अब राष्ट्रिय परिचयपत्र नभएका पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्न मौका दिइने
असार ३२, २०८३ ८:५०
काठमाडौं । अब राष्ट्रिय परिचयपत्र नभएका पुराना बैंक खातामा कारोबार गर्न नपाइने भएको छ । बैंक खाताहरूलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउन तथा पहिचान प्रणालीलाई एकीकृत गर्न भन्दै राष्ट्र बैंकले यस्तो कदम चालेको हो ।
यसअघि बैंकहरूले १ माघ २०८१ देखि नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिसकेका थिए । अब पुराना खाताहरूमा पनि यसलाई अनिवार्य गर्न लागिएको हो ।
यसका लागि नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूमा खाता रहेका सबै नेपाली नागरिकहरूका लागि राष्ट्रिय परिचयपत्र (NID) सम्बन्धी व्यवस्थालाई थप कडा बनाएको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०८२ मा परिमार्जन गर्दै आगामी २०८३ असोज मसान्तभित्र आ-आफ्नो बैंक खातामा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक (Update) गरिसक्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको पछिल्लो परिपत्र अनुसार अब ग्राहकहरूले बैंक नै नगई डिजिटल माध्यमबाटै सजिलै आफ्नो विवरण अद्यावधिक गर्न सक्ने व्यवस्था मिलाउनुपर्नेछ । नयाँ व्यवस्था अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना खातावालाहरूसँग मोबाइल एप वा अन्य उपयुक्त डिजिटल माध्यमबाट राष्ट्रिय परिचयपत्र भए/नभएको स्वघोषणा (Self-declaration) लिनुपर्नेछ ।
यसका साथै, राष्ट्रिय परिचयपत्र लिइसकेका नेपाली नागरिकहरूको हकमा बैंकहरूले आगामी २०८३ असोज मसान्तभित्र मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र नम्बर लिएर विवरण अद्यावधिक गरिसक्नु पर्ने व्यवस्था गरिएको छ ।
अहिलेसम्म राष्ट्रिय परिचयपत्र लिन नसकेका नेपाली नागरिकहरूको हकमा भने खाता बन्द भइहाल्ने छैन । तर, बैंकहरूले त्यस्ता ग्राहकहरूलाई राष्ट्रिय परिचयपत्र लिएर ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्नका लागि मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक ६-६ महिनामा जानकारी गराउनु पर्ने व्यवस्था मिलाउनुपर्नेछ ।
विदेशमा बस्ने नेपाली र अशक्तलाई विशेष छुट
राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशिकामा केही विशेष परिस्थिति र क्षेत्रका नागरिकहरूलाई भने राष्ट्रिय परिचयपत्र बुझाउने नियममा विशेष सहुलियत दिएको छ । विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकहरूले अनलाइनमार्फत खाता खोल्दा राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक कागजात पेस गरेर खाता खोल्न सक्नेछन् । तर, उनीहरू नेपाल फर्किएको ३५ दिनभित्र अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्रको विवरण बैंकमा बुझाई खाता अद्यावधिक गर्नुपर्नेछ ।
त्यस्तै आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, पूर्ण रूपमा अशक्त तथा असहाय नागरिकहरूको हकमा राष्ट्रिय परिचयपत्र बिना नै अन्य आवश्यक कागजातका आधारमा खाता खोल्न र कारोबार गर्न सकिनेछ । यसका साथै १६ वर्षभन्दा कम उमेरका बालबालिकाको हकमा पनि यो नियम लागु हुनेछ । अर्थात् उनीहरूले राष्ट्रिय परिचयपत्र बिना नै बैंक खाता सञ्चालन गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: असार ३२, २०८३ ८:५०
