सडक नियम मिच्नेको भिडिओ पठाउनुस्, हामी तत्काल कारबाही गर्छौं: एसएसपी काफ्ले
असार १९, २०८३ ६:९
काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश प्रसाद काफ्लेले सडक नियम उल्लंघन गर्ने सवारी साधनको भिडिओ खिचेर पठाउन आम नागरिकलाई आह्वान गरेका छन् । सर्वसाधारणले खिचेका भिडिओ प्रमाणका आधारमा प्रहरीले तत्कालै दोषीलाई कानुनी दायरामा ल्याउने उनले बताएका छन् ।
टेकपानासँगको कुराकानीमा एसएसपी काफ्लेले नागरिकको सहयोगबाट ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सकिने बताए । उनले भने, “आम नागरिकलाई हाम्रो आग्रह छ- कसैले सडकको नियम उल्लंघन गरेर सवारी साधन चलाएको छ भने त्यस्तो भिडिओ खिचेर हामीलाई पठाउनुस्, हामी तत्काल कारबाही गर्छौं ।”
पछिल्लो समय सामाजिक सञ्जालमा प्राप्त हुने भिडिओहरूका आधारमा धेरै चालकहरूलाई कारबाही गरिसकिएको उनले जानकारी दिए ।
प्रविधिमैत्री ‘फेसलेस’ ट्राफिक व्यवस्थापन
एसएसपी काफ्लेले अबको ट्राफिक व्यवस्थापन प्रविधिमा आधारित हुने र सडकमा प्रहरीको भौतिक उपस्थिति कम गर्दै लगिने रणनीति रहेको बताए । “हाम्रो अन्त्यतोगत्वा उद्देश्य भनेको सिस्टमवाइज रूपले नै काम गर्ने हिसाबले भौतिक रूपमा ट्राफिक प्रहरी सडकमा नराख्ने नै हो,” उनले भने । सीसीटिभी क्यामरा र सफ्टवेयरमार्फत निगरानी गरी नियम मिच्नेलाई डिजिटल माध्यमबाटै कारबाही गर्ने 'फेसलेस ट्राफिकिङ' को अवधारणामा प्रहरी अघि बढेको उनले बताए ।
कालो सिसा हटाउने अभियान र कानुनको कार्यान्वयन
भीआईपी सवारी साधनहरूबाट कालो सिसा हटाउने अभियानबारे चर्चा गर्दै उनले यो कानुनको पालना मात्रै भएको स्पष्ट पारे । उनले भने, “यो पुरानो भइरहेको कानुनलाई कार्यान्वयन गरिएको अवस्था हो । कालो सिसा प्रयोग गरेर विभिन्न प्रकृतिका विकृतिहरू मौलाएको जनगुनासोका आधारमा हामीले यो कदम चालेका हौँ ।” कानुन सबैका लागि बराबर हुने सन्देश दिन गृहमन्त्री र गृहसचिवकै गाडीबाट यो कार्य सुरु गरिएको उनले उल्लेख गरे ।
अनुशासनको संस्कृति र सचेतना
सडकमा अनुशासनको संस्कृति विकास गर्न रातिको समयमा पनि ट्राफिक लाइटहरू सञ्चालन गरिने उनले बताए । एसएसपी काफ्लेले भने, “सडकमा जोसुकै बेला पनि दुर्घटना हुन सक्छ । त्यसैले लाइटमा रोकिने र सिग्नलमा हिँड्ने कल्चरको विकास होस् भन्ने हाम्रो चाहना हो ।”
हाल ट्राफिक प्रहरीले ‘सडक सुरक्षा र सचेतना अभियान’ अन्तर्गत विभिन्न विद्यालय, कलेज र संघ-संस्थाहरूमा पुगेर जनचेतना फैलाउने कार्यलाई पनि तीव्रता दिइरहेको छ । प्रविधिको अधिकतम प्रयोग गरी ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षा र प्रभावकारी सडक व्यवस्थापन दुवैलाई सँगसँगै लैजाने उनको प्रतिवद्धता छ ।
पछिल्लो अध्यावधिक: असार १९, २०८३ ६:९
