डिजिटल रूपान्तरण र पूर्वाधार विकासमा एडीबीको जोड, नेपाललाई ३ खर्ब ६५ अर्ब सहयोग गर्ने प्रतिबद्धता
असार २३, २०८३ २१:३६
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको डिजिटल रूपान्तरण, दिगो पूर्वाधार विकास र आर्थिक सुधारका लागि आगामी सन् २०२९ सम्ममा दुई अर्ब ४० करोड अमेरिकी डलर (करिब तीन खर्ब ६५ अर्ब नेपाली रुपैयाँ) बराबरको वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपाल र एडीबीबीचको साझेदारीको ६० वर्ष पुगेको अवसरमा नेपाल भ्रमणमा रहेका एडीबीका अध्यक्ष मासातो कान्डा र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बिच मंगलबार भएको शिष्टाचार भेटमा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो । भेटका क्रममा प्रधानमन्त्री शाहले सुशासन र पारदर्शितामार्फत नेपालको विकासमा नयाँ फड्को मार्ने विश्वास व्यक्त गरे ।
भ्रमणकै क्रममा एडीबी र नेपाल सरकारबिच व्यापार प्रणालीलाई डिजिटल बनाउन पाँच करोड डलरको नीतिगत ऋण सम्झौता भएको छ । यस परियोजनाले नेपालको सीमा नाकाहरूमा मालसामानको आवागमनलाई आधुनिक प्रविधिमार्फत सहज बनाउने बताइएको छ । डिजिटल प्रणालीको प्रयोगले व्यापारिक लागत घटाउन, कार्यदक्षता बढाउन र अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रतिस्पर्धात्मक क्षमता सुदृढ गर्न मद्दत पुग्ने अध्यक्ष कान्डाले बताए ।
पूर्वाधार विकासतर्फ काठमाडौँको विद्युत आपूर्तिलाई भरपर्दो र सुदृढ बनाउन निर्माण गरिएका दुईवटा महत्वपूर्ण सब–स्टेसनको अध्यक्ष कान्डाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसँग मिलेर भर्चुअल माध्यमबाट उद्घाटन गरे ।
त्यस्तै, नेपालका आठ लाख ५० हजारभन्दा बढी जनसङ्ख्यालाई सुरक्षित खानेपानी र सरसफाइ सेवा उपलब्ध गराउन ११ करोड ५० लाख डलरको अर्को ऋण सम्झौतामा पनि हस्ताक्षर भएको छ । यी आयोजनाहरूले सहरी पूर्वाधारमा ठुलो सुधार ल्याउने अपेक्षा गरिएको छ ।
एडीबीले भौतिक पूर्वाधारसँगै मानव संशाधनको विकासमा पनि प्रविधिलाई जोड्ने भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सुस्मित पोखरेलसँगको भेटपछि अध्यक्ष कान्डाले भूकम्पपछि पुनर्निर्माण गरिएका आधुनिक विज्ञान र प्रविधि प्रयोगशालायुक्त विद्यालयको अवलोकन गरे । श्रम बजारको मागअनुसार विद्यार्थीलाई दक्ष बनाउन अब विद्यालयहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सिकाइका पाइलट प्रोजेक्ट सुरु गरिने एडीबीले जनाएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको छलफलमा अध्यक्ष कान्डाले नेपालको व्यावसायिक वातावरण सुधार, लगानी परिचालन र आगामी सन् २०२५–२०२९ को लागि एडीबीको नयाँ 'कन्ट्री पार्टनरसिप रणनीति' बारे चर्चा गरे ।
अध्यक्ष कान्डाले नेपालको युवा नेतृत्व र आर्थिक सुधारप्रतिको बलियो जनादेशको प्रशंसा गर्दै भने, "नेपाल अहिले आर्थिक रूपान्तरणको निर्णायक मोडमा छ । डिजिटल रूपान्तरण, दिगो पूर्वाधार र रोजगारी सिर्जनामा एडीबी नेपालको सबैभन्दा ठुलो विकास साझेदारका रूपमा निरन्तर साथ रहनेछ ।"
एडीबीले यस वर्ष मात्रै ६६ करोड डलर बराबरको ऋण सहायता उपलब्ध गराउने बताइएको छ । यो रकम रोजगारी सिर्जना, निजी क्षेत्रको विकास र जलवायु उत्थानशील पूर्वाधार हुने बताइएको छ ।
पछिल्लो अध्यावधिक: असार २३, २०८३ २१:३७
