close

सामाजिक सञ्जालमार्फत अश्लील गालीगलौज गरेपछि जुवाइँ विरुद्ध ससुराले हाले साइबर अपराधको मुद्दा

टेकपाना टेकपाना

असार २१, २०८३ १७:१७

सामाजिक सञ्जालमार्फत अश्लील गालीगलौज गरेपछि जुवाइँ विरुद्ध ससुराले हाले साइबर अपराधको मुद्दा

काठमाडौं । एक जना ससुराले आफ्नै जुवाइँविरुद्ध कास्की जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर गरेका छन् । जुवाइँले सामाजिक सञ्जाल फेसबुक र टिकटकको दुरुपयोग गरी आफ्नै ससुरा, सासू, श्रीमती र अन्य आफन्तको चरित्रहत्या र अश्लील गालीगलौज गरेको आरोप छ ।

जुवाइँ भने हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको बताइएको छ । कास्की, गैह्रापाटनका महेन्द्रप्रसाद सुवेदी (नाम परिवर्तन) ले आफ्नै जुवाइँ कास्की माछापुच्छ्रे-३ घाचोक घर भएका ३९ वर्षीय प्रतिवादी विष्णुप्रसाद दाहाल विरुद्ध कास्की जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर गराएका हुन् ।

जाहेरी अनुसार, सुवेदीले आफ्नी छोरी र नातिको सम्पूर्ण रेखदेख तथा आवश्यक खर्च आफैंले बेहोर्दै आएका छन् । जुवाइँ विष्णुप्रसाद दाहाल वैदेशिक रोजगारीका लागि मलेसिया जाँदा लागेको सम्पूर्ण खर्च समेत ससुरा सुवेदीले नै व्यवस्था गरिदिएका थिए । तर, मलेसिया पुगेपछि दाहालले उक्त रकम फिर्ता नगरेको र विगत चार वर्षदेखि मलेसियामै रहँदै आएको कागजातमा उल्लेख छ ।

विगत चार महिनादेखि कुनै रिसइबीका कारण जुवाइँ विष्णुप्रसाद दाहालले ससुरा, सासू, आफ्नै श्रीमती (जेठी छोरी), जापानमा रहेकी कान्छी साली र उनको श्रीमान् (जुवाइँ) लगायतका आफन्तहरूलाई लक्षित गरी तारन्तार सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्ने कार्य गर्दै आएका थिए ।

सुरुमा ससुरा सुवेदीले जुवाइँको अश्लील गालीगलौज सहन नसकेर उनको फेसबुक आईडी ब्लक समेत गरेका थिए । तर, त्यसपछि प्रतिवादी दाहालले झन् नयाँ-नयाँ फेक आईडी खोलेर आफन्तहरूलाई गालीगलौज गर्ने, अश्लील भ्वाइस रेकर्डहरू पठाउने र सामाजिक सञ्जालमा राख्ने गर्न थाले । पछिल्लो समय उनले फेक फेसबुक आईडी र टिकटक आईडी बनाई सहन नसकिने अश्लील शब्दहरू प्रयोग गरेर झुटा कुराहरू बोल्दै भिडिओ र पोस्टहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोप छ ।

जुवाइँले सामाजिक सञ्जालमा गरेका ती अमर्यादित पोस्टहरूबारे आफन्त तथा इष्टमित्रले जानकारी दिएपछि ससुराले यसबारे थाहा पाएको बताएका छन् । कास्की जिल्ला अदालतमा सरकारी वकिल कार्यालयका तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता दुर्गा देवी शर्मा सुवेदीले दायर गरेको अभियोगपत्रमा प्रतिवादी विष्णुप्रसाद दाहालले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम निषेधित कसुर गरेको पुष्टि भएको उल्लेख छ ।

उक्त दफा अनुसार कसुर प्रमाणित भएमा प्रतिवादीलाई एक लाख रुपैयाँसम्म जरिबाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ । हाल प्रतिवादी विष्णुप्रसाद दाहाल फरार रहेकाले अदालतबाट म्याद जारी गरी कानुनी प्रक्रिया अगाडि बढाउन अनुरोध गरिएको छ ।

पछिल्लो अध्यावधिक: असार २१, २०८३ १७:३७