काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बनाउने क्रममा कतिपयको नाम, जन्ममिति, रक्त समूह वा ठेगानामा त्रुटि हुने गरेको गुनासो आइरहन्छ । विशेषगरी अनलाइन फारम भर्दा वा कार्यालयबाट विवरण प्रविष्ट गर्दा हुने यस्ता साना गल्तीले गर्दा धेरै सेवाग्राही अन्योल र चिन्तामा पर्ने गरेका छन् ।
यातायात व्यवस्था विभागका अनुसार लाइसेन्समा भएका यस्ता कुनै पनि त्रुटिहरूलाई निश्चित प्रक्रिया पूरा गरेर सच्याउन सकिन्छ । विभागका निर्देशक केशव खतिवडाले विवरण सच्याउने अवस्था र प्रक्रियाबारे स्पष्ट पारेका छन् ।
१. प्रणालीमा विवरण सच्याउने प्रक्रिया
यदि तपाईंको लाइसेन्समा विवरण गलत छ तर तपाईंलाई तत्कालै नयाँ भौतिक कार्ड चाहिएको छैन भने प्रणालीमा मात्र विवरण सच्याउन सकिन्छ । यसका लागि सेवाग्राहीले आफूले लाइसेन्स निकालेकै सम्बन्धित यातायात कार्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ । प्रणालीमा विवरण सच्याउन कुनै शुल्क लाग्दैन । निर्देशक खतिवडा भन्छन्, “सिस्टममा विवरण सच्याएको पैसा लाग्दैन, यो सेवा निःशुल्क हो । नेपाल सरकारले यसमा कुनै राजस्व दस्तुर तोकेको छैन ।”
२. कार्ड छापिसकेपछि नयाँ कार्ड निकाल्ने प्रक्रिया
यदि तपाईंको लाइसेन्सको स्मार्ट कार्ड छापिएर हातमा परिसकेको छ र सच्याइएको विवरणसहितकै नयाँ भौतिक कार्ड नै आवश्यक छ भने यसलाई प्रतिलिपि प्रक्रियाबाट अघि बढाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा भने सरकारले तोकेको प्रतिलिपि दस्तुर तिर्नुपर्ने हुन्छ । पहिलेकै गलत विवरण भएको कार्ड कार्यालयमा बुझाएर सच्याइएको नयाँ कार्ड लिन सकिन्छ ।
किन सच्याउने विवरण ?
लाइसेन्समा हुने सानो त्रुटिले पनि भविष्यमा नागरिक एपमा लाइसेन्स लिंक गर्न, ट्राफिक चेकिङका बेला पहिचान खुलाउन वा अन्य कानुनी प्रक्रियामा बाधा पुर्याउन सक्छ । विशेषगरी राहदानी वा नागरिकताको विवरणसँग लाइसेन्सको डाटा मेल नखाएमा सरकारी सेवा लिन कठिनाइ हुने भएकाले समयमै विवरण चुस्त राख्न विभागको सुझाव छ ।
कहाँ जाने र के कागजात चाहिन्छ ?
विवरण सच्याउनका लागि सेवाग्राहीले निम्न प्रक्रिया अपनाउनुपर्ने हुन्छ:
-
सम्बन्धित कार्यालय: लाइसेन्स जुन कार्यालयबाट जारी भएको हो, सोही कार्यालयमा पुग्नुपर्छ ।
-
आवश्यक कागजात: आफ्नो सक्कल नागरिकता वा राहदानी अनिवार्य रूपमा साथमा लैजानुपर्छ ।
-
निवदेन: कार्यालयमा पुगेर विवरण सच्याउनका लागि निवेदन दिनुपर्छ । सामान्य त्रुटि कार्यालयले नै सच्याउँछ भने जटिल प्राविधिक समस्या भए कार्यालयले विभागलाई पत्राचार गरेर सच्याउने व्यवस्था मिलाउँछ ।
मानवीय वा प्राविधिक कारणले हुनसक्ने यस्ता त्रुटिहरूलाई सच्याएर आफ्नो आधिकारिक विवरण सुरक्षित राख्न र कुनै समस्या भएमा तुरुन्त नजिकैको यातायात कार्यालयमा सम्पर्क गर्न विभागले आग्रह गरेको छ ।
पछिल्लो अध्यावधिक: असार २७, २०८३ २१:२४
