close

व्यक्ति-व्यक्तिबिच सिधै ऋण लेनदेन गर्ने प्रणालीको अध्ययन गर्दै राष्ट्र बैंक

टेकपाना टेकपाना

असार २३, २०८३ १७:२५

व्यक्ति-व्यक्तिबिच सिधै ऋण लेनदेन गर्ने प्रणालीको अध्ययन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा ‘पियर टु पियर’ (P2P) लेनदेन प्रणाली सञ्चालनका लागि विस्तृत अध्ययन प्रक्रिया अघि बढाउने भएको छ । आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले यो आधुनिक वित्तीय उपकरणबारे अध्ययन गर्ने घोषणा गरेको हो ।

गभर्नर डा. विश्वनाथ पौडेलले सोमबार सार्वजनिक गरेको मौद्रिक नीतिको बुँदा नम्बर २३ मा भनिएको छ, “व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणालीमा आधारित Peer to Peer लेनदेन सञ्चालन गर्ने सम्बन्धमा अध्ययन गरिनेछ ।”

यसअघि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागु गरेर ‘पियर टु पियर’ लेनदेनलाई नियमन सहित सञ्चालन गर्ने घोषणा गरेका थिए ।

अर्थमन्त्री वाग्लेले बजेट वक्तव्यमा राखेको उक्त योजनालाई कार्यान्वयनको दिशामा लैजान राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत औपचारिक रूपमा अध्ययनको बाटो खोलेको हो ।

के हो पियर टु पियर लेनदेन र क्रेडिट स्कोरिङ ?

पियर टु पियर लेनदेन यस्तो डिजिटल प्रणाली हो, जहाँ बैंक वा वित्तीय संस्था बिना नै दुई व्यक्तिहरूबिच सिधै ऋण लेनदेन हुन्छ । यसमा एक अनलाइन प्लेटफर्मले ऋण दिने र ऋण लिने व्यक्तिलाई आपसमा जोड्ने काम गर्छ ।

यो प्रणालीलाई सुरक्षित र व्यवस्थित बनाउन ‘व्यक्तिगत क्रेडिट स्कोरिङ’ लाई मुख्य आधार बनाइनेछ । क्रेडिट स्कोरिङले ऋण लिने व्यक्तिको आम्दानी, विगतको भुक्तानी इतिहास र जोखिमको मापन गर्दछ । जसका आधारमा ऋणदाताले ऋणीको विश्वासनीयता जाँच्न सक्छन् । 

यसले गर्दा बैंकसम्म पहुँच नभएका वा छिटो छरितो रूपमा बिना धितो ऋण खोज्नेहरूका लागि यो प्रणाली उपयोगी सावित हुन सक्छ ।

राष्ट्र बैंकले वित्तीय क्षेत्रको डिजिटलाइजेसन र सेवाको गुणस्तर अभिवृद्धि गर्ने नीतिअन्तर्गत यो नयाँ अवधारणालाई समेटेको हो । 

यो प्रणाली कार्यान्वयनमा आएमा व्यक्ति-व्यक्तिबिच हुने अनौपचारिक र जोखिमपूर्ण लेनदेनलाई औपचारिक र पारदर्शी बनाउन मद्दत पुग्ने बताइएको छ । साथै, यसले लगानीकर्तालाई बैंकको तुलनामा केही बढी ब्याज पाउने अवसर दिनेछ भने ऋणीलाई सरल प्रक्रियाबाट कर्जा प्राप्त हुने मार्ग प्रशस्त गर्नेछ ।

पछिल्लो अध्यावधिक: असार २३, २०८३ १७:५७