close

देशका सबै स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा पुग्यो निःशुल्क इन्टरनेट

टेकपाना टेकपाना

फागुन १०, २०७८ १३:२५

देशका सबै स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा पुग्यो निःशुल्क इन्टरनेट

काठमाडौं । देशभर रहेका सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा निःशुल्क इन्टरनेट जडानको काम सम्पन्न भएको छ ।

पाँच हजार २३३ माध्यमिक विद्यालय र चार हजार चार हजार १२२ वटा स्वास्थ्य संस्थामा दुई वर्षसम्मका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने योजना सहित यो परियोजना अघि बढाइएको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी यो परियोजना अघि बढाएको छ । सोही कोष अन्तर्गत सञ्चालित परियोजनाहरूको २०७८ माघ मसान्तसम्मको प्रगति विवरण मंगलबारमात्रै सार्वजनिक भएको छ ।

प्रगति विवरण अनुसार विभिन्न चरणमा भएको सम्झौता अनुरूप देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा इन्टरनेट जडानको काम सम्पन्न भएको छ ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत ७०२ स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्नेगरी १८ परियोजना अगाडि बढाएको छ ।

जसअन्तर्गत ७०२ वटा स्थानीय तह, पाँच हजार ९३३ वटा वडा कार्यालय, पाँच हजार २३३ वटा माध्यामिक विद्यालय र चार हजार १८० वटा स्वास्थ्य संस्था गरी कूल १६ हजार ४८ वटा स्थानमा तीव्र गतिको इन्टरनेट सेवा विस्तारको काम अगाडि बढाइएको थियो ।

त्यसमध्ये ९९.५१ प्रतिशत स्थानीय तहमा इन्टरनेट जडानको काम सम्पन्न भइसकेको जनाइएको छ । जसअन्तर्गत ६९७ स्थानीय तह, पाँच हजार ८३३ वटा वडा कार्यालय, पाँच हजार २३३ माध्यमिक विद्यालय र चार हजार १८० स्वास्थ्य संस्था गरी कूल १५ हजार ९४३ स्थानमा इन्टरनेट जडान सम्पन्न भएको हो

योसँगै अब परियोजना अन्तर्गत पाँच स्थानीय तह र १०० वटा वडा कार्यालय गरी कुल १०५ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट जडान गर्न बाँकी छ । यसरी जडान भएका स्थानमा दुई वर्षसम्म निशुल्क रुपमा इन्टरनेट उपलब्ध हुने छ ।

त्यसमध्ये कतिपय स्थानमा दुई वर्ष पुगिसकेको छ भने कति स्थानमा जडानकै क्रम बाँकी रहेको छ । दुई वर्ष पुरा भइसकेको स्थानमा भने सम्बन्धित संस्थाले नै इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी इन्टरनेट जडान गर्न सक्नेछन् ।

प्राधिकरणका अनुसार १८ वटा प्याकेजमध्ये १६ वटा प्याकेजमार्फत ७० जिल्लाका सबै स्थानमा इन्टरनेट सेवा विस्तार सम्पन्न भएको जनाएको छ । त्यस्तै दुईवटा प्याकेजमार्फत चार वटा जिल्लामा ५० प्रतिशत कार्य सम्पन्न गरी सेवा सञ्चालनमा ल्याइएको छ ।

यसका साथै प्राधिकरणले हाल यसअघि उपलब्ध गराउँदै आएको इन्टरनेटको गुणस्तरलाई समेत वृद्धि गर्ने परियोजना अघि बढाएको छ ।

जसमा पहिलो चरण अन्तर्गत भुकम्पबाट अति प्रभावित ८ जिल्ला(काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगा) का वडा कार्यलय, माध्यामिक विद्यालय र स्वास्थ्य संस्थामा २० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउने तयारी गरेको छ ।

जसमा कुल ४ हजार २ सय ५१ संस्थाहरू रहेका छन् । उक्त संस्थाहरूमा २० एमबीपीएसको इन्टरनेट जडानका तथा त्यसको दुई वर्षसम्मको खर्च प्राधिकरणले गर्ने प्रक्रिया अघि बढाइएको हो ।

त्यसमध्ये माघसम्म ७२ गाउँपालिका तथा नगरपालिकासँग सम्झौता भइसकेको उल्लेख छ । सम्झौता अनुसार काम सम्पन्न भएको भएपनि परियोजनाको प्रमाणीकरणको कार्य भने निकै सुस्त देखिएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको प्रगति विवरण अनुसार हालसम्म जम्मा सातवटा परियोजनाको मात्रै अनुगमन गरी प्रमाणीकरणको कार्य सम्पन्न भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२