नेपालमा ग्रिन हाइड्रोजनले एलपीजी ग्यासलाई विस्थापित गर्न सक्छ ? ऊर्जा विज्ञसँगको कुराकानी
असार ७, २०८३ ११:२२
नेपालमा पछिल्लो समय ग्रिन हाइड्रोजनको बहसले निकै तीव्रता पाएको छ । काठमाडौँ विश्वविद्यालयले ग्रिन हाइड्रोजन ग्यासबाट चल्ने कार आयात गरेर परीक्षण समेत गरिसकेको छ र यस प्रविधिमा विभिन्न अध्ययन अनुसन्धानलाई निरन्तरता दिइरहेको छ । त्यसैगरी नेपाल इनर्जी फाउन्डेसनले बागलुङको बडीगाड गाउँपालिकास्थित गिरिङ्दी खोला लघु जलविद्युत् आयोजनामा ग्रिन हाइड्रोजन ग्यास उत्पादन गरेर सफलतापूर्वक खाना पकाउने परीक्षण समेत सम्पन्न गरेको छ । अर्कोतर्फ, प्युठानमा बुटवल पावर कम्पनीले झिमरुक जलविद्युत् आयोजनामा पनि ग्रिन हाइड्रोजन ग्यास उत्पादनको प्रक्रिया अघि बढाइसकेको छ ।
यी उदाहरणले नेपालमा ग्रिन हाइड्रोजनको सम्भावना निकै अधिक छ भन्ने कुरालाई पुष्टि गरेका छन् । तर नेपालले यसको प्राविधिक र व्यावसायिक सदुपयोग कसरी गर्न सक्छ ? अहिलेसम्मका अध्ययन अनुसन्धानले के देखाएका छन् ? यिनै विषयमा टेकपानाका लागि अर्जुन पोखरेलले बागलुङको गिरिङ्दी खोला लघु जलविद्युत् आयोजनामा ग्रिन हाइड्रोजन उत्पादनको पाइलट प्रोजेक्टमा मुख्य भूमिका खेलेका ऊर्जा विज्ञ शेरसिंह भाटसँग विस्तृत कुराकानी गरेका छन् । नेपाल विद्युत् प्राधिकरणबाट अवकाश पाएपछिको उनको यो नवीनतम ऊर्जा यात्रा, ग्रिन हाइड्रोजनको उत्पादन प्रक्रिया, यसका जोखिम, लागत र नीतिगत आवश्यकताका बारेमा गरिएको विस्तृत अन्तर्वार्ता:
एकताका भार प्रेषण केन्द्रका प्रमुख शेरसिंह भाट भनेर हामीले खुब सुन्थ्यौँ । नेपाल विद्युत् प्राधिकरणबाट अवकाश पाएपछि तपाईं यो परियोजनामा कसरी जोडिन पुग्नुभयो ?
धन्यवाद । मैले विद्युत् प्राधिकरणबाट अवकाश लिएको झन्डै १० वर्ष हुन लाग्यो । अवकाश लिइसकेपछि मैले केही समय बुटवल पावर कम्पनीको एउटा सब्सिडरीमा झन्डै पाँच वर्ष काम गरेँ । त्यो एउटा रेगुलर जब नै थियो । तर मलाई लाग्यो, म ६५ वर्ष उमेर भइसकेको मान्छे, यो १० देखि ५ बजेसम्म झोला बोक्ने काम कति वर्षसम्म गर्ने ? मैले आफ्नो त्यो एक्जिक्युटिभ बर्डन नलिने र कम्युनिटी लेभलमा गएर एड्भोकेसी र रिसर्चका काम गर्ने निधो गरेँ । त्यसै क्रममा म नन-प्रोफिट अर्गनाइजेसन नेपाल इनर्जी फाउन्डेसनसँग आबद्ध भएँ । फाउन्डेसनले गर्ने रिसर्च र एड्भोकेसीका काममा संलग्न हुँदै जाँदा, यो ग्रिन हाइड्रोजन प्रोजेक्ट पनि उहाँहरूकै एउटा पाइलट प्रोजेक्ट भएको हुनाले म यसमा जोडिन पुगेको हुँ ।
तपाईंहरूले बागलुङको गिरिङ्दी खोला लघु जलविद्युतबाट ग्रिन हाइड्रोजन ग्यास निकालेर खाना पकाउने कामसम्मको परीक्षण गर्नुभयो । सुरुमा साधारण तरिकाले बुझ्ने हिसाबले बताइदिनुस् न, खासमा यो ग्रिन हाइड्रोजन भनेको के हो र कसरी उत्पादन गरिन्छ ?
