close

खुला प्रतिस्पर्धा नाम मात्रै ! प्रतिस्पर्धीको अन्तर्वार्ता नहुँदै प्राधिकरण अध्यक्षको नियुक्ति

टेकपाना टेकपाना

असार ३०, २०८३ १३:३९

खुला प्रतिस्पर्धा नाम मात्रै ! प्रतिस्पर्धीको अन्तर्वार्ता नहुँदै प्राधिकरण अध्यक्षको नियुक्ति

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको नयाँ अध्यक्ष नियुक्ति प्रक्रियामा खुला प्रतिस्पर्धाको धज्जी उडाउँदै गम्भीर चलखेल भएको तथ्य फेला परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देखावटी रूपमा प्रतिस्पर्धाको नाटक गरे पनि सबै प्रतिस्पर्धीको अन्तर्वार्ता नसकिँदै मन्त्रीपरिषद्‌बाट अध्यक्ष नियुक्तिको निर्णय गराइएको खुलेको हो ।

आईटी विज्ञ तथा नेपाल प्रहरीका पूर्व डीआईजी डा. राजिव सुब्बा समेत प्राधिकरण अध्यक्षको प्रतिस्पर्धामा बलिया दाबेदार मानिएका थिए । तर, सरकारले उनलाई १९ असारमै निर्वाचन आयुक्त पदमा सिफारिस गरेपछि उनी स्वतः यो प्रतिस्पर्धाबाट बाहिरिए । 

अचम्मको कुरा त के छ भने, सुब्बा बाहिरिएकै दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणको अध्यक्ष पदका लागि शर्टलिस्टमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको कार्यतालिका सार्वजनिक गर्‍यो । उक्त कार्यतालिकामा बुधबार, २४ असारका दिन दिउँसो २ः५० देखि ३ः४० बजेसम्मका लागि डा. सुब्बाको प्रस्तुतीकरण र अन्तर्वार्ता तय गरिएको थियो ।

सञ्चार मन्त्रालयले सार्वजनिक गरेको अन्तर्वार्ता कार्यतालिकाको स्क्रिनशट

डा. सुब्बा प्रतिस्पर्धाबाट अलग्गिएपछि रिक्त भएको समयमा अर्का उम्मेदवार सनाउल्लाह खानलाई बोलाइएको थियो । खानले टेकपानासँगको कुराकानीमा आफ्नो पालो निर्धारित समयभन्दा अघि आएको पुष्टि गरे । "मेरो अन्तर्वार्ता २ः५० मा सुरु भएर ५० मिनेटमा सकिएको हो," उनले भने । यसरी दिउँसो ३ः४० बजे खानको अन्तर्वार्ता सकिए पनि अझै एक जना उम्मेदवार सुशिलप्रसाद साहको पालो आउन बाँकी नै थियो । खानपछि सुरु भएको साहको अन्तर्वार्ता सकिँदा साँझको करिब ५ बजेको थियो ।

तर, अन्तर्वार्ता नसकिँदै नियुक्तिको निर्णयका लागि सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिना प्रधानमन्त्री कार्यालय कुदिसकेका थिए । अन्तिम दोस्रो उम्मेदवारको अन्तर्वार्ता सकिँदा नसकिँदै मन्त्री तिमिल्सिना प्राधिकरण अध्यक्ष नियुक्तिको प्रस्ताव बोकेर मन्त्रीपरिषद् बैठकमा पुगिसकेका थिए । मन्त्रालय स्रोतका अनुसार उक्त प्रस्तावमा अर्जुन घिमिरेसहित नेपाल टेलिकमका मधुसूदन दाहाल र थापाथली इन्जिनियरिङ क्याम्पसका जनार्दन भट्ट गरी तीन जनाको नाम समावेश थियो ।

 

मेटाडेटामा जे देखियो

प्रधानमन्त्री शाहको ह्वाट्सएप ग्रुपमा दिइएको आधिकारिक जानकारी अनुसार २४ असार अपराह्न ४ः१२ बजे मन्त्रीपरिषद्को बैठक सुरु भइसकेको थियो । ग्रुपमा उक्त बैठकको दुई वटा तस्विर सार्वजनिक गरिएका छन्, जसमा सञ्चारमन्त्री विक्रम तिमिल्सिना प्रस्ट देखिन्थे । टेकपानाले उक्त तस्विरको प्राविधिक विश्लेषण (Metadata Analysis) गर्दा सो तस्विर मन्त्रीपरिषद् बैठक सुरु हुनुभन्दा अघि अर्थात् सोही दिन ४ः०८ बजेको समयमा खिचेको प्रमाणित भएको छ ।

मन्त्रीपरिषद् बैठकको तस्विर र क्यानोन EOS R6 क्यामेराबाट खिचिएको उक्त तस्विरको मेटाडेटा विवरण

