हेलो सरकारमा जनगुनासाको ओइरो: १०० दिनमा ६००% ले वृद्धि, ६० प्रतिशत फर्स्यौट भएको दाबी
असार २०, २०८३ २१:५४
काठमाडौं । सरकारले आफ्नो १०० दिनको कार्यकाल पूरा गरेको अवसरमा जनगुनासो सम्बोधनलाई उच्च प्राथमिकतामा राखेको दाबी गरेको छ । प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको ‘१०० दिनको कार्यप्रगति’ रिपोर्टअनुसार पछिल्लो तीन महिनामा ‘हेलो सरकार’ संयन्त्रमा प्राप्त हुने गुनासोको संख्यामा ६०० प्रतिशतले वृद्धि भएको छ ।
सरकारले गुनासोको यो बढ्दो तथ्याङ्कलाई जनताको निराशा नभई सरकारप्रतिको बढ्दो विश्वास र भरोसाका रूपमा व्याख्या गरेको छ । “पछिल्लो १०० दिनमा हेलो सरकारमार्फत प्राप्त भएको गुनासो ६ सय प्रतिशतले वृद्धि हुनुले यो सरकारप्रतिको विश्वास र भरोसा भएको पुष्टि गर्दछ,” रिपोर्टमा उल्लेख छ ।
प्राप्त भएका कुल गुनासाहरूमध्ये करिब ६० प्रतिशतको तत्काल फर्स्यौट (समाधान) भइसकेको सरकारले जनाएको छ । बाँकी गुनासाहरू सम्बोधनका लागि सम्बन्धित निकायहरूमा प्रक्रियागत रूपमा रहेको र त्यसलाई रियल टाइम ट्रयाकिङ गर्ने पद्धति विकास गरिएको उल्लेख छ ।
यस प्रणालीमा हालसम्म संघ, प्रदेश र स्थानीय तहका गरी तीन हजार ७७० कार्यालयहरूलाई आबद्ध गरिएको छ ।
सबै मन्त्रालय र निकायका गुनासो समाधानको प्रगतिलाई एकीकृत ड्यासबोर्डमार्फत सिधै अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । यसले गर्दा कुन मन्त्रालयमा कति गुनासो आयो र कति समाधान भयो भन्ने कुराको जानकारी तत्काल प्राप्त हुने सरकारको भनाइ छ ।
दस्तावेजअनुसार देशभरका नागरिकका गुनासो, सुझाव र अनुरोधलाई छिटो र प्रभावकारी रूपमा सम्बोधन गर्न गृह मन्त्रालयले २४ घण्टे राष्ट्रिय नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ । गृह बाहेक अन्य मन्त्रालयहरूले पनि आफ्नै विशिष्ट प्रणाली विकास गरी गुनासो व्यवस्थापनलाई तीव्रता दिएको रिपोर्टमा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: असार २०, २०८३ २१:५४
