close

नागढुङ्गा सुरुङमार्गमा ‘एनट्याग’ र क्यूआर कोडबाटै टोल शुल्क भुक्तानी, यी हुन् सूचीकृत बैंक

टेकपाना टेकपाना

साउन ११, २०८३ १८:२

नागढुङ्गा सुरुङमार्गमा ‘एनट्याग’ र क्यूआर कोडबाटै टोल शुल्क भुक्तानी, यी हुन् सूचीकृत बैंक

काठमाडौं । सोमबारदेखि नागढुङ्गा सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले उद्घाटन गरेपछि नेपालकै पहिलो आधुनिक सुरुङमार्ग प्रयोगमा आएको हो ।

सडक विभागका अनुसार हाल यो सुरुङमार्ग परीक्षणको चरणमा रहेको हुनाले यस अवधिमा यात्रा गर्ने सवारी साधनले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । परीक्षणकाल समाप्त भइसकेपछि यस मार्गमा नियम अनुसार सडक ‘टोल शुल्क’ उठाउन सुरु गरिनेछ । 

सुरुङमार्गको यात्रालाई व्यवस्थित र प्रविधिमैत्री बनाउनका लागि आरएफआईडी प्रविधिमा आधारित ‘एनट्याग’ (N-TAG) प्रणालीका साथै क्यूआर कोड र नगदबाट समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

सुरुङमार्गमा प्रयोग गरिने एनट्याग एक प्रकारको इलेक्ट्रोनिक टुल हो, जसलाई सवारी साधनको अगाडिको सिसा (विन्डशिल्ड) को भित्री भागमा टाँस्नुपर्ने हुन्छ । यस प्रणाली अन्तर्गत टोल प्लाजामा जडान गरिएका आरएफआईडी रिडर गेटले सवारीमा रहेको एनट्यागलाई गुडिरहेकै अवस्थामा स्वतः पहिचान गर्नेछन् । यसले गर्दा सवारी साधन रोकिरहनु नपर्ने, नगदरहित भुक्तानी तत्काल हुने र समग्र सडक शुल्क संकलन प्रणाली पारदर्शी र झन्झटमुक्त हुने विभागले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले वैशाखमा जारी गरेको ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ बमोजिम ‘क’ वर्गका वाणिज्य बैंकलाई सडक उपभोग दस्तुर संकलनका लागि यस्तो आरएफआईडी ट्याग जारी गर्ने विशेष अधिकार प्रदान गरिएको छ । हालसम्म यो प्रणालीसँग नबिल बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक र लक्ष्मी सनराइज बैंक गरी आठ वटा वाणिज्य बैंक आबद्ध भइसकेको विभागकी प्रतिनिधि चेतना थापाले जानकारी दिइन् । राष्ट्र बैंकको सर्कुलर अनुसार आगामी दिनमा अन्य ‘क’ वर्गका बैंक पनि क्रमशः यस प्रणालीमा जोडिन सक्ने व्यवस्था छ ।

यो प्रविधि प्रयोग गर्न चाहने सवारी धनीले यो सेवा दिने ‘क’ वर्गका बैंकका शाखा वा बैंकले तोकेका आधिकारिक एजेन्टबाट एनट्याग प्राप्त गर्न सक्नेछन् । एनट्याग प्राप्त गर्नका लागि सवारी साधनको दर्ता प्रमाणपत्र (ब्लु बुक), सवारी धनीको नागरिकता वा परिचयपत्र र एउटा सक्रिय मोबाइल नम्बर आवश्यक पर्ने व्यवस्था गरिएको छ । थापाका अनुसार आरएफआईडी गेट सुरुङमार्गको प्रवेश र बाहिरिने दुवै विन्दुमा जडान भई प्राविधिक रूपमा पूर्ण रूपमा तयार अवस्थामा राखिएको छ ।

नेपाल राजपत्रमा प्रकाशित सूचना (खण्ड ७५, संख्या ७३, मिति २०८२/०२/२६) अनुसार परीक्षण काल समाप्त भएपछि चार फरक वर्गका सवारी साधनका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ । पहिलो वर्गमा पर्ने कार, भ्यान, पिकअप, ट्र्याक्टर, र माइक्रो बसजस्ता हलुका सवारी साधनका लागि काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तोकिएको छ । दोस्रो वर्गका मिनी बस र मिनी ट्रक/टिपरका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ दस्तुर लाग्नेछ ।

त्यसैगरी तेस्रो वर्ग अन्तर्गत पर्ने ठूला बस र एकल रियर एक्सल भएका ट्रकका लागि काठमाडौं प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ निर्धारण गरिएको छ । चौथो वर्गमा पर्ने मल्टी एक्सल भएका ठुला ट्रक र भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र प्रस्थान गर्दा २५० रुपैयाँ शुल्क लाग्ने राजपत्रमा उल्लेख छ । 

सुरुङमार्गको परीक्षण काल बढीमा तीन महिना तोकिए तापनि प्राविधिक प्रणाली चुस्तदुरुस्त बनाई सकभर चाँडो यसलाई पूर्ण व्यावसायिक सञ्चालनमा ल्याउने आन्तरिक तयारी भइरहेको विभागको भनाइ छ ।

पछिल्लो अध्यावधिक: साउन ११, २०८३ १९:१६