close

पहिरो जानु अघि चेतावनी दिने नेपाली प्रविधि

टेकपाना टेकपाना

जेठ २९, २०७७ १४:५७

पहिरो जानु अघि चेतावनी दिने नेपाली प्रविधि

काठमाडौं । असार नजिकिएसँगै बर्खायाम सुरु हुँदैछ । अधिकांश पहाडी तथा हिमाली भूमाग रहेको नेपालमा पहिरोकै कारण वर्षेनी सयौंसम्मको ज्यान जाने गरेको छ ।

गृहमन्त्रायलको तथ्याङ्कमा गएको दश वर्षमा १६३२ पहिरोका घटना दर्ता भएका छन् । जसबाट ९०४ जनाको ज्यान गएको छ भने २३३ जना अझैं बेपत्ता छन् र  ७७० जना घाइते भए । करोडौंको धनमाल नष्ट भयो । यसरी वर्षेनी रुपमा भइरहेको जनधनको क्षतिलाई न्यूनिकरण गर्ने प्रविधि नेपालमै विकास भएको छ ।

नेपालको प्रविधि क्षेत्रमा जुम्ल्याहा दाजुभाइको नामले परिचित राम लक्ष्मण रिमालले ताररहीत पहिरो पूर्व चेतावनी दिने प्रविधि (वायरलेस ल्याण्डस्लाइड अर्ली वार्निङ सिस्टम) विकास गरेकै चार वर्ष भइसक्यो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले गरेको परीक्षणमा समेत यो प्रविधि सफल देखिएको थियो । तर उचित प्रचार प्रशार र राज्य संयन्त्रको कमजोर इच्छाशक्तिका कारण यो प्रविधि प्रयोगमा भने आउन भने सकेको छैन ।  

नास्टको प्रविधि संकायका प्रमुख डा. रवीन्द्र ढकाल यो प्रविधि पहिरोको जोखिम भएका स्थानहरुका लागि उपयोगी हुने बताउँछन् । ‘हामीले गत वर्ष गोरखाको खानी गाउँमा यसलाई परीक्षणका लागि राखेका थियौं,’ उनले भने, ‘त्यसमा सफल देखिएको छ ।’

तर वित्तीय अभावका कारण अन्य स्थानमा यसलाई प्रयोगमा ल्याउन भने नसकिएको डा. ढकालले बताए । उनले भने, ‘अब यसपालि बर्खा लागिसक्यो । विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरणमा काम गर्ने निकायसँग एमओयू गरेर यसलाई प्रयोगमा ल्याउने भन्ने कुरा चलिरहेको छ । तर अहिलेकै वर्ष प्रयोगमा आउँछ भन्ने अवस्था चाहिँ छैन ।’

पहिरोको जोखिम रहेका तथा जल विद्युत उत्पादन केन्द्र जस्ता स्थानहरुमा समेत यसलाई प्रयोग गर्न सकिने ढकालको भनाई छ । 

त्यस अघि २०७२ सालमा नै गोरखाको केरौजामा पहिलो पटक यो प्रविधिको परीक्षण गरिएको राम रिमाल बताउँछन् । ‘पछि नास्टबाट परीक्षणको रुपमा  गोरखाको खानी गाउँमा समेत यसलाई राखेका थियौं,’ उनी भन्छन् ।

त्यसताका नास्टका प्राविधिक संकाय प्रमुख ढकाल, पहिरो विज्ञ लगायतको टिमले गोरखाका स्थानीयलाई यो प्रविधि प्रयोगको विषयमा जानकारी तथा तालिम समेत दिएको थियो ।

तस्वीरः राम रिमाल

अहिले देशभर ७५३ वटा स्थानीय सरकार छन् । उनीहरुसँग आफ्नै बजेट पनि छ । आफूले विकास गरेको प्रविधिमार्फत पहिरोबाट हुनसक्ने संभावित मानवीय क्षतिलाई कम गर्न स्थानीय सरकारले साथ दिनसक्ने आशा राम लक्ष्मण दाजुभाइको छ ।

यसले कसरी काम गर्छ ?

