ह्वाट्सएपमा उपहारको पासोः संखुवासभाकी महिलाले १८ लाख गुमाइन्, नाली सफा गर्ने मजदुर हिरासतमा
साउन २, २०८३ ११:४३
काठमाडौं । ह्वाट्सएपमा एउटा सामान्य मेसेज आयो- 'हेलो' ! त्यसपछि बेलायतबाट सुनका गहना, आईफोन र बहुमूल्य उपहार पठाइदिएको भन्दै नक्कली तस्बिर । संखुवासभाकी शर्मिला अधिकारी (नाम परिवर्तन) लाई त्यसले यसरी भ्रममा पार्यो कि, उनले आफ्नो वर्षौंदेखिको मिहिनेतको झन्डै १९ लाख रुपैयाँ गुमाउनु पर्यो । तर, यो अनलाइन ठगी काण्डको भित्री पाटो खोतल्दै जाँदा कथा शर्मिलाको आर्थिक क्षतिमा मात्र सीमित छैन ।
संखुवासभा जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग-पत्रले नेपालमा तीव्र रूपमा फैलिरहेको साइबर अपराधको एउटा यस्तो डरलाग्दो तस्बिर उजागर गरेको छ, जहाँ अन्तर्राष्ट्रिय गिरोहले नेपालका दुरदराजका विपन्न र श्रमजीवी नागरिकहरूलाई 'मनी म्युल' (बैंक खाता भाडामा दिने माध्यम) का रूपमा प्रयोग गरिरहेका छन् ।
यो घटनाको सुरुवात ११ पुस २०८१ मा भएको थियो । पीडित अधिकारीले प्रयोग गर्ने मोबाइल नम्बरमा अचानक बेलायतको कोड (+४४७७०२८१९०२०) भएको ह्वाट्सएप नम्बरबाट एउटा मेसेज आयो । आफूलाई बेलायती नागरिक 'जेम्स थम्पसन' बताउने सो व्यक्तिले शर्मिलाको नाममा लन्डनबाट एउटा बहुमूल्य पार्सल पठाइदिएको दाबी गर्यो । विश्वास दिलाउनका लागि उसले आईफोन, सुनका गहना, ब्राण्डेड कपडा, जुत्ता र घडीहरू प्याक गरिएका तस्बिरहरू पठायो ।
शर्मिला तुरुन्तै प्रलोभनमा परिहालिन् । तर, केही दिनमै 'जेम्स थम्पसन'ले अर्को जाल बुन्यो । उसले भन्यो- “तपाईंको पार्सल नेपालको एयरपोर्ट भन्सारमा आइपुगेको छ, तर भन्सार छुटाउन र डेलिभरी चार्जका लागि केही रकम बुझाउनुपर्ने भयो ।”
पार्सल पाउने आशमा शर्मिलाले पहिलो पटक आफ्नो गरिमा विकास बैंकको खाताबाट अजयप्रसाद यादवको नाममा रहेको सिटिजन्स बैंकको खातामा ४५,००० रुपैयाँ जम्मा गरिन् । तर, खेल यतिमा सकिएन । गिरोहले कहिले 'एयरपोर्ट प्रहरीले सामान समात्यो' भन्दै, कहिले पार्सल भित्र सुन र ‘चेक फेला परेकाले पुलिसले पक्राउ गर्ने’ डर देखाउँदै पटक-पटक गरी शर्मिलाबाट कुल १८ लाख ७३ हजार ५०० रुपैयाँ विभिन्न बैंक खाताहरूमा जम्मा गर्न लगायो । अन्ततः आफू ठगिएको महसुस गरेपछि उनले २ साउन २०८२ मा इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभामा जाहेरी दर्ता गराइन् ।
विराटनगरका नाला सफा गर्ने मजदुर ‘मुख्य प्रतिवादी’ ?
