close

साम्प्रदायिक घृणा फैलाउने भिडिओ नेपालमा खिचेर अमेरिका पठाइन्थ्यो, उतैबाट हुन्थ्यो एडिट र पोस्ट

टेकपाना टेकपाना

असार १५, २०८३ १८:२

साम्प्रदायिक घृणा फैलाउने भिडिओ नेपालमा खिचेर अमेरिका पठाइन्थ्यो, उतैबाट हुन्थ्यो एडिट र पोस्ट

काठमाडौं । प्र्याङ्कको नाममा साम्प्रदायिक घृणा र द्वेष फैलाउने खालको भिडिओ बनाएर सामाजिक सञ्जालमा राखेको आरोपमा पक्राउ परेका तीन जनामाथि अनुसन्धानका लागि प्रहरीले म्याद अनुमति पाएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी बेद बहादुर पौडेलका अनुसार पक्राउ परेका व्यक्तिहरूले यहाँबाट खिचेको अमेरिकामा रहेका जीवन वलीलाई पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अमेरिकामा बस्ने वलीले प्राप्त ती भिडिओहरूलाई एडिट गरी आफ्नै फेसबुक र युट्युब अकाउन्टबाट पोस्ट गर्ने गरेको पाइएको छ ।

यसरी भिडिओ पठाए बापत उनीहरूबिच रकम लेनदेन हुने गरेको हुनसक्ने प्रहरीको आँकलन छ । “नेपालबाट रअ (raw) भिडिओ पठाउने र अमेरिकाबाट एडिट गरी पोस्ट गर्ने गरेको देखिन्छ," डीएसपी पौडेलले टेकपानासँग भने, "यसका लागि उनीहरूबिच आर्थिक लेनदेन समेत भएको हुनसक्ने देखिएकाले सोही कोणबाट पनि अनुसन्धान गरिरहेका छौँ ।”

प्रहरीका अनुसार यो प्रकरणमा सार्वजनिक शान्ति र साम्प्रदायिक सुव्यवस्थामा खलल पुर्‍याउने कसुर देखिएकाले अनुसन्धान पुरा भएपछि यो मुद्दा प्रमुख जिल्ला अधिकारी (सीडियो) कहाँ दर्ता हुनेछ । यस प्रकारको कसुरमा दोषी ठहरिए एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ ।

के थियो घटना ? 

‘Jiban Oli’ नामक युट्युब च्यानल र फेसबुक आईडीमा सार्वजनिक भएको एक भिडिओमा डेलिभरी ब्वाईको रूपमा कार्यरत तराई मूलका एक युवकलाई ‘चोर’ भन्दै थर्काउने, क्षेत्रीय पहिचानका आधारमा होच्याउने र भीरबाट फालिदिने धम्की दिँदै दुर्व्यवहार गरिएको देखाइएको थियो । उक्त भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा यसको व्यापक विरोध भएको थियो भने गृहमन्त्री सुधन गुरुङले समेत दोषीमाथि कारबाही गर्न निर्देशन दिएको थियो ।

प्रहरीले यो प्रकरणमा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका-३ का ३१ वर्षीय राजन केसी, २८ वर्षीय डिल्ली बहादुर वली र कपिलवस्तुका ३१ वर्षीय रघुवीर कोरीलाई पक्राउ गरेको छ । कोरीले नै भिडियोमा पीडितको भूमिका निर्वाह गरेका थिए । उनीहरूले भाइरल हुनका लागि आपसी सहमतिमै प्र्याङ्क भिडिओ बनाएको बयान दिएका छन् ।

भिडिओ खिच्ने कार्यमा संलग्न भनिएका अर्का एक व्यक्ति हाल सुर्खेतमा रहेको र उनलाई पनि नियन्त्रणमा लिने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले भ्युज र सस्तो लोकप्रियताका लागि साम्प्रदायिक सद्भाव बिथोल्ने यस्ता गतिविधि नगर्न सबैमा सचेत गराएको छ ।

पछिल्लो अध्यावधिक: असार १५, २०८३ १८:२१