close

नेपालमै ‘पहिलो’ पटक जीपीयू क्लाउड सेवा सुरु, डेटा हब र होस्टेड एआईको सहकार्यमा यती क्लाउड सार्वजनिक

टेकपाना टेकपाना

असार २१, २०८३ १४:५४

नेपालमै ‘पहिलो’ पटक जीपीयू क्लाउड सेवा सुरु, डेटा हब र होस्टेड एआईको सहकार्यमा यती क्लाउड सार्वजनिक

काठमाडौं । डेटा हबले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का लागि आवश्यक पर्ने अत्याधुनिक जीपीयू क्लाउड पूर्वाधार सार्वजनिक गरेको छ । होस्टेड डट एआई (hosted.ai) सँगको प्राविधिक साझेदारीमा यती क्लाउड (YetiCloud.ai) को नाममा नेपालमै पहिलो पटक जीपीयू सेवा ल्याएको कम्पनीको दाबी छ ।

नेपाललाई एआईको विश्व मानचित्रमा स्थापित गर्ने र स्वदेशी स्टार्टअप तथा उद्योगहरूलाई शक्तिशाली कम्प्युटिङ क्षमता प्रदान गर्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

कार्यक्रमको सुरुवात गर्दै एनभिडिया र जीपीयू क्षेत्रकी विज्ञ गौरीले भनिन्, “पछिल्लो दुई वर्षमा जीपीयू पाउनु भनेको हिमालमा यती भेट्नु जस्तै दुर्लभ र कठिन काम भएको थियो । तर आज हामीले त्यो अभावलाई चिरेका छौँ । अब नेपालको आफ्नै एआई पूर्वाधार हुनेछ-हाम्रो माटोमा, हाम्रै सर्तमा र हाम्रो सार्वभौम एआई (Sovereign AI) को रूपमा ।”

उनले थपिन्, “यती क्लाउडको नारा नै ‘नेपालको आफ्नै एआई पूर्वाधार: जहाँ पनि, जहिले पनि, जति पनि’ राखिएको छ, जसले यसको सुलभतालाई प्रस्ट पार्छ ।”

स्वदेशी डेटा, स्वदेशी भुक्तानी र न्यून लेटेन्सी

डेटा हबका प्रबन्ध निर्देशक दीपक श्रेष्ठले सन् २०१२ देखिको आफ्नो डेटा सेन्टरको यात्रा स्मरण गर्दै नेपालको डिजिटल अर्थतन्त्र तीव्र गतिमा अघि बढिरहेको बताए । उनले नेपालमै जीपीयू सेवा हुनुका फाइदाहरूबारे चर्चा समेत गरे ।

श्रेष्ठले भने, “हामीले काठमाडौं र बुटवलमा रहेका हाम्रा डेटा सेन्टरहरू मार्फत यो सेवा दिइरहेका छौँ । पहिले र्‍याकहरू बेच्न वर्षौँ कुर्नुपर्थ्यो, तर अहिले डिजिटल माग यति बढेको छ कि केही महिनामै र्‍याकहरू सकिन्छन् ।”

उनले थप स्पष्ट पार्दै भने, “विदेशी क्लाउड प्रयोग गर्दा डलरमा भुक्तानी गर्नुपर्ने र डेटा बाहिरिने समस्या थियो । अब यती क्लाउडमार्फत नेपाली रुपैयाँमै भुक्तानी गर्न सकिनेछ, डेटा नेपालमै सुरक्षित रहनेछ र लेटेन्सी (Latency) निकै कम हुनेछ । जसले एआईको कार्यक्षमता बढाउँछ । समस्या परेको खण्डमा भर्जिनिया वा बैंगलोरमा कल गर्नु पर्दैन, काठमाडौंमै नेपाली प्राविधिकहरूबाट सहयोग प्राप्त हुनेछ ।”

बिजुली निर्यात मात्र होइन, एआई निर्यात गरौं

होस्टेड एआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डिटलेभले नेपालको जलविद्युत् र एआईको सम्बन्धबारे रणनीतिक धारणा राखे । सन् १९८९ मा पहिलो पटक नेपाल आएका उनले नेपालसँग एआई हब बन्ने तीनवटा मुख्य आधार-प्रचुर बिजुली (Power), भौगोलिक अवस्थिति (Location) र प्रतिभा (Talent) रहेको बताए ।

डिटलेभले भने, “एआई भनेको बिजुली खपत गरेर निर्णय उत्पादन गर्ने कारखाना हो । नेपालले अहिले आफ्नो बिजुली सस्तोमा छिमेकी देशलाई बेचिरहेको छ र त्यही बिजुलीबाट बनेको एआई सेवा महँगोमा आयात गरिरहेको छ । यो डिजिटल उपनिवेश (Digital Colony) बन्ने बाटो हो ।”

उनले अगाडि भने, “नेपालसँग सस्तो र नवीकरणीय ऊर्जा छ । बिजुलीका 'इलेक्ट्रोन' मात्र निर्यात नगर्नुहोस्, ती इलेक्ट्रोनबाट एआई प्रशोधन गरी ‘इन्टेलिजेन्स’ निर्यात गर्नुहोस् । भारत र चीनको बीचमा रहेको नेपालले न्यून लेटेन्सीमा यी दुई विशाल बजारलाई एआई सेवा दिन सक्छ ।”

एआई कारखाना र भविष्यको रोजगारी

यती क्लाउडले प्रति घण्टाको हिसाबले जीपीयू भाडामा उपलब्ध गराउने जनाएको छ । यसले गर्दा साना स्टार्टअप र विद्यार्थीहरूले पनि महँगो हार्डवेयर नकिनी अत्याधुनिक एआई मोडेलहरू तालिम दिन र सञ्चालन गर्न सक्नेछन् ।

डेटा हबले यसलाई केवल क्लाउड सेवा मात्र नभई एउटा एआई कारखानाको रूपमा व्याख्या गरेको छ । यस पूर्वाधारले नेपालमा जीपीयू इन्जिनियर, डेटा साइन्टिस्ट र मसिन लर्निङ विज्ञहरूको नयाँ पुस्ता तयार पार्न र ब्रेन ड्रेन रोक्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

नेपाल डिजिटल रूपान्तरणको बाटोमा लम्किरहँदा 'यती क्लाउड'को सुरुवातले यहाँको प्राविधिक क्षेत्रलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने देखिएको छ । अब नेपाली डेभलपरहरूले विश्वस्तरीय एआई एप र मोडेलहरू आफ्नै देशको सर्भर र बिजुली प्रयोग गरी निर्माण गर्न सक्ने आशा गरिएको छ ।

यती क्लाउडले विश्वस्तरीय सेवालाई नेपाली प्रयोगकर्ताका लागि निकै सुलभ दरमा उपलब्ध गराइएको उल्लेख गरेको छ । सार्वजनिक गरिएको मूल्य सूची अनुसार प्रयोगकर्ताले आफ्नो आवश्यकता र खपतको आधारमा मात्र शुल्क तिर्नुपर्ने ‘पे एज यु गो’ (Pay-as-you-go) मोडेल अपनाइएको छ । यसले साना स्टार्टअप र विद्यार्थीहरूलाई ठुलो लगानी बिना नै उच्च क्षमताको क्लाउड सर्भर प्रयोग गर्ने बाटो खोलेको छ ।

पछिल्लो अध्यावधिक: असार २१, २०८३ १५:४७