close

भ्युजको लोभमा सादा पोशाकका प्रहरीको भिडिओ सार्वजनिक गरेको भन्दै फेसबुक पेजहरूको आलोचना

टेकपाना टेकपाना

असार २०, २०८३ २२:१७

भ्युजको लोभमा सादा पोशाकका प्रहरीको भिडिओ सार्वजनिक गरेको भन्दै फेसबुक पेजहरूको आलोचना

काठमाडौं । राजधानीको माइतीघरमा लागूऔषध नियन्त्रण ब्युरोका सादा पोशाक (सिभिल) का प्रहरीले एक युवकलाई नियन्त्रणमा लिँदै गरेको भिडिओ खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि फेसबुक पेजको आलोचना भएको छ । शुक्रबार ब्युरोबाट खटिएका सादा पोशाकका दुई प्रहरीले लागूऔषध कारोबारको आरोपमा एक युवकलाई नियन्त्रणमा लिने क्रममा आफूलाई पत्रकार दाबी गर्ने व्यक्तिले भिडिओ खिचेका थिए । 

भिडिओमा ती व्यक्तिले प्रहरीलाई परिचय पत्र देखाउन माग गर्दै नियन्त्रणमा लिइएका युवकलाई भ्यानसम्म पुर्‍याउँदासम्मको दृश्य रेकर्ड गरेका थिए । उक्त भिडिओ ‘जनता मिडिया’, ‘खबर बुलेटिन टिभी’ लगायतका फेसबुक पेजले पोस्ट गरेका छन् । भिडिओमा प्रहरीको अनुहार नधमिल्याई (ब्लर नगरी) सार्वजनिक गरिएपछि ती पेजको व्यावसायिकता र गोपनीयताको हकमाथि प्रश्न उठेको हो ।

भिडिओ सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा सामाजिक सञ्जाल प्रयोगकर्ताले आक्रोश व्यक्त गरेक छन् । सोही भिडिओमा कमेन्ट गर्दै प्रयोगकर्ताले यसलाई पत्रकारिताको न्यूनतम मर्यादासमेत ख्याल नगरिएको गैरजिम्मेवार कदमका रूपमा चित्रण गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता भक्त बुढाले लेखेका छन्, ““केवल भ्युज र आम्दानीको लोभमा संवेदनशील विषयलाई सनसनीपूर्ण बनाउँदै सिभिल प्रहरीको गोपनीयता भङ्ग गर्नु पत्रकारिता होइन । पत्रकारिताको उद्देश्य सत्य, जिम्मेवारी र जनहितको रक्षा गर्नु हो ।” त्यसैगरी सुरज गौतमले भनेका छन्, “यो पत्रकारिता सही भएन । प्रहरीलाई सिभिल भनेको छ अनि खुलेआम अनुहार देखाएको छ, भिडिओमा फेस ब्लर गर्नुपर्छ नि ।”

यता राम ठकुरी, रबिन भण्डारी र दिपु बिस्टले पनि सिभिल प्रहरीको अनुहार सिधै देखाउनु गलत भएको उल्लेख गर्दै भिडिओ अपलोड गर्नुअघि सम्पादन गरेर अनुहार छोप्नुपर्ने धारणा राखेका छन् । कतिपयले पत्रकारिता पढेर आएका सञ्चारकर्मी नहुँदा यस्तो समस्या देखिएको टिप्पणी गरेका छन् । धनराज बलामी र वृष गुरुङ नामका फेसबुक प्रयोगकर्ताले पत्रकारिताको सामान्य नियमसमेत नबुझी सिभिल प्रहरीको हुलिया सार्वजनिक गरिएकोमा आपत्ति जनाएका छन् भने युवराज न्यौपाने र हरि विक्रम चन्दले सिभिल प्रहरी भनेको को हो र उनीहरू किन सादा पोशाकमा हिँड्छन् भन्ने सामान्य चेतसमेत मिडिया हाउसमा नदेखिएको भन्दै आलोचना गरेका छन् ।

यस्तो कामले प्रहरीको व्यक्तिगत सुरक्षा र भावी अनुसन्धानमा गम्भीर असर पर्ने चिन्ता पनि प्रयोगकर्ताले व्यक्त गरेका छन् । विश्व पोखरेल र प्रकाश तमताले सिभिल प्रहरीको पहिचान सबैमाझ ल्याउँदा भोलिका दिनमा अन्य अपराधीलाई पक्राउ गर्न गाह्रो हुने र अनुसन्धान प्रभावित बन्ने बताएका छन् । उनीहरूका अनुसार सञ्चारकर्मीलाई कुनै शङ्का लागेमा सम्बन्धित निकायमा उजुरी गर्ने बाटो हुँदाहुँदै यसरी सधैँ फिल्डमा खटिनुपर्ने सुरक्षाकर्मीको भिडिओ बनाएर पोस्ट गर्नु गैरजिम्मेवारपन हो । 

यसैगरी सञ्जिव अधिकारी, अमृत थापा मगर, नारायण पुरी र नवराज बोहराले यस कार्यलाई कानुनभन्दा माथि उठेर गरिएको गोपनीयताको गम्भीर उल्लंघन भन्दै भिडिओ बनाउने र सार्वजनिक गर्ने सञ्चारगृह तथा व्यक्तिलाई तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् ।

पत्रकार आचारसंहिता २०७३ को दफा ९ मा पत्रकार तथा सञ्चारमाध्यमले व्यक्तिको गोपनीयताको हकको सम्मान गर्नुपर्ने स्पष्ट व्यवस्था छ । यस विषयमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले समाजमा शान्ति, सुरक्षा र अमनचैन कायम राख्न प्रहरी विभिन्न रूपमा खटिने र सञ्चार माध्यमले पनि उनीहरूको गोपनीयताको संवेदनशीलता बुझ्नुपर्ने बताएका छन् । टेकपानासँग कुरा गर्दै डीआईजी काफ्लेले भने, “यी भिडिओ हाम्रो जानकारीमा आएका छन् । हामी अध्ययन गरेर आवश्यक पक्रिया अगाडि बढाउनेछौँ ।”

पछिल्लो अध्यावधिक: असार २०, २०८३ २२:२५