close

मेटालाई टक्कर दिन प्रिमियम स्मार्ट चस्मा ल्याउँदै सामसङ, स्मार्टफोन जस्तै टिकाउ र आरामदायी हुने

टेकपाना टेकपाना

साउन ११, २०८३ १०:१३

मेटालाई टक्कर दिन प्रिमियम स्मार्ट चस्मा ल्याउँदै सामसङ, स्मार्टफोन जस्तै टिकाउ र आरामदायी हुने

काठमाडौं । दक्षिण कोरियाली प्रविधि जायन्ट सामसङले आफ्ना आगामी स्मार्ट चस्माका फिचरहरू विस्तृत रूपमा सार्वजनिक गरेको छ । कम्पनीले यसअघि मे महिनामा आयोजित गुगल आई/ओ सम्मेलनमा यो इन्टेलिजेन्ट आईवेयरको पहिलो झलक देखाए पनि यसको डिजाइन र कार्यक्षमताका बारेमा धेरै जानकारी गोप्य राखेको थियो । हालै आयोजित ग्यालेक्सी अनप्याक्ड इभेन्टपछि आयोजित पत्रकार सम्मेलनमा सामसङले यस डिभाइसका विस्तृत फिचर र आफ्नो रणनीतिक योजना खुलासा गरेको हो ।

सामसङका कार्यकारी उपाध्यक्ष एवं एक्सटेन्डेड रियालिटी (एक्सआर) रिसर्च एन्ड डेभलपमेन्ट टोलीका प्रमुख जेम्स चोईका अनुसार यो डिभाइस स्मार्टफोन विशेषज्ञद्वारा बनाइएको वेरेबल डिभाइस हो । यो चस्मा स्मार्टफोनलाई पूर्ण रूपमा विस्थापन गर्न नभई मोबाइल प्रयोगको अनुभवलाई थप सहज र वृहत् बनाउन डिजाइन गरिएको हो । चोईले सामसङ पहिलो स्मार्टफोन ब्रान्डका रूपमा यस बजारमा प्रवेश गरेकाले आफ्नो प्रविधि र अनुभवको बलमा प्रयोगकर्ताले अपेक्षा गरे बमोजिमको हलुका र आरामदायी डिभाइस प्रदान गर्ने दाबी गरे ।

मेटाको तुलनामा फरक दृष्टिकोण र प्रविधि अपनाएको दाबी गर्दै चोईले यस चस्माको तौल घटाउन र दिनभर पहिरिन योग्य बनाउन विशेष ध्यान दिइएको बताए । यस डिभाइसको अर्को बलियो पक्ष मोबाइल-ग्रेड क्वालिटी एस्योरेन्स (गुणस्तर मापन) हो । सामसङले यो स्मार्ट चस्मालाई स्मार्टफोनका लागि प्रयोग गरिने मापदण्डअनुसार नै परीक्षण गरेको छ ।

जसमा ड्रप टेस्ट (खस्दा हुने क्षति), कठोर बाहिरी वातावरण र सनस्क्रिन तथा कस्मेटिक्स जस्ता रसायनहरूको प्रभाव परीक्षण समावेश छ । यसको टिकाउपन सुनिश्चित गर्न कम्पनीले थप २० वटा नयाँ परीक्षण विधिहरू समेत विकास गरेको छ ।

केके छन् फिचर ?

यो नयाँ चस्मा क्वालकमको स्न्यापड्रागन एआर-१ जेन-१ चिपसेटद्वारा सञ्चालित छ । यसलाई चलाउन स्मार्टफोनसँग जोड्न (Tether) आवश्यक हुन्छ । यसमा एउटा इन-बिल्ट क्यामेरा रहेको छ, जसले प्रयोगकर्ताले देखिरहेको दृश्यलाई कैद गर्न वा भिडिओ खिच्न सक्छ । यो क्यामेराले ह्वाइटबोर्ड वा प्रिजेन्टेसनमा लेखिएका सामग्री पढेर मुख्य जानकारीहरूलाई नोटका रूपमा व्यवस्थित गर्न सक्छ । स्मार्टफोनमा आउने लामो मेसेजलाई यो चस्माले सङ्क्षेपिकरण (Summarize) गरिदिन्छ । जसलाई चस्मामा रहेको इन-बिल्ट स्पिकरमार्फत सुन्न सकिन्छ । यसको साथमा एउटा पोर्टेबल चार्जिङ केस पनि उपलब्ध हुनेछ ।

