नामै नसुनेको फोर्थिङ फ्राइडे किनेका आदेश भन्छन्ः ईभीको खर्च त स्कुटरभन्दा सस्तो हुँदो रैछ
साउन ६, २०८३ १८:१६
गाडी केवल एउटा साधन मात्र होइन, यो हाम्रो जीवनशैली, सहजता र व्यक्तित्वको एउटा पाटो पनि हो । म सधैँ विश्वास गर्छु कि गाडी भनेको मानिसको निकै व्यक्तिगत ठाउँ हो । त्यहाँ हाम्रा सामानहरू हुन्छन्, हाम्रा भावनाहरू लुकेका हुन्छन् र हामी आफैँसँग संवाद गर्दै यात्रा गरिरहेका हुन्छौँ ।
म जे पनि कुरा किन्नुअघि निकै गहन रूपमा रिसर्च र कम्प्यारिजन (तुलना) गर्ने गर्छु । यो बानी मलाई मेरा दाइहरूबाट सरेको हो । हामी कुनै पनि ठुलो लगानी गर्नुअघि त्यसको हरेक पाटोको गहिरो विश्लेषण गर्छौँ । २०२५ को सुरुतिर मलाई एउटा व्यक्तिगत गाडी किन्नुपर्छ भन्ने तीव्र महसुस भइरहेको थियो ।
त्यतिबेला म गोल जिमसँग आबद्ध थिएँ र त्यहाँको कामको सिलसिलामा हाम्रो एमजी कम्पनीसँग निकै बाक्लो व्यावसायिक सहकार्य भइरहन्थ्यो । जिममा आउने अधिकांश क्लाइन्टहरू गाडी चढ्ने नै हुनुहुन्थ्यो, त्यसैले हामीले धेरै प्रोमोसनल कोल्याबोरेसनहरू गर्यौँ । ठ्याक्कै त्यही समयमा एमजी सिक्स नेपालमा लन्च भएको थियो र मैले त्यसलाई ट्रायल गर्ने अवसर पाएको थिएँ । एमजीको बढ्दो लोकप्रियता र मेरो आफ्नै अनुभवका कारण सुरुमा म एमजी नै किन्छु भन्ने मानसिकतामा पुगिसकेको थिएँ ।
तर नयाँ ईभीहरू बजारमा आउने क्रम बढ्दै गइरहेको थियो । त्यसैले हतार नगरी नाइमा अटो शोसम्म पर्खिनु बुद्धिमानी हुने कुरा मेरो मनमा लाग्यो । संयोगवश, गोल जिममै मैले लक्ष्मी ग्रुपका एक जना सञ्चालकलाई व्यक्तिगत रूपमा ट्रेन गर्ने मौका पाएको थिएँ । उहाँसँगको कुराकानीकै क्रममा मैले थाहा पाएँ कि लक्ष्मी ग्रुपले नाडा अटो शोमा एउटा निकै आधुनिक र नयाँ ब्रान्डको इलेक्ट्रिक एसयूभी भित्राउँदैछ । नेपालको अटोमोबाइल बजारमा लक्ष्मी ग्रुप आफैँमा एउटा अत्यन्त विश्वसनीय र स्थापित नाम हो । उनीहरूले ल्याउने नयाँ गाडी पक्कै पनि गुणस्तरीय र भरपर्दो हुने विश्वासका साथ मैले नाइमा अटो शोसम्म पर्खिने निर्णय गरेँ ।
जब म नाइमा अटो शोको चहलपहल बिच धेरै गाडीहरूका बीचमा मेरो आँखा फोर्थिङको स्टलमा रहेको एउटा आकर्षक गाडीमा गएर अडियो । हुन त मलाई रातो रङ बढी मन पर्छ, तर यो गाडीको विशिष्ट रङ र बाहिरी बनावटले मलाई पहिलो नजरमै मन्त्रमुग्ध बनायो । त्यतिबेला नेपालमा यो गाडी एकदमै नयाँ र दुर्लभ थियो । प्रदर्शनीका लागि शोरुममा दुईवटा मात्र गाडी उपलब्ध थिए । त्यसैले मैले तत्काल टेस्ट ड्राइभ गर्ने मौका पाइनँ, तर मेरो मनमा यो गाडीले गहिरो छाप छोडिसकेको थियो ।
भैँसीपाटीको ठाडो उकालो