हाइड्रोजन भनेको कुनै नयाँ चिज होइन । आजभन्दा झन्डै २०० वर्ष पहिला सन् १८०० तिरै हाइड्रोजनको उपयोग सुरु भइसकेको थियो । सुरु-सुरुमा युरोपमा स्ट्रिट ल्याम्प (सडक बत्ती) बाल्नको लागि यसलाई टाउन ग्यासको रूपमा प्रयोग गरिन्थ्यो र पछि अमोनिया बनाएर फर्टिलाइजर (मल) उत्पादन गर्न यसको प्रयोग हुन थाल्यो ।
नेपालमा पनि यसको प्रयोग भइनै राखेको छ । जस्तो कि, चाउचाउको प्याकेटमा आउने घिउ जस्तो पदार्थ कुनै पनि तेलमा हाइड्रोजन पठाएपछि (हाइड्रोजनेसन गरेपछि) मात्र बन्ने हो । वनस्पति घिउ बनाउने काममा हाइड्रोजन प्रयोग हुन्छ । तपाईंले धेरै पहिला सुन्नु भएको होला हेटौंडाको 'शान्ति घिउ', जुन चिउरीबाट बनाइन्थ्यो, त्यो पनि तेलको हाइड्रोजनेसन नगरिकन बन्दैनथ्यो ।
अब हाइड्रोजन र ग्रिन हाइड्रोजनबिचको फरक बुझौँ । हाइड्रोजन बनाउन प्रयोग हुने कच्चा पदार्थ वा उत्पादन प्रक्रियामा कतै पनि वातावरणमा कार्बन उत्सर्जन हुन्छ भने त्यो ग्रिन हाइड्रोजन होइन । जस्तै, कोइला बालेर निकालिएको बिजुलीबाट हाइड्रोजन निकालियो भने त्यो ग्रिन हाइड्रोजन हुँदैन । बिजुलीबाट वा कुनै पनि कार्बन उत्सर्जन नगर्ने विधिबाट निकालिएको हाइड्रोजनलाई मात्र ग्रिन हाइड्रोजन भनिन्छ । हामीले जलविद्युत्बाट बिजुली निकालेर प्रयोग गरेको हुनाले हामीकहाँ बनेको हाइड्रोजनलाई ग्रिन हाइड्रोजन भनिएको हो । उत्पादन प्रक्रियाको आधारमा यसलाई ग्रिन हाइड्रोजन, ग्रे हाइड्रोजन, पिंक हाइड्रोजन (न्युक्लियर प्लान्टको इनर्जीबाट बन्ने) भनेर वर्गीकरण गरिएको हुन्छ ।
जलविद्युत् आयोजनामा यो हाइड्रोजन कसरी उत्पादन हुन्छ ?