सामसङले यो स्मार्ट चस्माका लागि जेस्चर कन्ट्रोल (हातको इसाराबाट चल्ने प्रविधि) को परीक्षण आफ्ना स्मार्टवाचहरूसँग गरिरहेको छ । यसको अर्थ सामसङ स्मार्टवाच लगाएका प्रयोगकर्ताले हातको विशेष इसारा गरेर चस्माका फिचरहरू नियन्त्रण गर्न सक्नेछन् । साथै, सन् २०२४ मा सार्वजनिक गरिएको ग्यालेक्सी रिङ मार्फत पनि यो जेस्चर कन्ट्रोल सम्भव हुन सक्ने चोईले बताए । आगामी शरद ऋतु (Fall) मा सार्वजनिक हुँदा यो चस्मा हालसम्म देखाइएका भन्दा धेरै डिजाइन र रङहरूमा उपलब्ध हुनेछ । यो चस्मा निर्माणका लागि सामसङले जेन्टल मोन्स्टर र वार्बी पार्कर जस्ता प्रसिद्ध आईवेयर ब्रान्डहरूसँग सहकार्य गरेको छ ।

मेटालाई चुनौती

सामसङ यस्तो बजारमा प्रवेश गर्दैछ, जहाँ सन् २०२१ देखि मेटाको रे-ब्यान सिरिजको एकछत्र राज छ । बजार अनुसन्धान संस्था आईडीसीका अनुसार सन् २०२६ को पहिलो त्रैमासिकमा स्मार्ट चस्मा बजारमा मेटाको हिस्सा ६९.२ प्रतिशत रहेको थियो । मेटाले हालै २९९ डलरको इन्ट्री-लेभल स्मार्ट चस्मा र सन् २०२५ मा डिस्प्लेसहितको ७९९ डलर मूल्यको मेटा रे-ब्यान डिस्प्ले चस्मा सार्वजनिक गरेर आफ्नो पोर्टफोलियो विस्तार गरिरहेको छ ।

सामसङले आफ्नो चस्माको मूल्य तोकिसकेको छैन । तर यसलाई प्रिमियम उत्पादनका रूपमा बजारमा ल्याइने चोईले स्पष्ट पारेका छन् । उनले भने, "हामी यसको मूल्य जायज राख्न चाहन्छौँ, तर गुणस्तरका हिसाबले यसलाई प्रिमियम वर्गमा राख्नेछौँ । यसको अर्थ यो अत्यधिक महँगो हुनेछैन, तर कम मूल्यको पनि हुनेछैन ।" यो चस्मा यसका साझेदार ब्रान्डहरूको बिक्री च्यानलमार्फत उपलब्ध गराइनेछ ।

आईडीसीका विश्लेषक फ्रान्सिस्को जेरोनिमोले सामसङले आफ्नो प्रिमियम ब्रान्ड भ्यालुलाई बलियो बनाउन यसको मूल्य ६०० देखि ७०० डलरको बीचमा राख्न सक्ने अनुमान गरेका छन् । यद्यपि, मेटाको रे-ब्यान उत्पादनहरू भन्दा थप विशेष फिचर नदिई उच्च मूल्य तोकेमा यसलाई बिक्री गर्न गाह्रो हुन सक्ने जोखिम रहेको उनले औंल्याए ।

त्यस्तै, पीपी फोरसाइटका संस्थापक पाओलो पेस्काटोरेका अनुसार सामसङको आगमन मेटाका लागि ठुलो चुनौती त हो, तर सफलता सहज छैन । रे-ब्यान मेटाको बजार पकड बलियो छ भने सामसङले विगतमा आफ्ना ठुलो सङ्ख्याका स्मार्टफोन प्रयोगकर्ताहरूलाई अन्य ग्यालेक्सी एसेसरिजहरू किन्न आकर्षित गर्न निकै सङ्घर्ष गर्नुपरिरहेको छ । सामसङले उपभोक्तालाई स्मार्टफोनभन्दा बाहिरको यो डिभाइस किन्न मनाउन दैनिक जीवनमा उपयोगी हुने बलियो कारणहरू दिनुपर्ने उनले बताए ।

चोईले पनि कम्पनीले स्मार्ट चस्मा विधामा भर्खरै मात्र यात्रा सुरु गरेको र सुरुवाती दिनहरूमा यो एउटा निश्चित समूह (Niche Market) मा मात्र सीमित रहने स्वीकार गरेका छन् । उनले सुरुवाती चरणमा १० करोड युनिट बिक्रीको लक्ष्य नराखिएको बताए पनि सामसङको वास्तविक बिक्री प्रक्षेपण भने खुलाउन अस्वीकार गरे ।

 

पछिल्लो अध्यावधिक: साउन ११, २०८३ १०:१७