फेसबुकमा स्वास्थ्य मन्त्रीलाई ‘चोर दलाल’, ‘माफिया’ भन्दै आलोचना गर्ने स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा
असार २३, २०८३ १८:८
काठमाडौं । सामाजिक सञ्जालमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताका विरुद्ध टिप्पणी गरेको आरोपमा धनुषाका स्वास्थ्यकर्मी नवेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई सोमबार राति नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेले अधिकारीलाई सामान्य सोधपुछका लागि नियन्त्रणमा लिइएको दाबी गरे । डीएसपी न्यौपानेले टेकपानासँग भने, “केही विषयमा बुझ्नका लागि उहाँलाई बोलाइएको हो । आवश्यक सोधपुछपछि उहाँ मंगलबार बिहानै घर फर्किसक्नुभएको छ ।”
अधिकारीले पछिल्लो समय सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री मेहताको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आलोचनात्मक स्टाटस लेख्दै आएका थिए । उनले मन्त्रीको काम चित्तबुझ्दो नभएको भन्दै राजीनामा समेत माग गरेका थिए ।
अधिकारीले मन्त्री मेहतालाई लक्षित गरी ‘चोर, दलाल’ र ‘माफिया मन्त्री’ जस्ता शब्द प्रयोग गरिएका सामग्री पोस्ट गरेको पाइएको छ ।
उनले सरकारले प्रत्येक अस्पतालमा गरिब जनताका लागि १० प्रतिशत निःशुल्क बेडको व्यवस्था गर्ने निर्णय गरे पनि स्वास्थ्यमन्त्रीले मधेशका कुनै पनि अस्पतालमा त्यसलाई कार्यान्वयन गराउन नसकेको आरोप लगाएका छन् । साथै, मन्त्रीको १०० दिनको प्रगति विवरणमा उल्लेख गरिएका अधिकांश कामहरू झुटो रहेको दाबी गर्दै उनले विरोध जनाएका छन् ।
काठमाडौंस्थित साइबर ब्युरोबाट अधिकारीको गतिविधिबारे बुझ्न निर्देशन आएपछि उनलाई नियन्त्रणमा लिइएको र सोधपुछ पश्चात् रिहा गरिएको डीएसपी न्यौपानेले बताए ।
पछिल्लो अध्यावधिक: असार २३, २०८३ १८:५५