प्रहरीले जब ठगीको पैसा जम्मा भएका बैंक खाताहरूको अनुसन्धान सुरु गर्यो, तब एउटा डरलाग्दो तथ्य बाहिर आयो । शर्मिलालाई ठग्ने मुख्य डिजिटल मास्टरमाइन्ड अदृश्य ह्वाट्सएप नम्बरको पछाडि लुकेको थियो । तर नेपालमा सो रकम बुझ्ने खातावालहरू भने सोझा र विपन्न नागरिकहरू थिए ।
तीमध्येका एक हुन्- प्रतिवादी किरणकुमार रिषिदेव । २३ वर्षका किरण सुनसरीको पूर्वी कुशाहाका स्थायी बासिन्दा हुन् । जो विराटनगरमा दैनिक ज्यालादारीमा नाला सफा गर्ने काम गर्थे । प्रहरी हिरासतमा रहेका किरणको बयानले अनलाइन ठगहरूले कसरी विपन्न वर्गको पहिचान चोरी (Identity Theft) गर्छन् भन्ने स्पष्ट पारेको छ ।
किरणले बयानमा भनेका छन्:
“म दैनिक ज्यालादारीको काम गरी गुजारा चलाउँथें । करिब डेढ वर्षअघि काम खोज्ने क्रममा म विराटनगरको कञ्चनबारी नजिकै सडक छेउमा बसिरहेको थिएँ । त्यहाँ मोटरसाइकलमा दुई जना मधेशीमूलका अपरिचित मानिसहरू आए र काम दिने बहानामा मलाई सहिद मैदान नजिकै लगे । दिनभरि नाला सफा गर्ने काम लगाएपछि उनीहरूले ज्याला दिनुको साटो अर्को काम दिने प्रलोभन देखाएर मेरो नागरिकता मागे । भोलिपल्ट सेन्ट्रल मल अगाडि बोलाएर उनीहरूले मलाई प्रभु बैंकमा लगे र मेरो नाममा खाता खोलिदिए । तर, मलाई सो खाता सञ्चालन गर्न दिइएन र मेरो नागरिकता बोकेर उनीहरू फरार भए ।”
प्रहरी अनुसन्धानमा के देखियो भने, नाला सफा गर्ने तिनै गरिब मजदुर किरणकुमार रिषिदेवको नाममा खोलिएको प्रभु बैंकको खातामा शर्मिलाले पठाएको ठगीको रकममध्ये ५ लाख ५१ हजार रुपैयाँ जम्मा भएको थियो र सो रकम तुरुन्तै अन्य खाताहरूमा सारिएको थियो ।
हराएको नागरिकता र ६ वटा बैंकमा 'नक्कली' खाता
अर्का प्रतिवादी हुन्, पर्साका २३ वर्षीय अजयप्रसाद यादव । उनको बयान झन् रोचक र विचारणीय छ । अजयका अनुसार २०७८ साल मंसिरमा तालिमका लागि राजविराज जाँदा उनको सक्कल नागरिकता हराएको थियो, जसको प्रतिलिपि उनले १३ माघ २०७८ मा जिल्ला प्रशासन कार्यालय पर्साबाट निकालेका थिए ।
अजयको दाबी छ कि उनको हराएको सोही नागरिकताको दुरुपयोग गरेर अज्ञात व्यक्तिहरूले सिटिजन्स बैंक, गरिमा विकास बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, कामना सेवा विकास बैंक र सानिमा बैंक लगायतका वित्तीय संस्थाहरूमा अनधिकृत रूपमा खाताहरू खोलेर ठगी धन्दा चलाए ।
तर, प्रहरी अनुसन्धान र बैंकहरूबाट प्राप्त ग्राहक पहिचान (केवाईसी) विवरणले अजयको दाबीलाई भने पूर्ण रूपमा समर्थन गर्दैन । बैंक खाता खोल्दा बुझाइएको फोटो, ल्याप्चे र डिजिटल विवरणहरू अजयको वास्तविक पहिचानसँग मेल खाएका छन् । उनको नाममा रहेका विभिन्न बैंक खाताहरूबाट मात्रै ६ लाख ३७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको देखिएको छ ।
डिजिटल ठगीको वित्तीय सञ्जाल
प्रहरीले सङ्कलन गरेका बैंक स्टेटमेन्ट र अनुसन्धान प्रतिवेदन अनुसार, शर्मिलाको गरिमा विकास बैंकको खाताबाट कुल १८ लाख ७३ हजार ५०० रुपैयाँ विभिन्न प्रतिवादीहरूको नाममा रहेका खाताहरूमा बाँडफाँड गरी जम्मा गरिएको देखिन्छ ।
|
क्र.सं. |
खातावाल प्रतिवादीको नाम |
बैंकको नाम |
जम्मा भएको रकम (नेपाली रुपैयाँ) |
अवस्था |
|
१ |
किरण कुमार रिषिदेव |
प्रभु बैंक |
५,५१,०००/- |
पक्राउ |
|
२ |
अजय प्रसाद यादव |
सांग्रिला डेभलपमेन्ट बैंक लगायत |
४,८१,०००/- (सांग्रिलामा मात्र) |
पक्राउ (बिरामी भई उपचारत) |
|
३ |
श्याम कुमार साह |
मुक्तिनाथ विकास बैंक |
२,५५,०००/- |
फरार |
|
४ |
प्रमोद मुखिया |
कुमारी बैंक |
१,९७,५००/- |
फरार |
|
५ |