ताररहीत पहिरो पूर्व चेतावनी प्रणालीले पहिरो जानु अगावै चेतावनी दिन्छ । त्यसका लागि पहिरो जाने संभावना भएका स्थानहरुमा ‘जाइरो’ सेन्सरहरु राखिन्छ । टिल्ट अर्थात ढल्किएको आधारमा काम गर्ने यस्ता सेन्सरले पहिरो जानुभन्दा चार पाँच घण्टा अगावै स्थानीयलाई त्यसको सूचना दिन सक्छन् ।

पहिरो जाने संभावना भएका स्थानमा काठ गाडेर त्यसमाथि सेन्सर अड्याइन्छ । वाटर प्रुफ भए पनि बालबालिका तथा पशुचौपायाबाट जोगाउन डोकोले बारेर राख्न सकिन्छ ।

तस्वीरः राम रिमाल

यो सेन्सरयुक्त उपकरण निश्चित डिग्रीमा बसेको हुन्छ । कति डिग्री ढल्किदा साइरन बज्ने बनाउने भनेर सेट गर्न मिल्छ । सामान्यतयाः बस्ती नजिकै अर्थात पहिरो आएर थुप्रिन सक्ने स्थान, संभावित पहिरोको बीच भाग र पहिरो खस्किने गरी तीन ठाउँमा सेन्सर राखिन्छ । 

पहिरो जानसक्ने जोखिमको मूल्याङ्कनका लागि पहिरो विज्ञको सहयोग समेत लिन सकिन्छ । केही गरी पहिरो जानसक्ने संभावित स्थान पहिल्याउन मुस्किल परे सिंगो वस्तीलाई नै सेन्सरले घेरेर राख्न समेत सकिने रिमाल बताउँछन् ।

एउटा सेन्सरले १५ देखि २० मिटर वरपरको भूभाग समेट्न सक्छ । एउटै गाउँका लागि छुट्टा छुट्टै पहिरो जान सक्ने संभावित स्थानमा यस्ता २४ वटा वायरलेस सेन्सर राख्न मिल्छ । 

यी सेन्सरहरुले पाँच सय मिटर सम्मको क्षेत्रमा वायरलेस रुपमा डेटा पठाउँछन् । कुनै सेन्सर राखिएको स्थानमा जमिन दबिएको खण्डमा सेन्सर ढल्किन्छ र त्यसले स्वचालित रुपमा सार्वजनिक स्थलमा राखिएको कन्ट्रोल युनिटमा त्यसको सूचना पठाउँछ र साइरन बज्न थाल्छ ।

तस्वीरः राम रिमाल

एक पटक पहिरोमा परेपनि यी सेन्सरहरु पुनः प्रयोगमा आउन सक्ने गरी बनाइएको छ । पहिरो जाँदा सुरक्षित हुने ठाउँमा साइरन राखिन्छ । जसले गर्दा स्थानीयहरु विपद्‌मा नझुक्किएरै साइरन बजेतर्फ कुदेर आफ्नो ज्यान जोगाउन सक्छन् ।

तस्वीरः राम रिमाल

यी सेन्सरमा एक वर्षभन्दा बढी समयसम्म टिक्ने ब्याट्री राखिएको छ । जोखिम नलिने हो भने हरेक वर्ष यसको ब्याट्री फेर्न सकिन्छ । 

यतिमात्र होइन टेलिफोन तथा मोबाइल नेटवर्कसँग यसलाई आवद्ध गराएर स्वचालित रुपमा सम्बन्धित निकायलाई फोन कलमार्फत जानकारी दिने फिचर समेत यसमा छ ।

कति छ मूल्य ?

तीन वटा अटोमेटिक सेन्सर, तीन म्यानुअल स्विच, एक्टिभ तथा डिएक्टिभ गराउन मिल्ने दुई वटा रिमोट कन्ट्रोल, मूख्य युनिट तथा कन्ट्रोल प्यानल, सोलार, ब्याट्री ब्याकअप सहितको यो उपकरणको मूल्य एक लाख ८० हजारदेखि दुई लाख रुपैयाँसम्म पर्न आउँछ । 

त्यसो त यसलाई प्रयोग गर्न विशेष दक्षता समेत आवश्यक पर्दैन । सामान्य तालिमकै भरमा स्थानीयले जडान तथा सञ्चालन गर्न सक्छन् ।

तस्वीरः राम रिमाल

यद्यपी लजिस्टिक तथा तालिम समेत गरी दुई लाख रुपैयाँसम्मकै मूल्यमा उपलब्ध गराउन सकिने राम रिमाल बताउँछन् । यसमा अरु सेन्सर थप्नु परेको खण्डमा प्रति सेन्सर ३० हजार रुपैयाँ थप लाग्ने उनको भनाई छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०