हाइड्रोजन उत्पादन गर्न मुख्य दुई कुरा चाहिन्छ: पानी र बिजुली । पानी हाइड्रोजन र अक्सिजन मिलेर बनेको हुन्छ । जब तपाईं एउटा इक्विपमेन्टमा पानी राखेर त्यसमा बिजुली पठाउनुहुन्छ, तब पानीमा भएको हाइड्रोजन र अक्सिजन छुट्टिन्छ । त्यो छुट्टिएको हाइड्रोजनलाई सङ्कलन गरेर हामी ग्यास निकाल्छौं । यस प्रक्रियामा अक्सिजन पनि निस्किन्छ, जसलाई छुट्टै सङ्कलन गरेर मार्केटिङ गर्न सकिन्छ, जुन अर्को व्यावसायिक अवसर (बाइ-प्रोडक्ट) हो ।
हामीलाई सजिलो के छ भने खोलाको किनारमा पानी र बिजुली दुवै एकै ठाउँमा उपलब्ध हुन्छ । राष्ट्रिय ग्रिड नफैलिएको अवस्थामा देशभर हजारौँको संख्यामा झन्डै ४० मेगावाट क्षमताका माइक्रो हाइड्रो (लघु जलविद्युत्) निर्माण भएका थिए । तर ग्रिडमा नजोडिएका कारण त्यस्ता आयोजनाबाट बेलुका दुई घण्टा बत्ती बाल्न मात्र प्रयोग हुने र बाँकी २० घण्टा बिजुली त्यसै खेर जाने अवस्था छ । हाम्रो मुख्य उद्देश्य भनेको त्यही खेर गइरहेको बिजुलीलाई प्रयोग गरेर सानो युनिटमार्फत हाइड्रोजन बनाउने र स्थानीय जनतालाई खाना पकाउन दिने हो, जसले गर्दा आयातित एलपीजी ग्यासको प्रयोगलाई रोक्न सकियोस् ।

बाग्लुङको गिरिङ्दी खोलामा तपाईंहरूले गरेको पाइलट प्रोजेक्टको बारेमा जानकारी दिनुस् न । कति समय लाग्यो, लागत कति थियो र परीक्षण कस्तो रह्यो ?
हामी यो कन्सेप्टमा अगाडि बढ्दै गर्दा मुख्य चुनौती भनेको हाइड्रोजन अत्यन्तै प्रज्वलनशील ग्यास हो । यसलाई खाना पकाउनको लागि ट्याक्कै एलपीजी स्टोभ जस्तै सुरक्षित तरिकाले बाल्नुपर्ने थियो । तर सामान्य एलपीजी स्टोभमा हाइड्रोजन बाल्न मिल्दैन ।
यसमा अर्को जटिलता के छ भने, हाइड्रोजन बल्दाखेरि निस्किने ज्वाला पूर्ण रूपमा कलरलेस (रँग विहीन) हुन्छ, अर्थात् नाङ्गो आँखाले आगो बलेको देखिँदैन । रँग नदेखिएपछि खाना पाकेको अनुभूति पनि हुँदैन र यसले ठुलो सुरक्षा जोखिम निम्त्याउँछ । त्यसैले हामीले पहिला यस्तो विशेष चुलो डिजाइन गर्नुपर्ने भयो जसले हाइड्रोजनलाई सुरक्षित रूपमा बाल्न सकोस्, आगोलाई तलमाथि रेगुलेट गर्न सकोस् र ज्वालाको रंग पनि देखियोस् ।
सुरुमा हाइड्रोजन चुलो स्विट्जरल्याण्ड जस्ता देशबाट बनेर आउँथे । तर हामीले पैसा बाहिर नजाओस् भनेर नेपालमै चुलोको डिजाइन र फ्याब्रिकेसन गऱ्यौँ । अहिले हामीले बनाएको चुलोमा बर्नर मात्र बाहिरबाट ल्याइएको छ, बाँकी सबै भाग यहीँका लोकल फ्याब्रिकेटरले बनाएका हुन् ।
चुलो बनिसकेपछि हामीले काठमाडौं विश्वविद्यालयको हाइड्रोजन टेस्टिङ ल्याबमा लगेर परीक्षण गऱ्यौँ । त्यतिबेला हामीले आफ्नै हाइड्रोजन उत्पादन गरिसकेका थिएनौँ, त्यसैले बजारबाट औद्योगिक प्रयोजनको व्यावसायिक हाइड्रोजन सिलिन्डर किनेर ल्याबमा टेस्ट गऱ्यौँ । चुलो मज्जाले बल्यो र ज्वाला रेगुलेट गर्न पनि मिल्यो । हामीले सबैको उपस्थितिमा त्यही आगोमा पानी उमालेर, वाई-वाई चाउचाउ पकाएर टेस्ट टिमले त्यहीँ खायौँ । यसले हामीलाई एलपीजी जसरी नै पकाउन सकिन्छ भन्ने पूर्ण विश्वास दिलायो ।
