close

भिरमा झुन्ड्याएर माथिबाट ढुङ्गैढुङ्गाले हिर्काउँदै निर्दोष कुकरको हत्या गरेको भाइरल भिडिओ हुम्लाको

टेकपाना टेकपाना

असार १५, २०८३ १५:२०

भिरमा झुन्ड्याएर माथिबाट ढुङ्गैढुङ्गाले हिर्काउँदै निर्दोष कुकरको हत्या गरेको भाइरल भिडिओ हुम्लाको

काठमाडौं । आइतबारदेखि सामाजिक सञ्जालमा एउटा अत्यन्तै हृदयविदारक र अमानवीय भिडिओ भाइरल भइरहेको छ, जसमा एउटा निर्दोष कुकुरलाई निर्मम तरिकाले यातना दिएर मारिएको छ । टेकपानाले गरेको प्रारम्भिक अनुसन्धानबाट उक्त भिडिओ हुम्लाको सिमकोट क्षेत्रको रहेको देखिएको छ ।

उक्त भिडिओको दृश्य निकै क्रूर छ । डोरी लगाएर डाँडाको ठुलो ढुङ्गामा कुकुरलाई माथिबाट झुन्ड्याइएको छ । माथिबाट ढुङ्गै-ढुङ्गाले हिर्काइरहेको देखिन्छ । दृश्यमा एक बालक पनि देखिन्छन् । ढुङ्गा हिर्काउने अन्य व्यक्तिहरू भए पनि भिडिओमा उनीहरूको अनुहार देखिँदैन । भिडिओको बिच-बिचमा सिमकोट विमानस्थल समेत देखिएको छ भने पृष्ठभूमिमा "जन्म मृत्यु संसारकै रीत हो साथी आज अमर बनाइदेउ..." बोलको गीत बजिरहेको सुन्न सकिन्छ ।

यो भिडिओ bibek.sunar790 नामक टिकटक आईडीबाट सार्वजनिक भएको हो । उक्त भिडिओ आइतबार बिहान १०ः४८ बजेको समयमा अपलोड पहिलो पटक टिकटकमा अपलोड भएको देखिन्छ । त्यसको केही मिनेटपछि अर्थात् १०ः५४ मिनेटमा सोही टिकटक अकाउन्टबाट अर्को भिडिओ पनि सार्वजनिक भएको छ, जसमा कुकुरको मृत्यु भइसकेको देखिन्छ ।

घटनास्थल सिमकोट विमानस्थल नजिकै रहेको भिडिओमै देखिए पनि स्थानीय प्रहरी भने यसबारे बेखबर छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी सहायक निरीक्षक जङ्गबहादुर घर्तीले भाइरल भिडिओ बारे कुनै उजुरी वा जानकारी नभएको बताए । "जिल्ला प्रहरी कार्यालय सिमकोट विमानस्थल नजिकै छ," उनले टेकपानासँग भने, "तर सो घटनाबारे अहिलेसम्म कुनै जानकारी आएको छैन ।"

टेकपानाले उक्त भिडिओको लिंक उपलब्ध गराएपछि हुम्ला प्रहरीले भिडिओ सिमकोटकै भएको पुष्टि गरेको छ ।

सामाजिक सञ्जालमा व्यापक आक्रोश

यस क्रूर घटनालाई लिएर सामाजिक सञ्जाल फेसबुक र टिकटकमा सर्वसाधारणले तीव्र आक्रोश व्यक्त गरिरहेका छन् । धेरै प्रयोगकर्ताहरूले नेपाल प्रहरी र पशु अधिकारकर्मीहरूलाई मेन्सन गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।

फेसबुकमा लक्ष्मी सुधा देवकोटाले लेखेकी छन्, "एउटा पशुलाई यसरी यातना दिएर मार्नु कत्तिकाे जायज हाे, पापीहरू भिओयो बनाएर बस्छन् ।" त्यसैगरी कुशाङ कुशाङले "कुकुर त कुकुर नै हो तर मान्छे पशु" भन्दै जनावरमाथि गरिएको निर्दयी व्यवहारको कडा आलोचना गरेका छन् ।

मिलन थापा र राजु थापामगर लगायतका प्रयोगकर्ताहरूले 'कडा भन्दा कडा कारबाही गर्नु पर्छ' भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् भने धेरैले पशु क्रूरता विरुद्धको कानुनलाई थप कडाइका साथ लागु गर्नुपर्ने माग गरेका छन् ।

टिकटकमा पनि हजारौं प्रयोगकर्ताले कुकुरप्रति सहानुभूति र पीडकप्रति घृणा व्यक्त गरेका छन् । सुरेश जी नामक प्रयोगकर्ताले 'यो कुरा चाहिँ संसदसम्म जानुपर्‍यो' भनेका छन् भने अधिकांशले 'को पापी होला यस्तो दया माया नभएको,' 'किन यस्तो गरेको' भन्दै दुःख व्यक्त गरेका छन् ।

प्रहरी प्रशासनले भिडिओको आधारमा अनुसन्धान अघि बढाई अपराधीलाई कानुनी दायरामा ल्याउनुपर्ने आम नागरिकको जोडदार माग रहेको छ ।

पछिल्लो अध्यावधिक: असार १५, २०८३ १८:१८