close

फेसबुकले ल्यायो इन्स्टाग्राम र म्यासेञ्जरबीच आपसमा च्याट गर्न सकिने सुविधा

टेकपाना टेकपाना

असोज १५, २०७७ १०:३१

फेसबुकले ल्यायो इन्स्टाग्राम र म्यासेञ्जरबीच आपसमा च्याट गर्न सकिने सुविधा

काठमाडौं । फेसबुकले बुधबार इन्स्टाग्राम र म्यासेञ्जरका प्रयोगकर्ताले आपसमा च्याट गर्न सक्ने सुविधा ल्याउने घोषणा गरेको छ । इन्स्टाग्रामका प्रयोगकर्ताले अब नयाँ अप्सन अपडेट भएसँगै फरक खालको म्यासेजिङ अनुभव गर्न पाउनेछन् ।

जसमा म्यासेञ्जरमा जस्तै च्याट कलर परिवर्तन गर्न सकिने, ईमोजोमार्फत रिएक्ट गर्न सकिने, सँगसँगै भिडियो हेर्न सकिने, म्यासेज डिलिट गर्न सकिने लगायतका फिचर रहेका छन् । सँगसँगै यस्ता प्रयोगकर्ताले फेसबुक प्रयोग गर्ने साथीहरुसँग च्याट गर्ने विकल्प पनि पाउनेछन् ।

यसको जानकारी एपले नै दिनेछ । इन्स्टाग्रामको इनबक्समा उपलब्ध हुने यी फिचर प्रयोगकर्ताले अपडेट गर्न सहमत भएसँगै प्राप्त हुनेछन् ।

क्रश प्लेटफर्म म्यासेजिङ इन्टरअपरेबिलिटीसँगै प्रयोगकर्ताले एउटै म्यासेजिङ एपमार्फत आफ्ना साथी तथा परिवारसँग विश्वकै दुई ठूला सामाजिक सञ्जालमा आपसमा च्याट गर्न सक्ने र अन्य च्याट एप प्रयोग गर्ने कारण सीमित हुनेछ।

फेसबुकका अनुसार इन्स्टाग्राम प्रयोगकर्तासँग फेसबुक अकाउन्ट भए पनि वा नभए पनि नयाँ इन्टरअपरेबिलिटीले काम गर्ने जनाएको छ । यो सुविधामा फेसबुकले आफ्नो ह्वाट्सएपलाई समेत जोड्ने योजना बनाएको छ ।

यद्यपी प्रयोगकर्ताले आफ्नो मूख्य च्याटमा ककसले पहुँच पाउने भन्ने कुराको निर्धारण गर्न सक्ने गरी गोपनीयता सुरक्षित गरिएको फेसबुकले जनाएको छ । यदि इन्स्टाग्राम प्रयोगकर्ताले फेसबुकबाट कसैको म्यासेज प्राप्त गर्न चाहँदैन भने उसले यो फिचर अफ गर्न समेत सक्नेछ ।

यस किसिमको नियन्त्रण फेसबुकले हालै सार्वजनिक गरेको नयाँ अकाउण्ट सेन्टरबाट समेत कायम गर्न सकिनेछ । यो टुलले प्रयोगकर्तालाई सिंगल साइन अन र फेसबुक प्ले जस्ता क्रशः एप फिचरलाई व्यवस्थापन गर्ने सुविधा दिनेछ ।

यस अघि जस्तै इन्स्टाग्राम र म्यासेञ्जर दुवै एपका प्रयोगकर्ताले ब्लक गर्न र सस्पिसियस तथा अनवान्टेड म्यासेजको रुपमा रिपोर्ट गर्न र आवश्यकता अनुसार कल अन राख्न सक्नेछन् । तर ब्लक गर्ने तथा रिपोर्ट गर्ने फिचर विस्तार गरिएको छ ।

यसबाट अब इन्स्टाग्रामको कुनै एउटा म्यासेजमा नभएर सम्बन्धित व्यक्तिको समग्र च्याटलाई नै रिपोर्ट गर्नुपर्नेछ । त्यसैगरी म्यासेञ्जरमा रहने सेफ्टी नोटिसेस फिचरमार्फत प्रयोगकर्ताले सन्देहास्पद गतिविधि पहिचान गर्न र रिपोर्ट गर्न सक्नेछन् ।

यो फिचर सुरुवाती चरणमा इन्स्टाग्रामका सीमित प्रयोगकर्तालाई समेत उपलब्ध हुनेछ । त्यसो त तपाईंले एक अर्को प्लेटफर्ममा पहुँचका लागि सहमति जनाउँदा समेत फेसबुकले दुवै इनबक्सलाई मर्ज भने नगरिने स्पष्ट पारेको छ ।

यसको अर्थ तपाईंले आफ्नो इन्स्टाग्रामका सबै च्याट म्यासेञ्जरको इनबक्समा तथा म्यासेञ्जरका च्याट इन्स्टाग्रामको डीएममा हेर्न सक्नुहुने छैन । इन्स्टाग्रामका प्रयोगकर्ताको म्यासेज तथा कल इन्स्टाग्रामकै एपमा रहनेछन् ।

तर फेसबुक प्रयोगकर्ताले सहमति जनाएको अवस्थामा भने इनबक्समा समावेश गर्न सक्नेछन् । यस किसिमको परिवर्तनले केही दुविधा समेत उत्पन्न गराएको छ ।

फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्ताले आफ्नो प्राइभेसी तथा सेक्युरिटी सेटिङको नेभिगेसन जटिल हुँदै गएको देखेकै छन् । यसमा नयाँ सुविधाको विस्तारले यसलाई झन दुविधातर्फ धकेलेको छ ।

फेसबुकको यस किसिमको प्रयासलाई सामाजिक सञ्जालको क्षेत्रमा आफ्नो अधिपत्य कायम राख्ने रणनीतिको रुपमा हेर्न थालिएको छ।

गत वर्ष फेसबुकका सीईओ मार्क जुकरबर्गले म्यासेजिङ इन्टरअपरेबिलिटीलाई थप निजी सोसल नेटवर्किङको अनुभव दिने सुविधाको रुपमा अगाडि बढाउने कम्पनीको भिजन प्रस्तुत गरेका थिए । केही महिना अघिदेखि कम्पनीले यो फिचरलाई सीमित प्रयोगकर्तामा परीक्षण थालेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०