त्यसपछि हामी उपकरणहरू झिकाएर साइटमा गयौँ । तर ल्याबमा पास भएको कुरा गाउँको समुदायले सिधै पत्याउने कुरा थिएन । त्यसैले प्लान्ट राख्नु अघि हामीले बजारबाटै हाइड्रोजन सिलिन्डर लगेर समुदायका ६०-७० जना मानिस भेला गराएर प्रत्यक्ष डेमोन्स्ट्रेसन गऱ्यौँ । हामीले उहाँहरूलाई नै आगो बाल्न र खाना पकाउन लगायौँ । कम्युनिटीले आफै पकाएर खाएपछि उहाँहरू खुसी हुनुभयो र बल्ल उहाँहरूलाई विश्वास भयो ।
समुदाय आश्वस्त भइसकेपछि हामीले त्यहाँ ५ किलोवाटको सानो पाइलट प्लान्ट जडान गऱ्यौँ । अहिले हामीले ८ वटा सिलिन्डरलाई एकअर्कासँग 'क्यास्केड' गरेर जोडेका छौँ, जसमा उत्पादन भएको ग्यास एकै पटक भरिन्छ र एउटा सिलिन्डर निकालेर खाना पकाउन सकिन्छ । हाल यो व्यवसायीकीकरण भइनसकेकोले माइक्रो हाइड्रोका स्टाफहरूको खाना पकाउन मात्र प्रयोग भइरहेको छ, आम समुदायमा गइसकेको छैन ।
यो ग्यास प्रयोग गर्दा धुवाँ, गन्ध वा अन्य केही असर हुन्छ ?
अहँ, यसबाट धुवाँ, गन्ध केही पनि निस्किँदैन ।

अब सुरक्षा र जोखिमको कुरा गरौँ । हाइड्रोजन सुन्दाखेरि अलि खतरनाक ग्यास हो कि भन्ने सुनिन्छ । यसको जोखिमबारे स्पष्ट पारिदिनुस् न ।
तपाईंले सही कुरा उठाउनुभयो । प्रयोग गर्न नजानेपछि हरेक कुरामा जोखिम हुन्छ । हामीले यो काम गर्दैगर्दा पोखरामा तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र त्यहाँका मेयर उपस्थित कार्यक्रममा एउटा बेलुन पड्कियो । वास्तवमा सजावटका बेलुनमा नियोन वा हिलियम ग्यास भरिनुपर्ने हो । तर कसैले नबुझेर हलुका हुन्छ भन्दै हाइड्रोजन भरिदिएछ । त्यहाँ नजिकै कसैले लाइटर बाल्दा वा आगो सल्किँदा त्यो पड्किएको थियो । त्यो ग्यासको गल्ती नभएर सरासर प्रयोगकर्ताको गल्ती र अज्ञानता थियो ।
त्यो घटनाले हाम्रो प्रोजेक्टलाई पनि केही सेटब्याक गर्यो । किनभने मानिसहरूमा हाइड्रोजन धेरै खतरनाक हुन्छ भन्ने डर पस्यो । तर हामीले सम्झिनुपर्छ, आज हामीले प्रयोग गरिरहेका हरेक प्रविधि सुरुमा खतरनाक नै मानिन्थे । एलपीजी सुरुमा आउँदा मान्छेहरू सिलिन्डर घरबाहिर राखेर टाढैबाट डराई-डराई चुलो बाल्थे । बिजुलीको आविष्कार हुँदा नेपालमा राणाहरूले सुरुमा आफ्नो घरमा नबालेर सर्वसाधारणको घरमा परीक्षण गरेका थिए भन्ने हामी पढ्छौँ ।
त्यसैले जोखिम मुक्त त कुनै पनि चिज छैन । एलपीजी र बिजुलीबाट पनि अहिले कति दुर्घटना भइरहेका छन् । मुख्य कुरा सेफ्टी प्रोसिजर (सुरक्षा मापदण्ड) कडाइका साथ लागु गर्ने हो । सुरक्षा विधि अपनाउने हो भने दुर्घटनालाई न्यूनीकरण गर्न मज्जाले सकिन्छ ।
कतिपयले भन्छन् कि नेपाल जस्तो हरेक वर्ष युरिया मल नपाएर तड्पिने देशले ग्रिन हाइड्रोजनलाई मल कारखाना र ठुला उद्योगमा पो प्रयोग गर्नुपर्छ, साना घरायसी चुलोमा किन प्रयोग गर्ने ?
