close

ह्वाट्सएपको युजरनेम रिजर्भ गर्नु भो ? अब थाहा पाउने वा अनुमान गर्नेले सजिलै मेसेज पठाउने पो हो कि ?

टेकपाना टेकपाना

असार १८, २०८३ ९:५०

ह्वाट्सएपको युजरनेम रिजर्भ गर्नु भो ? अब थाहा पाउने वा अनुमान गर्नेले सजिलै मेसेज पठाउने पो हो कि ?

काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्ताहरूका लागि युजरनेम रिजर्भ गर्ने सुविधा खुला गरेसँगै विश्वभरका प्रयोगकर्तामा यसको कार्यप्रणाली र सुरक्षालाई लिएर विभिन्न जिज्ञासा र चिन्ता उब्जिएका छन् । विशेषगरी, युजरनेम अनुमान गरेर जुनसुकै अपरिचित व्यक्तिले सहजै मेसेज पठाउन सक्ने हो कि भन्ने डर धेरैमा देखिन्छ ।

यसै सन्दर्भमा, ह्वाट्सएपले प्रयोगकर्ताका मुख्य प्रश्नहरूको आधिकारिक जवाफ दिँदै आफ्ना सुरक्षा र गोपनीयताका उपायहरू प्रस्ट पारेको छ । ढुक्क हुनुहोस्; युजरनेम थाहा पाउने वा अनुमान गर्ने जोकोहीले तपाईंलाई मेसेज पठाउन सक्दैन ।

ह्वाट्सएपमा फोन नम्बर सिधै खोज्न नमिल्ने सुविधा भए जस्तै, प्रयोगकर्ताको युजरनेम पनि सिधै सर्च गर्न नमिल्ने कम्पनीले जनाएको छ । अनावश्यक व्यक्तिहरूबाट सुरक्षित रहनका लागि ह्वाट्सएपले युनिक युजरनेम छनोट गर्न र थप सुरक्षाका लागि युजरनेम की (Username Key) प्रयोग गर्न सुझाएको छ ।

यसका साथै, अनावश्यक सम्पर्कहरू रोक्नका लागि ह्वाट्सएपका विद्यमान सुरक्षा व्यवस्थाहरू कायमै रहनेछन् । जस्तै: कुनै अपरिचित प्रयोगकर्ताबाट मेसेज आउँदा ह्वाट्सएपले उक्त प्रयोगकर्ताको देश, नयाँ अकाउन्ट हो कि होइन, वा तपाईँहरूबिच कुनै साझा ग्रुप छ कि छैन जस्ता विवरणहरू चेतावनी (Warning) को रूपमा देखाउनेछ । जसले गर्दा प्रयोगकर्ताले सजिलै ब्लक र रिपोर्ट गर्न सक्नेछन् ।

ह्वाट्सएपमा युजरनेम राख्ने सुविधा पूर्ण रूपमा ऐच्छिक हो । अर्थात् प्रयोगकर्ताहरूले आफ्नो इच्छाअनुसार युजरनेम राख्न वा नराख्न सक्छन् ।

चाहेको युजरनेम नपाए के गर्ने ?

यदि तपाईँले खोज्नुभएको युजरनेम उपलब्ध छैन भने त्यसका मुख्य तीनवटा कारणहरू हुन सक्छन् । पहिलो यदि कुनै युजरनेम पहिले नै इन्स्टाग्राम वा फेसबुकमा विद्यमान छ भने, ती नामहरू सम्बन्धित व्यक्तिहरूका लागि मात्र रिजर्भ गरिएका छन् ।

त्यस्तै सार्वजनिक व्यक्तित्व, सेलिब्रेटी, सरकारी निकाय र मेटा-भेरिफाइड अकाउन्टका चर्चित नाम र तिनका वर्गीकरणहरू ह्वाट्सएपले पहिले नै सुरक्षित (होल्ड) राखेको छ । यस्ता नामहरू केवल तिनका वास्तविक र कानुनी स्वामित्वकर्ताहरूले मात्र दाबी गर्न पाउँछन् ।

यसैगरी यदि तपाईँले खोजेको साधारण नाम अरू कसैले पहिले नै दाबी गरिसकेको छ भने, तपाईँले ह्वाट्सएपको युजरनेम जेनेरेटर (Username Generator) प्रयोग गरेर उपलब्ध विकल्प रोज्न सक्नु हुन्छ ।

युजरनेमका लागि अन्य मेटा अकाउन्ट लिंक गर्नैपर्छ ?

