close

देशकै ठूलो आईटी कम्पनी एफवान सफ्ट १८औं वर्षमा, एक हजारलाई स्वदेशमै रोजगारी

टेकपाना टेकपाना

फागुन २२, २०७७ १२:२४

देशकै ठूलो आईटी कम्पनी एफवान सफ्ट १८औं वर्षमा, एक हजारलाई स्वदेशमै रोजगारी

काठमाडौं । नेपालको सबैभन्दा ठूलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८औँ वर्षमा प्रवेश गरेको छ । सन् २००४ को मार्च ६ तारिखदेखि कम्पनीले आफ्नो सेवा सुरू गरेको थियो ।

१७ वर्षको अवधिमा कम्पनी नेपालको ठूलो र अग्रणी आईटी कम्पनीका रूपमा स्थापित हुन सफल भएको छ । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गरेको छ ।

एसएमएस बैंकिङबाट आफ्नो सेवा स्थापना गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने ईन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता निकै रूचाइएका प्रविधिहरू निर्माण गरिसकेको छ ।

यस्तै एफवान सफ्टले ईसेवा र फोनपेजस्ता मोबाइलमार्फत हुने भुक्तानीको विकास गरेको छ । तीनजना युवाको परिकल्पनाबाट सुरू भएको एफवान सफ्ट ग्रुपमा अहिले एक हजारभन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्न सफल भएको छ ।

१७औँ वार्षिकाेत्सवका अवसरमा एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भने, ‘एफवान सफ्टले निर्माण गर्ने प्रविधिले आममानिसकाे दैनिकी सहज बनाओस् र त्यसको फाइदा मुलुकलाई पुगोस् भन्ने दृष्टिकोण राखेर हामीले प्रविधि निर्माण गर्छाैं । हामीले डिजिटल नेपाल बनाएर देशको जिडिपीमा पनि ठुलो योगदान दिन सकौँ भन्ने उदेश्य राखेका छौँ । यसका लागि आगामी दिनमा हामी अझ मेहनेतका साथ लाग्नेछौं ।’

एफवान सफ्ट ग्रुप अन्तर्गत हाल एक दर्जन बढी कम्पनी सञ्चालनमा छन् । यसअन्तर्गत ईसेवा, फोनपे, ईसेवा मनि ट्रान्स्फर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका, सिरानटेक जस्ता लिडिङ कम्पनी सञ्चालित छन् ।

यी कम्पनीले वित्तीय क्षेत्रबाहेक स्वास्थ्य, शिक्षा तथा अन्य विभिन्न क्षेत्रलाई डिजिटलाइज गर्ने उद्देश्यले सफ्टवेयर निर्माण गर्ने गर्दछन् ।

नेपालका अधिकांश बैंंक तथा वित्तीय संस्थाले एफवान सफ्टले विकास गरेका प्रविधि प्रयोग गर्दै सेवा दिइरहेका छन् ।

कम्पनीले विकास गरेको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका प्रयोगकर्ता नेपालमा एक करोड १० लाखभन्दा धेरै रहेका छन् । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१