तपाईंको कुरा एकदम सही हो । नेपाल जस्तो हजारौँ/लाखौँ मेट्रिक टन युरिया मल आयात गर्ने देशका लागि हाइड्रोजनको पहिलो र सबैभन्दा ठुलो उपयोगिता युरिया मल उत्पादनमै हो । दोस्रोमा, ठुला सवारी साधन जस्तै: हेभी ट्रक, लङ रुट बस, सिटी बस जसलाई ब्याट्रीले मात्र धान्न सक्दैन, त्यहाँ हाइड्रोजन नै उत्तम विकल्प हो । व्यक्तिगत कारहरूको लागि भने ब्याट्रीबाट चल्ने विद्युतीय गाडी (ईभी) नै राम्रो छ । यसबाहेक अन्य औद्योगिक प्रयोजनमा पनि यो पहिलो प्राथमिकतामा पर्छ ।
तर हामीले खाना पकाउने कुरामा यसको परीक्षण किन गर्यौँ भने, हाम्रो इलेक्ट्रिकल सिस्टममा ठुलो सिजनलिटी (मौसमी उतारचढाव) को समस्या छ । यो मौसमी असरलाई कम्प्लिमेन्ट गर्न र बिजुली ट्रान्समिसन तथा डिस्ट्रिब्युसनको कस्ट घटाउन खाना पकाउने विकल्पमा यसको अनुसन्धान गरिएको एउटा एक्सपेरिमेन्ट मात्र हो ।
यो खाना पकाउने चुलोको रूपमा संसारका अरू कुनै देशमा प्रयोग भएको छ कि छैन ?
अहँ, संसारमा अन्त कतै पनि खाना पकाउने प्रयोजनमा यो प्रयोग भएको छैन । कुरा के हो भने, युरोपियनहरू प्राविधिक विकासमा अगाडि भए पनि उनीहरूको विद्युतीय प्रणालीमा यस्तो कम्प्लिमेन्टारिटी आवश्यक छैन । अर्को कुरा, उनीहरूको खाना पकाउने शैली (रेसिपी) धेरैजसो ओभन र एयर फ्रायर जस्ता विद्युतीय उपकरणबाटै बन्छन् ।
हाम्रो भान्छामा त ढिँडो पकाउनुपर्छ, जसलाई धेरै ताप र बलियो आगो चाहिन्छ । जुन सामान्य कुकटपले दिन सक्दैनन् । नेपाली गृहिणीहरूले अझै पनि एलपीजी नछाड्नुको एउटा प्रमुख कारण त्यही आगोको ज्वाला देखिने र चलाउन सजिलो हुने एडिक्सन (लत) हो । टच प्याड भएको इन्डक्सन चुलो चलाउन पुरानो पुस्तालाई गाह्रो महसुस हुन्छ । त्यसैले सरकारले इन्डक्सन चुलो सित्तैमा बाँडे पनि सोचेजस्तो ठुलो ट्रान्जिसन (परिवर्तन) हुन सकेको छैन । हाइड्रोजनले त्यही एलपीजी जस्तै ज्वाला दिने भएकाले यो उपयुक्त विकल्प बन्न सक्छ ।

मैले एउटा हल्ला सुनेको छु कि हाइड्रोजन ग्यासलाई लामो समय स्टोर गरेर राख्दा यसको परिमाण र गुणस्तरमा कमी आउँछ । के यो सत्य हो ?
