close

ललितपुर महानगरको नयाँ अभियान: फोनकै भरमा ज्येष्ठ नागरिकलाई घरमै डाक्टर र एम्बुलेन्स सेवा

टेकपाना टेकपाना

असार २४, २०८३ १३:४४

ललितपुर महानगरको नयाँ अभियान: फोनकै भरमा ज्येष्ठ नागरिकलाई घरमै डाक्टर र एम्बुलेन्स सेवा

काठमाडौं । ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि फोन गरेको भरमा घरमै मेडिकल टिमसहितको एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । आगामी साउन १ गतेदेखि लागु हुनेगरी महानगरले यस विशेष स्वास्थ्य सेवाको तयारी अन्तिम चरणमा पुर्‍याएको हो ।

महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाईंका अनुसार विगत तीन वर्षदेखि सञ्चालनमा रहेको ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा’ लाई आगामी आर्थिक वर्ष २०८३/०८४ देखि थप व्यवस्थित र प्रभावकारी बनाउन लागिएको हो । यस सेवाअन्तर्गत महानगरले एम्बुलेन्समा चिकित्सक वा दक्ष स्वास्थ्यकर्मी (मेडिकल टिम), अत्यावश्यक औषधि र अत्याधुनिक उपकरणको व्यवस्था गर्नेछ ।

महानगरभित्र बसोबास गर्ने ७० वर्ष नाघेका ज्येष्ठ नागरिक वा अपाङ्गता भएका व्यक्तिहरूले उपचारका लागि ११३१ नम्बरमा निःशुल्क फोन गरी सहयोग माग्न सक्नेछन् । फोनमार्फत स्वास्थ्य परामर्श मात्र आवश्यक परेमा पनि मेडिकल टिमले तत्कालै सल्लाह दिने व्यवस्था मिलाइएको छ ।

यदि बिरामीलाई तत्कालै उपचार आवश्यक परेमा एम्बुलेन्ससहितको टोली घरमै पुगेर प्रारम्भिक जाँच गर्नेछ । सामान्य समस्या भए घरमै उपचार गरिनेछ भने अवस्था जटिल देखिएमा तुरुन्तै अस्पताल पुर्‍याइनेछ । “एम्बुलेन्समा राखेपछि पनि बिरामीको अवस्था नबिग्रियोस् भनेर बाटोमै निरन्तर उपचारको व्यवस्था हुन्छ । बिरामीले रोजेको अस्पतालसम्म पुर्‍याउने जिम्मेवारी महानगरको हुनेछ,” सूचना अधिकारी गुरागाईंले भने, “हामीले चालक मात्र नभई 'क' वर्गको एम्बुलेन्समा हुने सबै सुविधा र मेडिकल टोलीको प्रबन्ध गर्दैछौँ ।”

यस अभियानलाई थप प्रभावकारी बनाउन महानगरले वीर अस्पताल, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पताल (टिचिङ) का विशेषज्ञहरूसँग समन्वय गरिसकेको छ । स्वास्थ्य क्षेत्रमा बजेटको अभाव हुन नदिने र नागरिकले सहजै सेवा पाउने वातावरण निर्माण गर्ने महानगरको लक्ष्य छ । यो सेवा मुख्य रूपमा ललितपुर महानगरबासीका लागि भए पनि आपत्कालीन अवस्थामा छिमेकी स्थानीय तहमा समेत सहयोग गर्न सकिने महानगरले जनाएको छ ।

हाल यस प्रयोजनका लागि दुईवटा एम्बुलेन्स सञ्चालनमा छन् भने थप जनशक्ति र उपकरण व्यवस्थापनको काम भइरहेको छ । महानगरले छिट्टै यस सेवाको औपचारिक घोषणा गर्ने तयारी गरेको छ ।

पछिल्लो अध्यावधिक: असार २४, २०८३ १४:१६