close

१२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार हुनुमा स्न्यापच्याटको भूमिका रहेको भन्दै मुद्दा दायर

टेकपाना टेकपाना

असार १३, २०८३ ११:५०

१२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार हुनुमा स्न्यापच्याटको भूमिका रहेको भन्दै मुद्दा दायर

काठमाडौं । स्न्यापच्याटको मातृ कम्पनी ‘स्न्याप’ विरुद्ध अमेरिकाको मिसौरीमा मुद्दा दायर भएको छ । स्न्यापच्याटको ‘स्न्याप म्याप्स’ लगायतका फिचरको दुरुपयोग गरी एक युवकले आफ्नी १२ वर्षीया छोरीलाई पहिचान गरेको, प्रलोभनमा पारेको र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै पीडित परिवारले अदालतमा उजुरी दिएका हुन् ।

मिसौरीको अदालतमा दर्ता गरिएको उक्त मुद्दामा स्न्याप कम्पनी र ग्याब्रिएल जोएल भ्यालेन्टिन-रियोसलाई विपक्षी (प्रतिवादी) बनाइएको छ । अभियुक्त भ्यालेन्टिन-रियोसले नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोप स्वीकार गरिसकेका छन् । हाल उनी १८ वर्षको जेल सजाय काटिरहेका छन् ।

सीएनएनका अनुसार ती बालिकाले सन् २०२१ मा ११ वर्षको उमेरमा अभिभावकको अनुमतिबिना नै स्न्यापच्याट प्रयोग गर्न थालेकी थिइन् । स्न्यापच्याट प्रयोगका लागि न्यूनतम उमेर १३ वर्ष तोकिएको भए तापनि यसको ‘एज भेरिफिकेसन’ (उमेर प्रमाणीकरण) प्रक्रिया निकै कमजोर रहेको र बालबालिकाले सजिलै उमेर ढाँट्न सक्ने दाबी मुद्दामा गरिएको छ ।

परिवारको दाबी अनुसार स्न्यापच्याटको ‘रिकमेन्डेसन सिस्टम’ (सिफारिस प्रणाली) ले अपरिचित भए तापनि भ्यालेन्टिन-रियोसलाई ती बालिका र नजिकैका विद्यालयका अन्य किशोरीहरूको ‘सजेस्टेड कन्ट्याक्ट’ (सुझाव गरिएका सम्पर्क) का रूपमा देखाएको थियो । अपरिचित वयस्क व्यक्तिसँग जोडिनुको जोखिमबारे प्लेटफर्मले प्रयोगकर्तालाई कुनै चेतावनी वा सुरक्षा सन्देश नदिएको आरोप पनि लगाइएको छ ।

एक अर्कामा जोडिएपछि (एड भएपछि) भ्यालेन्टिन-रियोसले ती बालिकालाई आपत्तिजनक सामग्री पठाउन थालेका थिए । अदालतमा पेश गरिएको दस्तावेज अनुसार बालिकाले त्यस्ता सामग्रीको माग नगरेको र सुरुमा कुनै प्रतिक्रिया समेत नदिएको उल्लेख छ ।

तर, प्लेटफर्मको डिजाइन यस्तो थियो कि उनले त्यस्ता सामग्रीलाई प्रभावकारी रूपमा रोक्न सकिनन् । साथै, स्न्यापच्याटको ‘स्न्याप म्याप्स’ फिचरले बालिकाको जानकारीबिना नै उनको घरको वास्तविक लोकेसन ती पुरुषलाई देखाएको दाबी गरिएको छ ।

२५ वर्षीय भ्यालेन्टिन-रियोसले आफूलाई १७ वर्षको विद्यार्थीका रूपमा चिनाएर बालिकालाई लामो समयसम्म मानसिक रूपमा प्रभावमा पारेका थिए । त्यसपछि उनले बालिकालाई प्रत्यक्ष भेट्न राजी गराए र सोही भेटका क्रममा यौन दुर्व्यवहार गरे । अभियुक्तले नाबालिगलाई निशाना बनाउन विभिन्न नक्कली अकाउन्ट प्रयोग गरेको जानकारी भए पनि कम्पनीले कुनै ठोस कारबाही नगरेको परिवारको आरोप छ ।

यस घटनाका कारण ती बालिकामा पीटीएसडी (पोस्ट-ट्रमेटिक स्ट्रेस डिसअर्डर), एन्जाइटी र डिप्रेसन जस्ता गम्भीर मानसिक समस्या देखिएका छन् । पीडित परिवारले क्षतिपूर्तिको माग गर्दै अदालतबाट स्न्यापच्याटको सुरक्षा प्रणालीमा सुधार ल्याउन आदेश जारी गर्न आग्रह गरेको छ ।

यस विषयमा स्न्यापले प्रतिक्रिया दिँदै प्लेटफर्मको दुरुपयोग रोक्न आफूहरूले सुरक्षा सुविधाहरू, शैक्षिक सामग्री, विज्ञहरूसँगको साझेदारी र सुरक्षा निकायहरूसँगको सहकार्यमा निरन्तर लगानी गरिरहेको दाबी गरेको छ ।

पछिल्लो समय स्न्यापमाथि यस्ता कानुनी चुनौतीहरू थपिँदै गएका छन् । सन् २०२४ मा न्यू मेक्सिको राज्यले पनि स्न्यापच्याटको बनावटले ‘सेक्सटोर्सन’ (यौनजन्य ब्ल्याकमेलिङ) र वयस्क-नाबालिगबिचको जोखिमलाई बढावा दिएको भन्दै मुद्दा दायर गरेको थियो । कम्पनीले उक्त मुद्दा खारेज गराउन खोजे पनि अदालतले त्यसलाई निरन्तरता दिएको छ । यस्तै प्रकृतिका अन्य मुद्दाहरू भर्मन्ट राज्यमा पनि विचारणाधीन रहेका छन् ।

 

पछिल्लो अध्यावधिक: असार १३, २०८३ ११:५०