close

एनटीसीको सिमकार्ड हराएको वा बिग्रिएको छ ? अब नयाँ सिमका लागि यसरी दिनुहोस् अनलाइन आवेदन

टेकपाना टेकपाना

साउन ६, २०८३ ८:५०

एनटीसीको सिमकार्ड हराएको वा बिग्रिएको छ ? अब नयाँ सिमका लागि यसरी दिनुहोस् अनलाइन आवेदन

काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रिएको सिमकार्ड पुनः प्राप्त गर्न अब अनलाइनमार्फत आवेदन दिन सकिने नयाँ सेवा सुरु गरेको छ । टेलिकमले साउन १ गतेदेखि यो सेवा सञ्चालनमा ल्याएको हो ।

टेलिकमका अनुसार हराएको वा बिग्रिएको सिमकार्डको सट्टा नयाँ फिजिकल वा ई-सिम लिन चाहने सेवाग्राहीले esim.ntc.net.np मा गएर 'Apply for Lost/Damaged SIM' विकल्पमार्फत आवश्यक विवरण भरी आवेदन दिन सक्नेछन् ।

आवेदनपछि सेवाग्राहीले सम्बन्धित काउन्टरमा उपस्थित भएर नयाँ सिम लिन सक्नेछन् । नयाँ सिमका लागि आवश्यक ५० रूपैयाँ काउन्टरमै बुझाउनुपर्नेछ । यदि सेवाग्राही आफैँ उपस्थित हुन नसकेमा प्रतिनिधिमार्फत पनि सिम बुझ्न सकिने व्यवस्था गरिएको छ । त्यसका लागि प्रतिनिधिको नाम आवेदन फाराममै उल्लेख गर्नुपर्ने र प्रतिनिधिले आफ्नो परिचय खुल्ने कागजात पेश गर्नुपर्ने टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै यो व्यवस्था लागु गरिएको हो ।

टेलिकमको esim.ntc.net.np पोर्टलमा अब हराएको वा बिग्रिएको सिमको सट्टा नयाँ सिम प्राप्त गर्ने सुविधा पनि थपिएको हो । यही पोर्टलबाट नयाँ प्रिपेड ई-सिम लिन, फिजिकल सिमलाई ई-सिममा रूपान्तरण गर्न, नयाँ फिजिकल सिमका लागि आवेदन दिन तथा ग्राहक विवरण (केवाईसी) अद्यावधिक गर्ने सुविधा पनि उपलब्ध रहेको टेलिकमले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: साउन ६, २०८३ ८:५२