जब कि, परिवर्तित कार्यतालिका अनुसार अन्तिम अर्थात् शर्टलिस्टको नवौं नम्बरका उम्मेदवार सुशिलप्रसाद साहको अन्तर्वार्ताको पालो दिउँसो ४ः०० बजेपछि मात्रै सुरु भएको थियो र त्यो करिब ५ः०० बजेसम्म जारी रह्यो । यसको अर्थ, एक जना प्रतिस्पर्धीको योग्यता र कार्य योजनाको मूल्याङ्कन नै नसकिई, मन्त्री तिमिल्सिनाले पहिले नै तयार पारिएको प्रस्ताव क्याबिनेटमा लगिसकेका थिए ।

अझ रोचक कुरा त के छ भने, सोही दिन अपराह्न ४ः४३ बजे सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल मन्त्रीपरिषद्का निर्णयहरू सार्वजनिक गर्न मिडिया सामु हाजिर भइसकेका थिए । तर, उनले त्यस क्रममा दूरसञ्चार प्राधिकरण अध्यक्ष नियुक्तिको निर्णय भने सार्वजनिक गरेनन् । उता मन्त्रीपरिषद्‌को बैठक सकेर निर्णय सार्वजनिक भइसक्दा यता मन्त्रालयमा भने अन्तर्वार्ता चलिरहेकै थियो । 

 

गुपचुप नियुक्ति र सोमबार शपथ

नियुक्ति प्रक्रिया कतिसम्म अपारदर्शी र शङ्कास्पद थियो भन्ने कुरा सोमबार मन्त्रालयमा आयोजित औपचारिक शपथ ग्रहण कार्यक्रमले पनि देखाउँछ । मन्त्रालयले सोमबार घिमिरेको शपथ ग्रहण कार्यक्रम आयोजना गरेपछि मात्रै मिडियालाई अर्जुन घिमिरे प्राधिकरण अध्यक्षमा नियुक्त भएको जानकारी दिएको थियो ।

शपथ ग्रहण लगत्तै मन्त्रालयले जारी गरेको प्रेस नोटमा २४ असारकै मन्त्रीपरिषद् बैठकबाट अध्यक्ष नियुक्तिको निर्णय भएको उल्लेख छ । यसले के पुष्टि गर्छ भने, निर्णय २४ असारमै भइसकेको भए पनि प्रक्रियागत कमजोरी र कानुनको धज्जी उडाएको पोल खुल्ने डरले मन्त्रालयले यसलाई जानाजान गुपचुप राखेको थियो ।

 

योग्य दाबेदार शर्टलिस्टबाटै आउट

यो नियुक्ति प्रक्रियाको बेथिति अन्तर्वार्ताको दिन मात्र होइन, सुरुदेखि नै योजनाबद्ध रूपमा अघि बढाइएको देखिन्छ । दूरसञ्चार क्षेत्रमा लामो अनुभव भएका र नेपाल टेलिकमबाट अवकाश प्राप्त नरेन्द्रमानसिंह महर्जन, बुद्धिप्रसाद आचार्य (पूर्व प्रबन्ध निर्देशक) तथा नियामक प्राधिकरणमै लामो अनुभव बटुलेका प्राविधिक पृष्ठभूमिका (पूर्व निर्देशक) अम्बर स्थापित जस्ता उम्मेदवारलाई शर्टलिस्टमा समेत पारिएन । स्थापित हालसालै मात्र प्राधिकरणबाट अवकाश प्राप्त कर्मचारी हुन् भने हाल अध्यक्ष नियुक्त घिमिरे प्रशासन तर्फका गैरप्राविधिक कर्मचारी हुन् । यस क्षेत्रका विज्ञहरूले यसलाई अस्वाभाविक र चलखेल प्रेरित हुन सक्ने आशङ्का गरेका छन् ।

यसअघि ७ जेठमै टेकपानाले सञ्चार मन्त्रालयले जारी गरेको 'दिग्दर्शन' को दफा ६ मा राखिएको मापदण्ड नियमावली विपरीत रहेको विषय उजागर गरेको थियो । सरकारी कर्मचारीको हकमा राजपत्राङ्कित प्रथम श्रेणी, एघारौँ तह वा सोभन्दा माथिल्लो पदमै १० वर्ष काम गरेको हुनुपर्ने प्रावधान राखिएको थियो, जसले गर्दा दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमका बहालवाला सक्षम निर्देशक वा कर्मचारीहरू स्वतः अयोग्य देखिन्थे । 

सार्वजनिक वृत्तमा आलोचना भएपछि ३२ जना सबै न्यूनतम योग्यता पुगेका आवेदकको रूपमा सार्वजनिक गरिएको थियो । तर विवादित नियुक्ति प्रक्रियाले प्राधिकरण अध्यक्ष पदका लागि घिमिरे पहिले नै ‘फिक्स’ गरिएको हुनसक्ने आशङ्कालाई बल पुर्‍याएको छ । 

पछिल्लो अध्यावधिक: असार ३०, २०८३ १३:३९