप्पणी गरेका छन् ।

‘Seven Star 4k’ नामक फेसबुक पेजले “असार १५ मा नौबिसे सडकमा धान रोप्दै आशिका” भन्ने क्याप्सनसहित यो भिडिओ सार्वजनिक गरेको छ । भिडिओमा तामाङले “नौबिसेको बाटो कत्रो ठुलो खाल्डो” भन्दै असारे गीत गाएर सडकको दुरावस्थाप्रति प्रतीकात्मक विरोध जनाएको देखिन्छ । वर्षौँदेखि सडक मर्मत नभएको विरोधमा उनले सडककै खाल्डोमा धान रोपेकी हुन् ।

सांसदजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले सडक निर्माणका लागि पहल गर्नुको साटो सडकमै धान रोपेर स्टन्ट गरेको भन्दै धेरैले यसको आलोचना गरेका छन् । फेसबुक प्रयोगकर्ता लक्ष्मण कुँवरले लेखेका छन्, “आफैँ सरकारमा छ, फेरि केको नाटक होला ?”

त्यस्तै, नरबहादुर श्रेष्ठले आलोचना गर्दै लेखेका छन्, “लाज छैन, आफ्नै सरकार छ । आफैँ त्यस क्षेत्रको विकास गर्छु भनेर सांसद जितेको व्यक्तिले यस्तो नाटक बन्द गरेर खुरुक्क पिच गराउनुपर्छ, नत्र राजीनामा दिनुपर्छ ।”

‘भुवन चेम्जुङ’ नामका प्रयोगकर्ताले पनि सोही भिडिओ शेयर गर्दै सरकारमा रहेका जनप्रतिनिधिले विरोध मात्र गरेर बस्न नमिल्ने तर्क गरेका छन् । कतिपयले उनलाई सडक पिच गर्न पहल गर्न वा विरोध नै गर्ने भए सांसद पदबाट राजीनामा दिन सुझाव दिएका छन् ।

के हो वास्तविकता ?

सामाजिक सञ्जालमा हालको भन्दै भाइरल भइरहेको यो भिडिओ वास्तवमा दुई वर्ष पुरानो हो । तामाङले आफ्नो आधिकारिक फेसबुक पेजबाट २९ जुन २०२२ (२०७९ असार १५, धान दिवसका दिन) यो भिडिओ सार्वजनिक गरेकी थिइन् ।

त्यस समयमा उनी सांसद थिइनन् । एक अभियन्ताका रूपमा उनले नौबिसे सडकको दुरावस्थाप्रति व्यङ्ग्य गर्दै उक्त भिडिओ खिचेकी थिइन् । तत्कालीन समयमा यो भिडिओ निकै चर्चामा आएको थियो, जसलाई हालसम्म ३७ लाखभन्दा बढी पटक हेरिएको छ ।

उक्त समयमा आशिकाले सडकमा धान रोपेर विरोध जनाएपछि स्थानीय प्रशासनले तत्कालै खाल्डो पुर्ने काम सुरु गरेको थियो । सोही दिन साँझ उनले अर्को पोस्ट गर्दै लेखेकी थिइन्, “मैले धान रोपेर आएको नौबिसे चोक अहिले पुर्ने तयारी हुँदै रहेछ ।” उनले डोजरले खाल्डो पुर्दै गरेको भिडिओ पनि प्रमाणका रूपमा सार्वजनिक गरेकी थिइन् ।

अतः अहिले सांसदको रूपमा आलोचना भइरहेको यो भिडिओ उनी सांसद बन्नुअघिको पुरानो भिडिओ हो ।

पछिल्लो अध्यावधिक: असार १६, २०८३ २२:४४