हाइड्रोजन यस्तो ग्यास हो, जुन स्वतन्त्र अवस्थामा बस्न सक्दैन । खुल्ला हने बित्तिकै अरू चिजसँग रियाक्सन गरेर नयाँ पदार्थ बनिहाल्छ । त्यसैले लामो समय स्टोर गर्न सकिँदैन भन्ने हल्ला चलेको हो । तर यो शत प्रतिशत सत्य होइन ।
अहिले हामीले बजारमा उद्योगहरूबाट जुन व्यावसायिक हाइड्रोजन सिलिन्डर ल्याउँछौँ, त्यो उद्योगले २४ घण्टाभित्रै खपत गरेको हुँदैन नि ! त्यो उनीहरूको स्टोरमा लामो समय बसिराखेकै हुन्छ । वनस्पति घिउ र चाउचाउ कारखानामा सिलिन्डरमै स्टोर गरेर राखिएको हुन्छ । हामीले पनि ल्याब टेस्ट गर्दा स्टोर गरेकै सिलिन्डर ल्याएका थियौँ । खाना पकाउने प्रयोजनको लागि हामीले वर्षौँ वर्ष राख्नुपर्ने पनि हुँदैन, धेरै भए एक सिजनबाट अर्को सिजनसम्म राख्ने हो । जसमा खासै ठुलो प्राविधिक समस्या हुँदैन ।
तपाईंहरूले लघु जलविद्युत्मा यसको परीक्षण गर्नुभयो । भोलि ठुला जलविद्युत् आयोजनाहरूमा यसको सम्भावना कस्तो देख्नुहुन्छ ? के भौगोलिक अवस्थाले यसलाई असर गर्छ ?
हामीले माइक्रो हाइड्रो रोज्नुको मुख्य कारण ट्रान्सपोर्टेसन (ढुवानी) र स्टोरेजको समस्या नहोस् भनेर हो । प्लान्ट र गाउँ सँगै जोडिएको हुनाले त्यहीँ उत्पादन गरेर ७ देखि १५ दिनको फरकमा सिलिन्डर सहजै फेर्न सकिन्छ ।
यदि मेगावाट क्षमताका ठुला पावर स्टेसनको छेउमा ठुला इलेक्ट्रोलाइजर राखेर धेरै हाइड्रोजन निकाल्यौँ भने, त्यसलाई सहरसम्म पुर्याउन एलपीजीको जस्तै ठुला-ठुला क्याप्सुल बुलेट गाडी प्रयोग गर्नुपर्छ । जसको ढुवानी खर्च अत्यन्तै महँगो पर्न जान्छ । व्यावसायिक रूपमा काठमाडौँ जस्ता सहरी क्षेत्रमा प्रयोग गर्ने हो भने, उत्पादन खोलामै गर्नुभन्दा काठमाडौँको बाहिरी क्षेत्रमै बिजुली ल्याएर स्थानीय रूपमै हाइड्रोजन उत्पादन गर्नु धेरै सस्तो र व्यावहारिक हुन्छ ।
तपाईंले ७ देखि १५ दिनमा सिलिन्डर फेर्ने कुरा गर्नुभयो । तर हाम्रो घरमा एलपीजी ग्यास त एउटा सानो परिवारलाई २-३ महिना मज्जाले पुग्छ नि, हाइड्रोजन किन त्यति छिटो फेर्नुपर्ने ?
यसको प्राविधिक कारण छ । हाइड्रोजन अत्यन्तै हलुका ग्यास हो । अहिले हामीले प्रयोग गर्ने एलपीजी सिलिन्डर '५ बार' को प्रेसरमा १४.२ केजी ग्यास अट्ने र एउटा मान्छेले एक्लै बोक्न सक्ने तौलको हिसाबले डिजाइन गरिएको हुन्छ ।
तर यदि तपाईंले त्यही एलपीजी सिलिन्डरमा '५ बार' कै प्रेसरमा हाइड्रोजन भर्नुभयो भने जम्मा १० ग्राम मात्र हाइड्रोजन अट्छ । त्यो त एक छाक खाना पकाउन पनि पुग्दैन ।
धेरै ग्यास अटाउन प्रेसर बढाउनु पर्यो, जसको लागि बाक्लो र गरुँगो सिलिन्डर चाहिन्छ । तर मान्छेले बोक्न सक्ने तौल बनाउन फेरि सिलिन्डरको साइज सानो बनाउनुपर्ने हुन्छ । त्यसैले एलपीजी जस्तो महिनौँ टिक्ने गरी ४-५ केजी ऊर्जा बराबरको हाइड्रोजन भर्नु आफैमा एउटा ठुलो प्राविधिक चुनौती हो । यसै कारण १५ दिनमा सिलिन्डर फेर्नुपर्ने अवस्था आउँछ ।
उपभोक्ताको बानी, मूल्य र भूगोललाई हेर्दा, के यो साँच्चिकै दीर्घकालीन रूपमा व्यावसायिक र व्यावहारिक रूपले सम्भव छ त ?