यदि तपाईँ आफ्नो इन्स्टाग्राम वा फेसबुककै युजरनेम ह्वाट्सएपमा पनि राख्न चाहनुहुन्छ भने, सुरुमा ती अकाउन्टहरू लिंक गर्नु अनिवार्य छ । यो नियम नक्कली अकाउन्ट (इम्पर्सोनेसन) रोक्न र तपाईँ नै उक्त अकाउन्टको वास्तविक मालिक हो भन्ने कुरा सुनिश्चित गर्न ल्याइएको हो । तर, युजरनेम रिजर्भ गरिसकेपछि तपाईँले चाहेमा ती अकाउन्टहरूलाई पुनः अनलिंक गर्न सक्नुहुन्छ वा ह्वाट्सएपका लागि मात्र छुट्टै युजरनेम पनि छान्न सक्नुहुन्छ ।

के युजरनेम परिवर्तन गर्न मिल्छ ?

ह्वाट्सएपका अनुसार प्रयोगकर्ताले पछि पनि आफ्नो युजरनेम परिवर्तन गर्न सक्छन् । तर, यसका लागि आफूले परिवर्तन गर्न चाहेको नयाँ युजरनेम उपलब्ध भने हुनु पर्दछ ।

युजरनेम की भनेको के हो ?

युजरनेमको सुरक्षाका लागि उपलब्ध गराइने एक अतिरिक्त सुरक्षा तह हो, युजरनेम कि । यदि तपाईंले यसलाई सक्रिय गर्नुभयो भने, कुनै पनि व्यक्तिले तपाईँलाई सम्पर्क गर्न तपाईँको युजरनेम र युजरनेम की दुवै थाहा पाउनुपर्ने हुन्छ । तपाईँले जुनसुकै बेला आफ्नो युजरनेम की परिवर्तन (रिसेट) गर्न सक्नुहुन्छ । जसले गर्दा पुराना कीहरू प्रयोग गरी तपाईँको युजरनेममार्फत आउने नयाँ मेसेजहरू स्वतः रोकिनेछन् ।

कसैले तपाईंको जस्तै युजरनेम बनाएर स्क्याम गर्न खोजे के हुन्छ ?

अहिले युजरनेममार्फत सिधै मेसेज पठाउने सुविधा सुरु भइसकेको छैन । जब यो सुविधा पूर्ण रूपमा सञ्चालनमा आउनेछ, त्यतिबेला नयाँ अकाउन्टबाट मेसेज आउँदा ह्वाट्सएपले पठाउने व्यक्तिको देश (Country Origin) र पहिलो पटक मेसेज आएको चेतावनी (Warning) देखाउनेछ ।

सार्वजनिक व्यक्तित्वका चर्चित नामहरू पहिले नै वास्तविक स्वामित्वकर्ताका लागि सुरक्षित राखिएकाले सामान्य प्रयोगकर्ताले अरूको नाममा भ्रम फैलाउन पाउने छैनन् । लोकप्रिय र चर्चित नामहरू अरू कसैले रिजर्भ गरेको भन्ने हल्लाहरू पूर्णतः झुटो भएको ह्वाट्सएपले स्पष्ट पारेको छ । ह्वाट्सएपले स्क्यामरहरू विरुद्ध कडा कदम चाल्न प्रयोगकर्ताहरूले गर्ने ब्लक र रिपोर्टहरूमाथि निरन्तर निगरानी राख्ने प्रतिबद्धता जनाएको छ ।

यो फिचर कहिलेदेखि पूर्ण रूपमा सञ्चालनमा आउँछ ?

ह्वाट्सएपले आफ्नो यो युजरनेम फिचर यसै अङ्ग्रेजी वर्षको अन्त्यतिर मात्र पूर्ण रूपमा सार्वजनिक गर्ने बताएको छ । प्रयोगकर्ताहरू आफ्नो युजरनेमलाई लिएर निकै संवेदनशील हुने भएकाले ह्वाट्सएपले मुख्य सेवा सुरु हुनुअगावै रिजर्भ गर्ने विकल्प खुला गरेको हो ।

कम्पनीले हाल प्रयोगकर्ताहरूको प्रतिक्रिया (Feedback) लिइरहेको र फिडब्याककै आधारमा फिचरलाई थप परिष्कृत बनाएर मात्र पूर्ण रूपमा रोलआउट गर्ने बताएको छ ।

पछिल्लो अध्यावधिक: असार १८, २०८३ ९:५०