नाइमा अटो शो सकिएपछि दशैँको फुर्सदिलो समयमा मैले इन्टरनेटमा यो गाडीका बारेमा निकै व्यापक र गहिरो अनुसन्धान सुरु गरेँ । मलाई यो गाडी साँच्चै नै जेन्जी पुस्तालाई लक्षित गरेर बनाइएको आधुनिक प्रविधिको एउटा अनुपम उदाहरण जस्तो लाग्यो । मेरो घर भैँसीपाटीमा छ र मेरो घर पुग्ने अन्तिम ५० मिटरको सडक खण्ड एकदमै ठाडो उकालो छ । काठमाडौँका सडकहरूको हिलाम्मे र खाल्डाखुल्डी अवस्था त छँदैछ, त्यसमाथि मेरो घरको त्यो चुनौतीपूर्ण उकालो बाटोका लागि मलाई राम्रो ग्राउन्ड क्लियरेन्स भएको बलियो गाडीको आवश्यकता थियो । रिसर्च गर्दै जाँदा मैले थाहा पाएँ कि फोर्थिङ फ्राइडेको ग्राउन्ड क्लियरेन्स १८५ एमएम छ, जुन मेरो बाटोका लागि पर्याप्त र उपयुक्त थियो ।
दशैँ सकिएपछि जब गाडी आधिकारिक रूपमा नेपाली बजारमा लन्च भयो, मैले टेस्ट ड्राइभको लागि बुकिङ गरेँ । टेस्ट ड्राइभको मेरो अनुभव एकदमै सुखद र स्मरणीय रह्यो । लक्ष्मी ग्रुपका सेल्स प्रतिनिधि दाईहरू आफैँ गाडी लिएर मेरो घरको त्यो ठाडो उकालो बाटोमा आउनुभयो । उहाँहरूले मेरो अगाडि गाडीलाई त्यो उकालोमा सहजै चढाएर देखाउनुभयो र भन्नुभयो, "आदेश जी, यो गाडी तपाईँको बाटोमा मजाले गुड्छ, तपाईँ कत्ति पनि चिन्ता नगर्नुस् ।" लक्ष्मी ग्रुपको यो असाधारण र आत्मीय ग्राहक सेवा नै मेरो लागि यो गाडी किन्ने सबैभन्दा बलियो ‘सेलिङ पोइन्ट’ बन्यो । र, मैले तत्कालै यो गाडी किन्ने निर्णय गरेँ ।
सुरुमा मलाई आफ्नो मिहिनेतको एउटा ठुलो रकम एउटै डालोमा राख्दैछु भन्ने सोचेर अलिकति डर र शङ्का त लागेको थियो । तर जब मैले यो गाडी चलाउन थालेँ, मेरो त्यो सबै डर र चिन्ता क्षणभरमै हराएर गयो ।
ईभीको खर्च स्कुटरभन्दा सस्तो हुँदो रैछ !
वास्तवमा, यो गाडीको सञ्चालन खर्च यति नगन्य छ कि यसलाई वास्ता नगरे पनि हुन्छ । हामीले पेट्रोल स्कुटरमा जति खर्च गर्छौँ, यो गाडी चलाउँदा त्यसको केवल १ प्रतिशत मात्र बिजुली खर्च हुन्छ ! मैले धेरै समयदेखि मेरो पेट्रोल स्कुटर थन्क्याएर राखेको थिएँ । एकदिन ‘धेरै भयो नचलाएको, आज स्कुटरमै जाउँ न त’ भनेर बाहिर निस्किएँ । जब म पेट्रोल पम्पमा गएर पेट्रोल भरेँ, म छाँगाबाट खसेजस्तै भएँ ।
मैले विगत ६ महिनामा यो फोर्थिङ फ्राइडे गाडी चार्ज गर्दा जति बिजुलीको बिल तिरेको थिइनँ, त्यो स्कुटरमा एक दिन पेट्रोल भर्दा खर्च भयो ! अहिले म सोच्दैछु- अब यो पेट्रोल स्कुटर पनि बेचेर एउटा सानो ईभी स्कुटर नै किन्छु । गाडी चलाउनु त पेट्रोल स्कुटर चलाउनुभन्दा कयौँ गुणा सस्तो र आरामदायी साबित भएको छ ।
क्याबिन भित्रको विलासिता र व्यावहारिक फिचरहरू
गाडीको इन्टेरियर निकै भव्य, सफा र लक्जरियस छ । मलाई विशेष गरी यसको ट्याक्टिकल बटन्स एकदमै मन पर्छ । आजकलका धेरै गाडीहरूमा सबै कुरा टचस्क्रिनमा मात्र सीमित गरिन्छ, जुन मलाई व्यक्तिगत रूपमा त्यति सहज लाग्दैन । ड्राइभिङ गर्दा स्पर्श गरेरै चलाउन मिल्ने भौतिक बटनहरू हुँदा एउटा छुट्टै नियन्त्रण र प्राकृतिक महसुस हुन्छ । यसको क्याबिन निकै स्ट्रेटफरवार्ड छ; जे कुरा जहाँ हुनुपर्ने हो, त्यहीँ छ । धेरै तामझाम नभएकाले दिमाग अल्मलिँदैन र एउटा शान्त ड्राइभिङ अनुभव प्राप्त हुन्छ ।