यसको सम्भाव्यता हेर्न डाइरेक्ट कस्ट र अभोइडेड कस्ट (बचेको लागत) लाई तुलना गर्नुपर्छ । आजको दिनमा हामीलाई एलपीजी सस्तो लाग्न सक्छ किनभने सरकारले प्रति सिलिन्डर ५-६ सय रुपैयाँ त सब्सिडी (अनुदान) नै दिएको छ ।
तर हाम्रो देशको ऊर्जा सुरक्षालाई हेर्नुस् । हामीसँग बर्सातको बेला बिजुली फालाफाल भएर खेर जान्छ, तर हिउँदमा अपुग भएर भारतबाट करिब १००० मेगावाटसम्म बिजुली आयात गर्नुपर्छ । भोलि अन्तर्राष्ट्रिय बजारमा सङ्कट आउँदा वा खनिज इन्धन सकिँदै जाँदा एलपीजी ग्यासको मूल्य १० हजारदेखि १५ हजार रुपैयाँ प्रति सिलिन्डर पर्न सक्छ । त्यो बेला नेपाल जस्तो गरिब देशले ग्यास किन्नै नसक्ने अवस्था आउन सक्छ ।
मानिसहरू भन्छन्, बिजुली छ भने सिधै इन्डक्सनमै खाना पकाए भइहाल्यो नि !। तर यदि सबैले एकै पटक विद्युतीय चुलो बाल्ने हो भने हाम्रा तार र ट्रान्सफर्मरहरूले धान्दैनन् । त्यसलाई अपग्रेड गर्न खर्बौंको पूर्वाधार लगानी गर्नुपर्छ । फेरि त्यो लगानी गरे पनि हामीसँग ६ महिना मात्र बढी बिजुली हुन्छ, हिउँदमा फेरि ऊर्जा सङ्कट आइहाल्छ ।
त्यसैले हामीलाई यस्तो प्रविधि चाहिएको छ, जसले बर्सातको खेर जाने बिजुलीलाई भण्डारण गरेर हिउँदमा प्रयोग गर्न सकोस् । बिजुलीलाई ठुला रिजर्भेयर (जलाशययुक्त) आयोजना बनाएर वा महँगा मेगा-ब्याट्रीहरू राखेर भण्डारण गर्नु निकै चुनौतीपूर्ण छ । त्यसैले बर्सातको बिजुलीबाट हाइड्रोजन बनाएर राख्ने र हिउँदमा त्यसबाट खाना पकाउने हो भने यो सबैभन्दा उत्कृष्ट विकल्प बन्छ । यसर्थ, हाइड्रोजन बिजुलीको प्रतिस्पर्धी (Substitute) होइन, बरु बिजुली प्रणालीको पूरक (Complement) हो ।

मूल्यको तुलना गर्दा अहिले उत्पादन लागत कस्तो छ नि ?
