close

युवतीमाथि निकृष्ट टिप्पणी गर्ने व्यक्ति हाम्रो समूहको होइनन्: एमआरआर

टेकपाना टेकपाना

साउन ३, २०८३ ११:४१

युवतीमाथि निकृष्ट टिप्पणी गर्ने व्यक्ति हाम्रो समूहको होइनन्: एमआरआर

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भएको एक भिडिओमा देखिएका व्यक्ति आफ्नो समूहको सदस्य नभएको फेसबुक ग्रुप ‘मेन्स रुम रिलोडेड’ (एमआरआर) ले स्पष्ट पारेको छ । केही दिनयता सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा एक युवतीमाथि निकृष्ट टिप्पणी गर्ने पुरुष र ती युवतीबिचको संवादको भिडिओ चर्चामा छ । 

भिडिओमा ती युवतीले आफूमाथि अभद्र टिप्पणी गर्ने युवकलाई प्रत्यक्ष भेटेरै प्रतिवाद गरेकी छिन् भने सम्बन्धित युवकले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका छन् । यो भिडिओ भाइरल भएसँगै ती युवक चर्चित फेसबुक ग्रुप ‘एमआरआर’ को सदस्य रहेको र बुटवलमा हुने एमआरआरको भजन कार्यक्रमका अगुवा भएको भन्दै सामाजिक सञ्जालमा विभिन्न दाबी गरिएका थिए ।

उक्त आरोपहरूको खण्डन गर्दै एमआरआरले सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गरी ती व्यक्तिको आफ्नो समूहमा कुनै आबद्धता नरहेको स्पष्ट पारेको छ ।

एमआरआरले जारी गरेको स्पष्टीकरणमा भनिएको छ, “एमआरआर स्पष्ट पार्न चाहन्छ कि सो व्यक्ति एमआरआर का सदस्य होइनन् र कुनै पनि स्थानमा भइरहेका एमआरआर भजनका अगुवा पनि होइनन् ।”

आफूलाई सकारात्मक सामाजिक कार्यका माध्यमबाट अगाडि बढिरहेको फेसबुकको एउटा अनौपचारिक समूहका रूपमा चिनाउँदै एमआरआरले सत्कर्मलाई प्रोत्साहन र कुकर्मको प्रतिवाद गर्ने जनाएको छ । साथै, नारी सुरक्षा र लैङ्गिक समानतामा समूह सधैँ प्रतिबद्ध रहेको वक्तव्यमा उल्लेख छ ।

आफ्नो समूह कुनै पनि जात, धर्म, लिङ्ग, राजनीतिक विचारधारा वा दलको पक्षपोषणमा नरहेको स्पष्ट पार्दै एमआरआरले भनेको छ, “भ्रातृत्वको मूलमन्त्र बोकेर समाजप्रतिको आफ्नो दायित्व बोध गर्दै अघि बढिरहेको समूहलाई नजानेर आरोप लगाउनेले कृपया धारणा बनाउनु अघि विस्तृत रूपमा बुझ्ने प्रयास गर्नुहोला । मानेर होइन, जानेर धारणा बनाउनु उपयुक्त हुन्छ' ।”

एमआरआरले आफ्नो भजन अभियान कुनै राजनीतिक दृष्टिकोण वा मुद्दाबाट निर्देशित नभई भगवान् भक्तिको स्वस्फूर्त सत्सङ्ग मात्र भएको स्पष्ट पारेको छ । साथै, यस कार्यमा कुनै विचलन आएमा तत्काल सुधार र नियमन गर्न आफूहरू प्रतिबद्ध रहेको समेत समूहले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: साउन ३, २०८३ ११:४२