यो गाडीको दाबी गरिएको रेन्ज ३९० किलोमिटर हो । मैले कहिल्यै पनि यसको पूर्ण गणितीय हिसाब किताब त राखेको छैन, तर मेरो दैनिक उपयोगको हिसाबले यो निकै उत्कृष्ट छ । मेरो दैनिक यात्रा सरदर २५ किलोमिटर जति हुन्छ । मेरो घरदेखि मेरो कार्यस्थल र जिमको दुरी केवल ४-५ किलोमिटर मात्र छ । त्यसैले म हप्तामा केवल एक पटक मात्र यसलाई चार्ज गर्छु । ब्याट्रीको लेभल २० प्रतिशतमा पुगेपछि म सामान्यतया हरेक शुक्रबार राती यसलाई चार्जमा राख्ने गर्छु, किनकि शनिबार अलि लामो दुरी वा बाहिर घुम्ने योजनाहरू बन्ने गर्छन् । हप्ताभरमा मेरो गाडी १७५ देखि २०० किलोमिटर सजिलैसँग गुड्छ र ब्याट्री २० प्रतिशतभन्दा तल कहिल्यै झर्दैन ।
मैले यो गाडी लिएर काठमाडौँ बाहिरको लामो यात्रा पनि तय गरिसकेको छु । म यो गाडी लिएर पोखरासम्म पुगेको छु । पहिलो पटक काठमाडौँ बाहिर जाँदा मेरो मनमा अलिकति ‘रेन्ज एन्जाइटी’ वा चार्ज सकिएर बाटोमै अलपत्र परिने हो कि भन्ने डर थियो । त्यसैले पूर्वसावधानी स्वरूप जब म कुरिनटारको डालिमा रिसोर्ट पुगेँ, त्यहाँ ब्याट्री ४० प्रतिशत बाँकी रहँदा मैले केही समय फास्ट चार्जरमा जोडेर गाडी चार्ज गरेँ । त्यो पनि पुरै १०० प्रतिशत होइन, थोरै ब्याकअपको लागि मात्र चार्ज गरेको थिएँ । नेपालका सडकहरू आज सिधा र चिल्ला छन् भने भोलिपल्टै त्यहाँ ठुला खाल्डाहरू बनिसक्छन् । यस्तो अनिश्चित सडक अवस्थामा अलिकति चनाखो हुनु र ब्याकअप राख्नु सधैँ बुद्धिमानी हुन्छ ।
यसमा रहेको मसाज सिट मेरो लागि एउटा ठुलो वरदान साबित भएको छ । मेरो कामको व्यस्त प्रकृतिका कारण शरीर सधैँ थाकेको हुन्छ । काठमाडौँको तनावपूर्ण ट्राफिक जाममा फसेको बेला जब म मसाज सिट अन गर्छु, यसले मेरो शरीरको दुखाइ र तनावलाई क्षणभरमै निको पारिदिन्छ । म त चाहन्थेँ कि यात्रु बस्ने सिटमा पनि यो फिचर भइदिएको भए मेरो परिवारका सदस्य र साथीभाइले पनि यो विलासी आरामको अनुभव गर्न पाउने थिए ।
गाडीको क्याबिन इन्सुलेसन (Noise Insulation) यति उत्कृष्ट छ कि बाहिरको कुनै पनि कोलाहल भित्र सुनिँदैन । सबै झ्यालहरू बन्द गरेपछि क्याबिनभित्र एउटा शान्त वातावरण सिर्जना हुन्छ । म प्रायः गाडी गुडिरहेकै बेला व्यावसायिक फोन कलहरू लिने गर्छु । कहिलेकाहीँ त म गाडी चलाउँदै चल्दाचल्दैकै क्याबिनभित्र महत्त्वपूर्ण व्यावसायिक मिटिङहरू पनि सम्पन्न गर्छु । भित्र कत्ति पनि अनावश्यक आवाज नआउने भएकाले म कत्ति पनि विचलित नभई आफ्नो काममा ध्यान केन्द्रित गर्न सक्छु ।
केही तीता अनुभव
