पाकिस्तानले नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा इन्जिनियरिङ पढाउँदै, यसरी दिनुहाेस् आवेदन
असार २४, २०८३ ७:२२
काठमाडौं । पाकिस्तान सरकारले नेपाली विद्यार्थीहरूलाई इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ । ‘पाकिस्तान प्राविधिक सहायता कार्यक्रम’ (पीटीएपी) अन्तर्गत सन् २०२६/२७ को सत्रका लागि पाकिस्तानका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउन लागेको हो ।
शिक्षा तथा खेलकुद मन्त्रालयले एक सूचना जारी गर्दै सिभिल, कम्प्युटर र इलेक्ट्रिक इन्जिनियरिङ गरेर ६ सिटमा छात्रवृत्ति उपलब्ध गराउन लागेको जनाएको हो । यसमा प्रत्येक विषयमा एक जना महिलासहित दुई/दुई जनाका दरले छात्रवृत्तिको लागि आवेदन माग गरिएको हो ।
यो छात्रवृत्तिका लागि आवेदन दिन विद्यार्थीले कक्षा १२ वा सो सरहको परीक्षामा न्यूनतम ६० प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्नेछ । साथै, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकले २०८२ सालमा सञ्चालन गरेको स्नातक तहको प्रवेश परीक्षाको योग्यताक्रममा नाम समावेश भएका विद्यार्थीहरूले मात्र आवेदन दिन पाउने उल्लेख गरिएको छ । आइओई प्रवेश परीक्षाकै योग्यता क्रमलाई आधार बनाइने मन्त्रालयले जनाएको छ ।
इच्छुक विद्यार्थीहरूले २८ असार आइतबार बेलुकी ५ बजेभित्र अनलाइन मार्फत आवेदन दिन सक्नेछन् । यसका लागि गुगल लिंक मार्फत विद्यार्थीले आफ्नो विवरण भर्न सक्नेछन् । आवेदनका साथमा कक्षा १२ को ट्रान्सक्रिप्ट, नेपाली नागरिकताको प्रमाणपत्र र आईओई पुल्चोकको इन्ट्रान्स स्कोर कार्ड पेस गर्नुपर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असार २४, २०८३ ७:२२
