हुम्ला र भोजपुरबाहेक ७५ जिल्लामा राहदानी घरदैलोमै पुर्याउन थालेका छौँ: मन्त्री पोखरेल
असार २०, २०८३ १६:१४
काठमाडौं । सरकारले आफ्नो १०० दिनको कार्यअवधिको उपलब्धि सार्वजनिक गर्दै सेवाग्राहीको घरदैलोमै सरकारी सेवा पुर्याउने प्रतिबद्धता पूरा हुँदै गएको दाबी गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हुम्ला र भोजपुर बाहेकका ७५ जिल्लामा राहदानी घरदैलोमै पुर्याउने कार्य सुरु भइसकेको जानकारी दिए ।
सरकारको १०० दिने उपलब्धिका बारेमा जानकारी दिँदै मन्त्री पोखरेलले भने, “हामीले सरकारी सेवा घर-घरमा पुर्याउने भनेर हाम्रो प्रतिबद्धता पत्र र वाचापत्रमा पनि राखेका थियौँ । सोहीअनुरूप हुम्ला र भोजपुरबाहेक ७५ जिल्लामा राहदानी घरदैलोमै पुर्याउन हामीले सुरु गरिसकेका छौँ ।”
मन्त्री पोखरेलका अनुसार हालसम्म दुई लाख ६ हजार ३ सय ३० थान राहदानी हुलाक मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा ढुवानी गरिएको छ ।
“सम्बन्धित कार्यालयहरूले हुलाक कार्यालयमार्फत ५ हजार ७ सय २८ थान राहदानी सेवाग्राहीको घरदैलोमै पुर्याउन सफल हुनुभएको छ,” पोखरेलले थपे ।
राहदानी वितरण र अन्य सरकारी सेवा प्रवाहलाई थप प्रभावकारी, छिटो-छरितो र नागरिकमैत्री बनाउन सरकारले जनशक्ति व्यवस्थापन र क्षमता अभिवृद्धिमा पनि जोड दिएको उनले सुनाए । यसै क्रममा फ्रन्ट डेस्कमा काम गर्ने करिब ५ सय कर्मचारीलाई विशेष तालिम दिइएको मन्त्री पोखरेलले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: असार २०, २०८३ १६:१४
