close

ह्वाट्सएपलाई विवादित बनाउने तीन घटना

टेकपाना टेकपाना

फागुन १३, २०७६ ९:८

ह्वाट्सएपलाई विवादित बनाउने तीन घटना

काठमाडौं । ह्वाट्सएप विश्वमा सबैभन्दा बढी प्रयोगकर्ता भएको म्यासेजिङ एप हो । फेसबुक स्वामित्वको यो एपको प्रयोगकर्ता आधार २ अर्ब नाघिसकेको छ । हरेक उमेर समूहका मानिसले ह्वाट्सएप मन पराएका छन् । ह्वाट्सएपको आगमनले अन्य म्यासेजिङ एपको भविष्यमा चुनौति थपेको छ ।

ह्वाट्सएपलाई विशेषगरी सुरक्षित म्यासेजिङ एपको रुपमा प्रयोगकर्ताले बुझ्ने गरेका छन् । तर, केही वर्षयता ह्वाट्सएप पटक पटक विवादमा पनि पर्दै आएको छ । ह्वाट्सएपलाई विवादमा ल्याउने तीन ओटा घटनाको मात्रै यहाँ चर्चा गरिएको छ, जुन पाठकहरुको लागि रोचक हुनसक्छः

जेफ बेजोसको अकाउन्ट ह्याक

अमेजनका मालिक तथा विश्वकै धनाढ्य व्यक्ति जेफ बेजोसको अकाउन्ट ह्याक भएको घटना गत महिना निकै चर्चित बन्यो । यो घटनाको मूख्य आरोपीको रुपमा साउदी राजकुमार मोहम्मद बिन सलामलाई लिइएको छ ।

उनले एउटा ‘मालवेयर’ सहितको भिडियो क्लिप पठाए । बेजोसले त्यसलाई खोल्दा अकाउन्ट ह्याक भएको अनुमान छ । सन् २०१८ देखि बेजोसको अकाउन्टमा साउदी राजकुमारको पहुँच रहेको तथ्य खुल्न आएको छ ।

उनको ह्वाट्सएप अकाउन्ट ह्याक भएकै कारण बेजोसको बिहेत्तर सम्बन्ध रहेको जानकारी खुलासा भएको थियो भने यही घटनाका कारण उनको डिभोर्स पनि भयो । ह्वाट्सएप विवादमा परेको सम्भवत यो हालसम्मकै ठूलो घटना हो ।

टेलिग्राम फाउण्डरको आरोप

ह्वाट्सएपले आफूलाई सुरक्षित म्यासेजिङ एप दाबी गरे पनि टेलिग्रामले आफूलाई त्यो भन्दा बढी सुरक्षित रहेको दाबी गर्दै आएको छ । तर, केही समय अघि मात्रै टेलिग्रामका संस्थापक पवेल डुरोभले एउटा ब्लग नै लेखेर ह्वाट्सएप प्रयोग गर्नु खतरनाक भएको संज्ञा दिए ।

जसका कारण ह्वाट्सएपको डाटा सुरक्षाको बिषयलाई लिएर ठूलै हंगामा भयो । उनले आफ्नाे ब्लगमा केही उदाहरण प्रस्तुत गर्दै ह्वाट्सएप प्रयोगकर्ताको तथ्यांक सुरक्षाको हिसाबले असफल रहेको दाबी गरेका थिए ।

गुगलमा ह्वाट्सएप ग्रुप च्याटको डाटा

दुई साता अघि मात्रै ह्वाट्सएप अर्को विवादमा फस्यो । ह्वाट्सएपमा बनेको ग्रुपमा भएको च्याट गुगल सर्च गर्दा भेटिएको घटनाका कारण ह्वाट्सएपलाई निकै ठूलो नैतिक संकट परेको छ ।

सुरुमा यो खबर एउटा प्रविधि सम्बन्धी अनलाइनले छापेपछि ह्वाट्सएपको तथ्यांक सुरक्षामा ठूलो पश्नचिन्ह खडा भयो । ह्वाट्सएप ग्रुपमा पठाइएको इन्भिटेसन लिंक गलत कोडिङका कारण गुगल सर्चमा भेटिन पुगेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०