हाम्रो यो पाइलट प्रोजेक्ट भएकोले हरेक सामान कस्टमाइज गरेर अर्डर गर्नुपर्छ, जुन स्वाभाविक रूपमा महँगो हुन्छ । आज एउटा सानो पार्टस् बनाउन ४० हजार रुपैयाँ पर्छ भने भोलि व्यावसायिक रूपमा लाखौँ पिस बन्दा त्यो ४० रुपैयाँमा झर्न सक्छ । त्यसैले पाइलट कस्टलाई कमर्सियल कस्टसँग तुलना गर्न मिल्दैन ।
हाइड्रोजन उत्पादनमा पानीको कुनै ठुलो मूल्य छैन, मुख्य लागत भनेको बिजुली र प्लान्टको हो । अहिले ग्रिडबाट ८-९ रुपैयाँ प्रति युनिटमा बिजुली किनेर हाइड्रोजन बनाउँदा त्यो पक्कै महँगो पर्छ । तर सरकारले विदेशी एलपीजी ग्यासमा अनुदान दिनुको साटो, बर्षात्को बेला खेर जाने बिजुली २ देखि ३ रुपैयाँ प्रति युनिटमा हाइड्रोजन उत्पादन गर्न दिने हो भने, यसको मूल्य एलपीजीसँग सजिलै प्रतिस्पर्धा गर्न सक्ने हुन्छ । यसले गर्दा देशको अर्बौं रुपैयाँ बाहिरिनबाट बच्छ ।
अब अन्त्यमा नीति र कानुनको कुरा गरौँ । पाइलट प्रोजेक्टबाट माथि उठेर यसलाई व्यावसायिक रूपमा घर-घरमा पुर्याउन नेपालको कानुनी अवस्था कस्तो छ ?
सबैभन्दा ठुलो समस्या नै यहीँ छ । अहिले हामीसँग हाम्रो साइटमा २४ वटा सिलिन्डर ग्यास तयारी अवस्थामा छन् । हामी आजै कम्तीमा १० वटा घरमा ग्यास वितरण गरेर खाना पकाउन लगाउन सक्छौँ । तर, हाइड्रोजन ग्यासबाट घरायसी खाना पकाउने विषयमा नेपालमा मात्र होइन, संसारमै कतै कानुन बनिसकेको छैन । औद्योगिक प्रयोजनको लागि कानुन होला, तर भान्सामा प्रयोग गर्ने कानुन नहुँदा हामीले जोखिम मोलेर १० घरलाई ग्यास दिँदा भोलि कुनै सानोतिनो दुर्घटना भयो भने त्यसको ठुलो कानुनी दायित्व हामीमाथि आइपर्छ ।
कानुनी वैधानिकता नभएकै कारण हामीले समुदायलाई डेमोन्स्ट्रेसन गरेर पनि वितरण गर्न सकेका छैनौँ । हाम्रो उत्पादन अहिले माइक्रो हाइड्रोका स्टाफहरूमै सीमित भएको छ ।
कानुनसँगै हामीलाई स्ट्यान्डर्ड (मापदण्ड) को सख्त आवश्यकता छ । सरकारले हाइड्रोजन चुलो, जोड्ने पाइप, सिलिन्डर, स्टोरेज र ट्रान्सपोर्टेसनका लागि गुणस्तरका स्ट्यान्डर्डहरू तोकिदिनुपर्छ । सहरी क्षेत्रमा बिजुलीमै खाना पकाउनु ठिक भए पनि गाउँघरमा जहाँ जिरो कस्टको बिजुली खेर गइरहेको छ, त्यहाँ हाइड्रोजन निकै सस्तो र उपयुक्त हुन्छ । भोलि एलपीजी महँगो हुँदै गएपछि हामी यसलाई सहरमा पनि ल्याउन सक्छौँ ।
अन्त्यमा, सरकारलाई तपाईंको सुझाव के छ ?
सरकारले हालै हेटौँडामा करिब २.५ मेगावाटको हाइड्रोजन प्लान्ट जडान गर्न बजेट छुट्याएको छ । यसले सरकारले मल वा अन्य प्रयोजनका लागि हाइड्रोजनको उपयोगिता बुझेको देखिन्छ, यो एकदमै सकारात्मक पक्ष हो । तर सरकारले हाइड्रोजनलाई सर्वसाधारणको घरेलु ऊर्जा स्रोतको रूपमा पनि आत्मसात् गर्नुपर्छ ।
मेरो प्रमुख सुझाव भनेकै सरकारले तत्काल यस सम्बन्धी कानुन निर्माणको प्रक्रिया र मापदण्ड (Standard) निर्धारणलाई अगाडि बढाओस् । यति गरिदिएमा मात्र हाम्रो सानो पाइलट प्रोजेक्टबाट प्रमाणित भएको यो सफलतालाई छिट्टै व्यवसायीकरण गरेर वास्तविक नेपाली जनताको लाभको लागि प्रयोग गर्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: असार ७, २०८३ ११:२३
