काठमाडौं । नेपाल सरकारको आधिकारिक वेब पोर्टल (nepal.gov.np) अवरुद्ध भएको छ । सन् २०१७ यता हालैमात्र सम्पूर्ण इन्टरफेस परिवर्तन गरिएको उक्त वेबसाइट डाउन भएको हो ।
गत मङ्गलबार टेकपानाले सरकारको आधिकारिक वेबपोर्टल नयाँ स्वरूपमा आएको सम्बन्धी समाचार प्रकाशन गरेको थियो । त्यसलगत्तै अवरुद्ध हुन पुगेको यो वेबसाइट अहिलेसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।
हाल nepal.gov.np ब्राउज गर्दा ‘दिस साइट कान्ट बी रिच्ड’ (This site can’t be reached) भन्ने सन्देश देखिन्छ ।

यद्यपि, सरकारले नयाँ स्वरूपमा यो वेबसाइट सञ्चालनमा ल्याएको बारे औपचारिक रूपमा कुनै जानकारी दिएको थिएन । वेबसाइटमा समेत यो ‘बेटा भर्सन’ अर्थात् परीक्षणकै चरणमा रहेको पोर्टल भनी उल्लेख गरिएको थियो ।
उक्त वेबसाइटमा सरकारले प्रदान गर्दै आएका विभिन्न सेवाका ‘क्विक लिङ्क’ हरू राखिएका थिए ।
साथै, विभिन्न १८ वटा मन्त्रालयका वेबसाइटमा जान सकिने विकल्प र मन्त्रिपरिषद्का सदस्यको विवरण समेत समावेश गरिएको थियो ।
त्यसैगरी कुनै पनि सरकारी सेवा वा निकायका बारेमा जानकारी लिँदा एआईले नै सारांश तयार पारिदिने फिचर पनि यसमा उपलब्ध थियो । तर, हाल यो वेबसाइट पूर्ण रूपमा अवरुद्ध छ र यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालसम्म कुनै जानकारी दिएको छैन ।
पछिल्लो अध्यावधिक: असार २७, २०८३ १२:५३