पवन कुमार यादव |
नबिल बैंक |
१,९०,०००/- |
फरार |
|
६ |
अजय प्रसाद यादव |
गरिमा विकास बैंक |
७१,५००/- |
पक्राउ |
|
७ |
अजय प्रसाद यादव |
सिटिजन्स बैंक |
४५,०००/- |
पक्राउ |
|
८ |
संजिव उराव |
सिद्धार्थ बैंक |
४३,०००/- |
फरार |
|
९ |
अजय प्रसाद यादव |
ज्योति विकास बैंक |
४०,०००/- |
पक्राउ |
(यस बाहेक फरार रहेका प्रतिवादीहरू रामा मुखिया र सम्मान राईको खातामा समेत रकम ट्रान्सफर भएको अनुसन्धानबाट खुलेको छ ।)
सरकारी वकिलको मागदाबी
जिल्ला सरकारी वकिल कार्यालय संखुवासभाका जिल्ला न्यायाधिवक्ता भोलनाथ निरौलाद्वारा दायर गरिएको अभियोग-पत्रमा पक्राउ परेका किरणकुमार रिषिदेव, अजयप्रसाद यादव तथा फरार रहेका संजिव उराव, प्रमोद मुखिया, श्याम कुमार साह, पवन कुमार यादव, रामा मुखिया र सम्मान राई विरुद्ध कडा कारबाहीको मागदाबी गरिएको छ ।
प्रतिवादीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिम ठगीको कसुर गरेको अभियोग लगाइएको छ। उक्त कसूर प्रमाणित भएमा: दफा २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम कसुरदारलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । साथै, दफा २५४ बमोजिम पीडित शर्मिला अधिकारीलाई परेको आर्थिक हानी-नोक्सानी बापतको बिगो रकम १८ लाख ७३ हजार ५०० रुपैयाँ प्रतिवादीहरूबाटै असुलउपर गरी क्षतिपूर्ति भराउन माग गरिएको छ ।
यसका साथै, पीडितलाई थप राहतका लागि अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन समेत अदालतसमक्ष माग गरिएको छ ।
‘मनी म्युल’ को पासो
यो घटनाले नेपालको बैंकिङ र साइबर सुरक्षामा रहेको गम्भीर कमजोरीलाई पनि पुनः सतहमा ल्याएको छ । अन्तर्राष्ट्रिय ठगहरूले सोझै आफ्नो पहिचान खुलाएर नेपाली बैंकहरूमा कारोबार गर्न नसक्ने हुँदा उनीहरूले नेपालकै स्थानीय विपन्न, बेरोजगार वा सडकमा श्रम गर्ने नागरिकहरूलाई निशाना बनाउँछन् ।
थोरै पैसाको लोभ देखाएर वा रोजगारीको बहानामा नागरिकता र औंठाछाप दुरुपयोग गरी खोलिएका यस्ता खाताहरूलाई बैंकिङ भाषामा 'मनी म्युल' भनिन्छ । जब ठगीको पैसा खातामा आउँछ, डिजिटल सञ्जालमार्फत त्यसलाई सेकेन्डभरमै अन्यत्र सारिन्छ वा ओभर-द-काउन्टर (OTC) र एटीएममार्फत निकालिन्छ । अन्ततः मुख्य अपराधी सुरक्षित रहन्छ भने बैंक खाता र नागरिकता दिने वास्तविक मजदुर वा सोझा नागरिक प्रहरीको फन्दामा पर्छन् ।
अब के हुन्छ ?
प्रहरीले घटनामा प्रयोग भएका दुई थान मोबाइल फोन बरामद गरी परीक्षणका लागि नेपाल प्रहरी प्रधान कार्यालय, डिजिटल फरेन्सिक ल्याब काठमाडौं पठाएको छ । उक्त ल्याबको फरेन्सिक रिपोर्ट आएपछि यो ठगीमा प्रयोग भएका डिजिटल प्रमाणहरू थप बलियो हुने सरकारी वकिलको दाबी छ ।
पक्राउ परेका प्रतिवादीहरूमध्ये अजयप्रसाद यादव हाल बिरामी भई भारतमा उपचार गराइरहेको भनिए पनि उनी लगायत फरार रहेका अन्य ६ जना प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन म्याद जारी गर्ने प्रक्रिया अघि बढेको छ ।
यो मुद्दा संखुवासभा जिल्ला अदालतमा विचाराधीन छ । अदालतको अन्तिम फैसलाले नाला सफा गर्ने मजदुर किरणकुमार रिषिदेव साँच्चै अपराधी हुन् कि पहिचान चोरीका निर्दोष सिकार मात्र हुन् भन्ने कुराको छिनोफानो गर्नेछ । तर, यो घटनाले आम नेपाली इन्टरनेट प्रयोगकर्तालाई एउटा पाठ सिकाएको छ- ह्वाट्सएपमा अपरिचित नम्बरबाट आउने उपहारका मेसेजहरू सधैं लोभलाग्दा हुँदैनन्, तिनले तपाईंलाई आर्थिक रूपमा टाट पल्टाउन मात्र होइन, कानुनी झमेलासँगै खोरमा समेत पुर्याउन सक्छन् ।
पछिल्लो अध्यावधिक: साउन २, २०८३ १७:५६
