फ्याक्टचेकः ‘केपी ओलीबाट पैसा लिएर जापानमा रक्सीको तालमा बोलेको’ भनिएको ज्ञानेन्द्र शाहीको भिडिओ डिपफेक
साउन ६, २०८३ १६:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवम् सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीबारेको एक भिडिओ अहिले सामाजिक सञ्जालका विभिन्न माध्यममा भाइरल भइरहेको छ । सांसद् शाही जापान भ्रमणका क्रममा रहेको बेला फेसबुक लाइभमा आएर राखेका धारणका कारण उनी चर्चामा छन् । यहीबिचमा एक टिकटक अकाउन्टले सांसद् शाहीले आफूले रक्सी पिएर नशाको तालमा बोलेको भनेको देखाइएको छ ।
टेकपानाको फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त भिडिओ भ्रामक देखिन्छ । वास्तविक भिडिओलाई एआईको सहायताले तोडमोड गरी भ्रम फैलाएको पुष्टि हुन्छ ।
दाबी
सोमबार, २२ जुलाई २०२६ मा टिकटकमा ‘एलबी भुजेल’ नामका प्रयोगकर्ताले एक भिडिओ राखे । भिडिओमा राखिएको टेक्स्ट ओभरलेमा लेखिएको छ, “यो मान्छे राम्रो लाग्थ्यो तर अस्ति लाईभमा बोलेको कुरा लाई अहिले फेरि सुधारी रहेको छ …।” सो भिडिओमा ज्ञानेन्द्र शाही जस्ता देखिने व्यक्तिले बोलेको देखाइएको छ । “हिजो राति बोलेको सब्बै रक्सीको तालमा हो । अन्यथा नलिनु होला । केपी ओलीले यस्तो बोल यति पैसा दिन्छु भन्याछी जापान आउँदा वित्तिकै फ्रिको रक्सी खायाको मुखबाट फुर्फरी के बलियो बलियो…,” भिडिओमा बोलेको सुनिन्छ ।
यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा २२ हजार बढी लाइक आएको छ । यसमा १२६१ कमेन्ट आएका छन् भने १५०० बढी अकाउन्टबाट सेभ गरिएको छ भने २९०० पटक शेयर छ । यस भिडिओमा सात लाख बढी भ्युज छ । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनरेकर्ड ।
अनुसन्धान
एलबी भुजेल नामका टिकटकर राखेको भिडिओलाई रिभर्स इमेज सर्च गर्दा युट्युबमा ‘Community-g3m’ नामको युट्युब च्यानलबाट पनि सोही भिडिओ पोस्ट गरेको पाइयो । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट ।

‘ज्ञानेन्द्र शाही रक्सी’ कीवर्ड खोज्दा फेसबुकमा ‘समीर केसी’ नामका प्रयोगकर्ताले सोही भिडिओ राखेको फेला पर्यो । हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।

त्यसपछि हामीले अकाउन्ट विश्लेषण थाल्यौं । एलबी भुजेल नामको अकाउन्टबाट ज्ञानेन्द्र शाहीको अर्को भिडिओ पनि फेला पर्यो । उक्त भिडिओमा शाहीलाई उनले ‘हुम्ला जुम्लाको जस्तो रक्सी भनेर खाएको तर जापानको त्यस्तो नहुने रहेछ’ भनेको देखाइएको छ ।
ज्ञानेन्द्र शाहीले ‘रक्सीको तालमा बोलेको’ भन्ने देखाइएको भिडिओको तलपट्टि जेमिनाईको लोगो स्पष्ट देखिन्छ ।

जेमिनाई एआईमा परीक्षण गर्दा उक्त भिडिओ सतप्रतिशत एआई गुगलकै एआई टुलले निर्माण गरेको पुष्टि भयो ।

जुलाई १८ २०२६ (शनिबार) रातिदेखि भाइरल भइरहेको सांसद् शाहीको भिडिओमा कतै पनि रक्सीको विषय उल्लेख छैन । रक्सी पिएर रास्वपा समर्थकमाथि खनिएको भन्ने आरोपपछि शाहीले फेसबुकमा व्यङ्ग्यात्मक पोस्ट राखेका थिए । हेर्नुहोस् पोस्ट ।
यी विभिन्न तथ्यले ज्ञानेन्द्र शाहीले रक्सी पिएर रास्वपा समर्थकमाथि खनिएको विषयमा स्वीकार गरेको दाबी मिथ्या पुष्टि हुन्छ ।
दाबी
सांसद् ज्ञानेन्द्र शाहीले जापान भ्रमणका क्रममा रक्सी पिएर नशाको तालमा बोलेको र केपी ओलीबाट पैसा लिएर गाली गरेको कुरा भिडिओमा स्वीकार गरेको दाबी ।
दाबीकर्ता
टिकटक प्रयोगकर्ता ‘एलबी भुजेल’, युट्युब च्यानल ‘Community-g3m’ र फेसबुक प्रयोगकर्ता ‘समीर केसी’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
भाइरल बनाइएको उक्त भिडियोको तलपट्टि एआई टुल जेमिनाईको लोगो देखिएको छ । परीक्षणका क्रममा उक्त भिडिओ एआई प्रविधि प्रयोग गरेर बनाइएको पुष्टि भएको छ ।
सांसद् ज्ञानेन्द्र शाहीको वास्तविक भिडिओमा रक्सी पिउने वा पैसा लेनदेन गर्ने सम्बन्धी कुनै पनि कुरा उल्लेख छैन । वास्तविक भिडिओलाई एआईको सहायताले तोडमोड गरी यो सामग्री तयार पारिएको हो ।
निष्कर्ष
ज्ञानेन्द्र शाहीले रक्सी पिएर र पैसा लिएर बोलेको भनिएको भिडिओ वास्तविक नभएर एआई प्रविधिबाट सिर्जना गरिएको नक्कली (डिपफेक/मेनिपुलेटेड) भिडिओ हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: साउन ६, २०८३ १६:२४