हरेक गाडीमा केही न केही सुधार्नुपर्ने पाटाहरू पक्कै हुन्छन् र फोर्थिङ फ्राइडे पनि त्यसबाट अछूतो छैन । सबैभन्दा पहिलो कमजोरी यसको फ्रन्ट ह्विल ड्राइभ प्रणाली हो । यो गाडी यदि रियर ह्विल ड्राइभ वा अल ह्विल ड्राइभ भइदिएको भए यसको पर्फर्मेन्स अझ उत्कृष्ट हुने थियो । हालै मात्र वर्षाको समयमा मैले एउटा तितो अनुभव सँगाल्नुपर्यो । बाटो बनाउँदै गरेको हिलाम्मे सडकको एउटा मोडमा ठुलो पानीको खाल्डो थियो । मैले गाडी मोड्न खोज्दा अगाडिका पाङ्ग्राहरू हिलोमा नराम्रोसँग चिप्लिए । गाडीले ट्र्याक्सन पाउनै सकेन । मलाई त्यो सामान्य जस्तो देखिने हिलोको खाल्डोबाट गाडी बाहिर निकाल्न झन्डै दुई मिनेटसम्म कडा सङ्घर्ष गर्नुपर्यो । फ्रन्ट ह्विल ड्राइभ भएका कारण यस्तो हिलो र चिप्लो बाटोमा ट्र्याक्सनको समस्या देखिन्छ ।
दोस्रो समस्या यसको ब्रेकिङ प्रणालीको प्रकृतिमा छ । यसको ब्रेक प्याडलको रेस्पोन्स अलि अनौठो छ । जब हामी पहिलो पटक ब्रेक दबाउँछौँ, गाडीले सोचेजस्तो दबाब लिँदैन, अर्थात् गाडी तुरुन्तै स्लो हुँदैन । तर जब हामी अलि बढी जोडले ब्रेक दबाउँछौँ, गाडी झ्याप्पै आफैँ रोकिन्छ । विशेष गरी ओरालो झर्दा सुरु-सुरुमा मलाई यो ब्रेकिङ प्रणाली निकै तनावपूर्ण लागेको थियो ।
तेस्रो कमजोरी यसको गियर ट्रान्जिसनमा छ । रिभर्स मोडबाट ड्राइभ मोडमा गियर सार्दा कहिलेकाहीँ गियर फुत्किएर न्युट्रलमा बस्ने गर्छ । मैले राम्ररी गियर सार्न नजानेर हो कि जस्तो पनि लाग्छ । तर दुई-तीन पटकसम्म प्रयास गर्दा पनि गियर न्युट्रलमै रहँदा ट्राफिक जामको बेला पछाडिका गाडीहरूले हर्न बजाउँदा निकै तनाव हुन्छ ।
चौथो कुरा, यसको स्टक टायर अलि कमजोर गुणस्तरको छ । हालै याक एण्ड यती होटेलमा आयोजित एउटा व्यावसायिक इभेन्टमा अन्डरग्राउन्ड पार्किङबाट निस्कने क्रममा फुटपाथको कुनामा रहेको एउटा तिखो ढुङ्गामा टायर सामान्य रूपमा छोइयो । त्यस्तो कुनै ठुलो ठक्कर वा दुर्घटना थिएन, तर टायर तत्कालै नराम्रोसँग च्यातियो । मैले त्यहीँ स्पेयर टायर निकाल्नुपर्यो । गाडीको मूल्य र वजनलाई मध्यनजर गर्दै कम्पनीले अलि बलियो र उच्च गुणस्तरको टायर दिनुपर्थ्यो जस्तो मलाई लाग्छ ।
साथै, नेपालमा यो गाडी एकदमै नयाँ र दुर्लभ भएकाले यसका सानातिना एक्सेसरिज पाउन निकै कठिन छ । म्याट कतै नपाइएकाले पजेरो गाडीको फ्लोर म्याटलाई काटेर जुगाड गरी राखेको छु । गाडीको कभर पनि कतै नपाएर कस्टमाइज्ड कभर अर्डर गरेर प्रयोग गरिरहेको छु । नयाँ गाडी किन्दा एक्सेसरिज नपाइने यो एउटा सानो झन्झट त सहनै पर्ने रहेछ ।
१० मा ८ रेटिङ
यदि मैले यो गाडीलाई समग्रमा मूल्याङ्कन गरेर १० मा रेटिङ दिनुपर्यो भने, निसङ्कोच ८ अङ्क दिन्छु । मैले काटेको दुई अङ्क केवल यसको फ्रन्ट ह्विल ड्राइभको सीमितता र नेपालमा सहजै एक्सेसरिज तथा स्पेयर पार्ट्स उपलब्ध नहुने अवस्थाका लागि मात्र हो । बाँकी कुरामा यो गाडी उत्कृष्ट छ । बाटोमा गुड्दा यसको आकर्षक लुक्स र भव्यताले गर्दा मानिसहरूले फर्किएर हेर्छन् ।
विगत छ महिनाको यो यात्राले मलाई सिकाएको छ कि ईभी नै हाम्रो भविष्य हो । यसले हाम्रो वातावरण मात्र जोगाउँदैन, बरु हाम्रो खर्चलाई पनि कम गर्छ ।
पछिल्लो अध्यावधिक: साउन ६, २०८३ १८:१६
